यो शताब्दिकै सबै भन्दा ठूलो कोभिड़– १९ महामारिको कारण अकल्पनीय सङ्कट र प्रतिकूल परिस्थिति देखिएको अवस्थामा पनि सकारात्मक दृष्टिकोणबाट हेर्दा आउने दिनहरुमा विश्वस्तरमा प्रशस्तै अवसर र फाइदाहरु देखिन्छन्।
वातावरण
१) विश्वको जीडीपीमा २०२० मा ३ प्रतिशत प्रतिशत अर्थात् २५८० अरब डलरले ह्रास आउँदा १.२९ अरब मेट्रिक टन कार्बनडाईअक्साइडको उत्सर्जनमा कमी आउँनेछ।
२) आर्थिक मन्दीले विश्वकै वातावरण अझ स्वच्छ हुनेछ साथै क्लाइमेट चेन्जको मुद्दा समाधानको दिशामा अघि बढ्नेछ।
बजेट र बाँडफाट
३) सरकारहरुको बजेटको प्राथमिकतामा व्यापक परिवर्तन हुनेछ र मितव्ययीताको नयाँ मापदण्ड कार्यान्वयन हुनेछ।
४) संकटको घडिमा बजेट घाटाको मापदण्ड र मुद्रास्फीतिको ट्र्यापबाट मुक्त भई आर्थिक प्याकेज मार्फत गरिने खुला बजार माथिको हस्तक्षेपले श्रोतको सामाजिक वितरणमा सुधार आउनेछ ।
५) एकीकृत सूचना प्रणालीको विकास गरेर विपन्न र वेरोजगार परिवारका सदस्यहरुलाई राहत प्रदान गरिनेछ।
उद्योग र ब्यबसाय
६) आधारभूत आवश्यकता र जरूरी बस्तु तथा सेवा प्रदान गर्ने उद्योग ब्यवसायहरु फस्टाउने अवसर बृद्धि हुने छ।
७) कार्यालय, शिक्षा, बैंकिङ्ग, कारोबार, सूचना तथा सञ्चार आदि तीब्र गतिमा डिजिटाइज्ड हुनेछन भने यान्त्रिकीकरण, क्लाउड कम्प्यूटिङ्ग, एआई तीब्र गतिमा व्यबसायिकरण हुनेछ।
८) जीडीपी, राजस्व र रोजगारीमा योगदानको आधारमा उद्योग तथा ब्यबसायहरुलाई आर्थिक सहुलियतरप्याकेज प्रदान गरिनेछ भने धेरै बिनासकारी तथा अबैध उधोग धन्दाहरु आफै बन्द हुन थाल्नेछन्।
रोजगारी, बसाई सराई र अवसर
९) कृषि, ब्यापार, व्यबसाय, उद्योग, सेवा र रोजगारीको क्षेत्रमा ठुलो पलायन र विचलन हुनाले सृजना हुने रिक्त स्थानमा युवा र नयाँ मानिसहरूलाई धेरै अवसरहरु उपलब्ध हुनेछ।
१०) स्थानीय र अन्तरराष्ट्रीय बसाई सराई तथा शहरीकरणमा कमी आई विकासको विकेन्द्रीकरण हुनेछ भने विकसित राष्ट्रहरुबाट सस्तो श्रम उपलब्ध देशहरूमा उद्योगहरुको स्थानान्तरण बढ्नेछ।
११) श्रम बजार सस्तो हुनेछ, सस्तो श्रमिकको माग बढ्नेछ।
१२) समस्या र अभावले चेतना र छैठौँ इन्द्रिय जागेर प्रशस्त मात्रामा अन्वेषण र अनुसन्धानको बिकास र विस्तार हुनेछ ।
चेतना र चिन्तन
१३) भौतिकबादी चिन्तन र भागदौड़बाट फुर्सद मिल्दा परिवारलाई समय, रचना, सृजना, पुनर्जागरण, आत्म चिंतन, आत्म समीक्षा, योग ध्यान, वैराग्य र आध्यात्मिकता बढ्नेछ।
स्वास्थ्य
१४) स्वस्थ्यको क्षेत्रमा उल्लेख्य लगानी बढ्नेछ भने यसको संरचनामा विश्वब्यापी रुपमा व्यापक सुधार हुनेछ।
१५) एक्काइसौं शताब्दीमा नयाँ महामारी या विश्वब्यापि संकटमा अपनाउनु पर्ने कदमहरु तथा नेतृत्वदायीं भूमिकाको स्पष्टता आउनेछ।
१६) सामूहिक प्रतिरोधात्मक क्षमतामा बृद्धि हुनेछ भने खोपको बिकास भई निःशुल्क रुपमा गरीब मुलुकहरूमा वितरण गरिनेछ।
१७) सरसफाई र कोभिड़–१९ को सुरक्षा उपायहरुको निरन्तरताबाट दुर्घटना, अन्य सरुवा रोगहरु, अस्वस्थ व्यबहारबाट हुने समस्या र मृत्युमा उल्लेख्य कमी आउनेछ।
सामाजिक परिवर्तन
१८) नयाँ मानदण्ड सहित सामाजिक सञ्जाल, डिजिटल बैठक र डिजिटल मनोरञ्जनको प्रयोग ब्यापक रुपमा बढ्नेछ।
१९) हाल जीवित पुस्ताको सबैभन्दा ठुलो सङ्कट भएकोले छोटो समयमैं सामाजिक सभ्यता र मूल्य मान्यतामा दीर्घकालीन परिवर्तन देखिनेछ।
२०) सरुवा रोग सर्ने चालचलन किस, ह्यन्डशेक आदिको कमी र नमस्कार, सलाम, हाई गर्ने, हात हल्लाउने र हात धुने चलन बढ़्ने छ।
राजनीति र नेतृत्व
२१) अनेक सिद्धांत र बाद बोकेको पार्टीहरु, नेताहरु र सत्तासिनहरुको नेतृत्व क्षमताको अग्नि परीक्षा हुनेछ।
२२) सामान्य अवस्थामा सहमति र निर्णय गर्न बर्षौँ लाग्ने बिषयहरुमा रातारात निर्णयहरु गरिनेछ भने ति निर्णय क्षमताको आधारमा सरकार र नेताहरुको भविष्य निर्धारण हुनेछ।
२३) राष्ट्रबाद, खुला बजारको हस्तक्षेप र सम्मिश्रणबाद फस्टाउने छन्।
२४) न्यूनतम आधारभूत आय (Universal Basic Income) को अवधारणा विश्वब्यापी हुँदै जानेछ।
बन्य जन्तु र संरक्षण
२५) कोरोना, एचआईभी र सार्सको भाइरसहरुको मुलश्रोत समेत जीव र वन्यजन्तु भएकोले अब वन्यजन्तु र रोगकारक जीवहरुको उपभोगमा प्रतिबन्ध विश्व ब्यापि रुपमा लागु हुनेछ।
यी फाइदा र अवसरहरु बिभिन्न देश र परिस्थिति अनुसार कम बेसी, ढिलो चाँडो, हुने नहुने, सम्भव, असम्भव र अरु अनेक सम्भावना र अवसरहरु लुकेको हुन्छ। अन्तमा फूलको आँखामा फूलै संसार, काँडाको आँखामा ।
(लेखक : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका सिइओ हुनुहुन्छ।)
वि.सं.२०७७ वैशाख ११ बिहीवार ०७:४३ मा प्रकाशित






























