१० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाइले ४ तथ्य मनन गर्न आग्रह गरेका छन् ।
७१ औं ने.क.पा स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै उनले ४ तथ्य नस्विकार्नेहरु नेकपाको सदस्य हुनै नसक्ने समेत बताएका छन् ।
उनले भनेका छन :
‘आज भन्दा ७० बर्ष अगाडी अप्रिल २२ को दिन कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आजबाट नेपालमा कम्युनिस्ट आन्दोलन संगठित रुपमा ७१औं बर्षमा प्रवेश गरेको छ । नेपालमा कम्युनिस्ट आन्दोलनका अनेकानेक संगठित स्वरूप देखिए पनि यसका मूलत २ धारा देखा परे । आमूल परिवर्तनको धारा र सुधारको धारा । गत दशक सम्म ती धाराहरुले अलग अलग रुपमा आफ्ना नीति कार्यक्रमहरुको बिकासमा जोड दिए पनि नेपालमा संबिधान सभाबाट ऐतिहासिक नयॉ संबिधान जारी भए पछि मूलत एमाले र माओवादीको एकता मार्फत ती धाराहरु नयॉ संश्लेषणमा पुगेका छन । त्यस प्रकारको संश्लेषण बैचारिक रुपले माक्र्सवाद लेनिनवाद, राजनैतिक रुपले जनताको जनवाद, संगठनात्मक रुपले नेपाल कम्युनिस्ट पार्टी र नेतृत्वका रुपमा कमरेड केपी ओली र कमरेड प्रचण्ड सहित हजारौं नेता सम्म आइपुगेको छ । भनिरहनु पर्ने कुरा होइन कि न्यूनतम रुपमा उपरोक्त तथ्यहरु स्विकार नगर्ने मान्छे आजको नेपाली कम्युनिस्ट वा कमसेकम नेकपाको सदस्य हुन सक्दैन ।’
आजको सन्दर्भमा निम्न तथ्यहरु सबैले मनन गर्दा उपयुक्त हुन्छ :
१) नेकपा आजको कुनै जीवित नेताले स्थापना गरेको पार्टी नभइकन हस्तान्तरित नेतृत्व मार्फत अघि बढ्दै आएको हुनाले कोही नेता वा समूह बिशेषले पनि यसलाई आफ्नो इच्छाको साधन वा शक्तिको असीमित हतियार ठान्नु भूल हुनेछ ।
२) पुष्पलाल, तुल्सीलाल, मनमोहन वा निर्मल लामा जस्ता नेताहरु मात्र होइन झापा आन्दोलन वा जनयुद्ध जस्ता शक्तिशाली आन्दोलन समेत आफ्नो समयमा बहस, बिबाद र बिश्लेषणका बिषय बने । कोही पनि व्यक्ति, प्रवृत्ती वा घटना बिश्लेषणबाट मुक्त छैन । कसैले पनि आफू प्रश्न वा बिश्लेषणबाट माथि भन्ने नठाने हुन्छ ।
३) विश्वभर कम्युनिष्टहरुले धक्का खॉदा समेत नेपालमा कम्युनिष्टहरुले जुन सफलता र उचाई हासिल गरेका छन त्यसको श्रेय यहॉको उत्पादन प्रणाली, राज्यको पछौटे विकास पद्दती र कम्युनिस्ट पार्टीको सहि नीति र मेहनती कार्यकर्ताहरुलाई जान्छ । हामी कम्युनिष्टहरु सरकारमा गएर स्विकार गरेको चुनौती भनेको अघिल्ला दुई तथ्यलाई बदल्ने र पछिल्लो तथ्य वा कार्यकर्ताहरुको यथोचित व्यवस्थापन र परिचालन गर्ने कुरासँग प्रत्यक्ष सम्बन्धित छ । यसमा पार्टी र सरकार कति सफल भयो समीक्षा जरुरी भएको छ ।
४) नेपाली कम्युनिस्टले लोकतन्त्रका लागि गरेको योगदान कथित लोकतन्त्रवादीको भन्दा कम छैन, बरु बढी नै छ । आजको संबिधान र व्यवस्थाको फराकिलो राजमार्ग हामी कम्युनिष्टहरुले नै बनाएको हो । तसर्थ, यसको विकास र यसमार्फत राष्ट्रको बिकास र सम्बृद्दीमा कम्युनिस्ट शक्तिलाई नेतृत्व मानेर सहयोग गर्नु सबैको दायित्व हो ।
वि.सं.२०७७ वैशाख १० बुधवार १५:१७ मा प्रकाशित






























