back
CTIZAN AD

दिनहुँ समाजका सदस्यको मृत्यु हुन थालेपछि महोत्तरीका दुई बस्तीमा शोक र त्रासमा

वि.सं.२०७७ वैशाख २० शनिवार

579 

shares

२० बैशाख, महोत्तरी । आफ्नो बस्तीमा दिनहुँ अज्ञात ब्यथाबाट भटाभट मृतक बढ्दै गएपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको छ ।
एउटै बस्ती देखिने दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिदै गएपछि त्रास र शोकले घर जमाएको हो । गत मङ्गलबारयता शुक्रबारसम्म त्यहाँ आठ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ । मङ्गलबारअघि पनि (पाँच दिन पहिले) एक जनाको मृत्यु भएको थियो ।

वैशाख ११ गते भङ्गाहा–७ मेघनाथगोरहन्नाका ४२ वर्षीय महेन्द्र चौधरीको मृत्यु भयो । बाक्लै रक्सी सेवन गर्ने उनको मृत्युलाई स्वभाविक मानेका स्थानीयवासीले गत मङ्गलबारयता बस्तीका एकपछि अर्को मर्दै गएपछि शोकसँगै त्रासमा परेका हुन् । पछिल्लोपटक शुक्रबार बर्दिवास–१२ का ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सुपीन्द्र मण्डलको मृत्यु भएको हो । सो बस्तीकै ५२ वर्षीय गङ्गाराम सदाको गत बुधबार मृत्यु भएको थियो ।

त्यसैगरी सो बस्तीसँगै जोडिएको भङ्गाहा–७ मेघनाथगोरहन्नामा मङ्गलबारयता पाँच जनाको मृत्यु भइसकेको छ । भङ्गाहा–७ मा मङ्गलबार ५२ वर्षीय नथुनी चमार र ४० वर्षीय मोहन चौधरीको मृत्यु भयो । लगत्तै बुधबार भङ्गाहा–७ कै ५४ वर्षीय लालबाबु सिंह र बिहीबार ५५ वर्षीय सुकदेव (सिताइ) महरा र ४२ वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएपछि दुवै बस्तीमा वैशाख ११ यता हालसम्म मृतकको सङ्ख्या नौ पुगेको हो । बर्दिवास–१२ र भङ्गाहा–७ झट्ट हेर्दा एउटै बस्ती देखिने जोडिएका बस्ती हुन् ।

मृतक सबै रक्सीका अम्मली भएका हुँदा विषाक्त मदिराको सेवनले मृत्यु भएको त्यहाँका स्थानीयवासीको अनुमान छ । ग्रामीण बस्तीमै अवैधरूपमा सञ्चालित भट्टीबाट उत्पादित मदिरा खाने बानी भएको हुँदा त्यसकै कारणले विभिन्न स्वास्थ्य समस्या बढेर नौ जनाकै मृत्यु भएको बर्दिवास–१२ र भङ्गाहा–७ का वडाध्यक्ष क्रमशः रामकिशोर साह र वासुदेवसिंह थारूको ठम्याइ छ ।

“मृतक सबै रक्सीका अम्मली हुन्”, बर्दिवास–१२ का वडाध्यक्ष साहले भने “यिनीहरुको मृत्यु विषाक्त रक्सी सेवनले नै भएको हुनपर्छ, यद्यपि शव परीक्षण रिपोर्ट आएपछि यसको यकिन हुनेछ ।” भङ्गाहा–७ का वडाध्यक्ष थारूले पनि सबैको मृत्यु अनियन्त्रित रक्सी सेवनबाटै भएको बताए । “मृत्युको निहँु जे प्रमाणित भए पनि मृतकमा त्यो कारण भने रक्सीको अत्यधिक सेवनले नै भएको हुनपर्छ”, थारूको भनाइ छ ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेब (सिताइ) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । पछिल्लो समयमा जताततै कोभिड–१९ को सन्त्रास छाएका बेला बस्तीमा भटाभट मर्नेको सङ्ख्या बढ्दै गएपछि यसबारे यकिन हुनुपर्ने स्थानीयवासी बताउँछन् । “मृतक सबै पहिलेदेखि नै मदिराका अम्मली त हुन्, तर अहिले संसारभरि नै कोरोना सन्त्रास छाएको हुँदा यहाँका सर्वसाधारणमा शोकसँगै त्रास छाएको छ”, भङ्गाहा–७ का राजनीतिक, सामाजिक अगुवा चन्द्रनारायण सिंहले भने, “राज्यले यसबारे आश्वस्त बनाउनुपर्छ ।”

यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसीआर जाँच र शव परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।”

शुक्रबारै ती बस्तीमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्सती बुझ्दा मदिरा सेवन र मलेरिया मृत्युको कारण हुनसक्ने बुझिए पनि यसको यकिन जाँच हुनुपर्ने बताएका छन् । आपूmले यस प्रयोजनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश नं २ सरकारको ध्यानाकर्षण गराएको सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिए ।

मृतक सबै गरिब परिवारका छन् । मृत्युको कारण जे भए पनि परिवारजनको पीडा हेरेर भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नो नगर क्षेत्रका मृतकको काजकिरीयावापत रु २१÷२१ हजार उपलब्ध गराइने जानकारी दिनुभयो । मेघनाथ गोरहन्नामा एक साता पहिले मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाइने कच्चा पदार्थ र चार भट्टी नष्ट गरेको थियो । रासस

वि.सं.२०७७ वैशाख २० शनिवार १८:३३ मा प्रकाशित

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...