१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकीछन ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डले कोरोना भाईरससँग आफैं पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गरेका छन।
प्रचण्डले राजदूत यान्छीमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
भेटका अवसरमा चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी प्रचण्डलाई गराएकी थिईन।
यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गरेकी छन। नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत हुन ।
वि.सं.२०७७ वैशाख १९ शुक्रवार १७:५८ मा प्रकाशित






























