२२ वैशाख, काठमाडौँ । राजनीति र चर्चा शब्द असाध्यै जोडिने गरेका छन् । राजनीतिमा चर्चा र चामत्कारीकता निकै हुने गर्दछन । एकाएक, अचानक र आकाशवाणी भयो भन्दै विषवस्तुहरु देखा पर्ने गर्दछन् । प्रधान न्यायाधिस रहेका खिलाराज रेग्मी कार्यकारी अधिकार प्रयोग गर्ने हैसियतमा आइपुग्दा त्यत्तिबेला एउटा शब्द आएको थियो, आकाशवाणी । कसैले आकाशवाणीमा भन्यो ‘कुनै हालतमा खिलराज राम्रो हुन्छ ।’ चर्चामा आउने स्वभावै नदेखाएका र कार्यकारी बन्ने महत्वकांक्षा समेत व्यक्त नगरेका खिलराजलाई त्यस्तो स्थिति आइप¥यो की उनी अब त्यो पद नलिइ उम्कनैे नपाउने भए । तर यहाँ टिप्पणी गर्न खोजिएको चर्चा भने फरक हो ।
अहिले बढी चर्चामा आएका ‘३ बा’ हरु छोराछोरीको बा बनेका कारण चाहिँ होइन । प्रधानमन्तरी नभै नहुने घिट्कीसो राखेका बामदेव गौतम, ‘फस म्यान’ अर्थात् अध्यक्ष नभै नहुने रहरले प्रचण्ड छाडेर महन्थ–उपेन्द्रको पछि पछि पुगेका डाक्टर बाबुराम भट्टराई र पार्टी एकताको विशिष्टताका कारण भन्दै प्रधानमन्त्री ओलिलाई थमाउने मुख्य पात्र भनिएका बादल उर्फ गृहमन्त्री रामबहादुर थापा यतिबेला निकै
चर्चामा छन् ।
बामदेवको बुनियाद
२०४६ पछि तत्कालिन मालेको युवा मोर्चा सम्हालेका केपी शर्मा ओली र आजिवन किसान नेता भएका बामदेव गौतम बिचको सम्बन्ध निकै पुरानो हो । महाकाली सन्धिमा आइपुग्दा बर्षेनी १ खर्ब २० अरबको फाइदाले नेपालको समृद्धि हुन्छ भनेर उतिबेलै देखि रेल हुइँक्याइदिएका केपी ओलीसँग बामदेवले सैद्धान्तिक भन्दा पनि राष्ट्रवादी मत बझाए । उनले महाकाली सन्धीको विरोध मात्र गरेनन् त्यसैका कारण नेकपा माले समेत बनाए । ‘देशभक्तिपूर्ण कम्युनिष्ट आन्दोलन’ भन्दै नयाँ ढङ्गले सिद्धान्त बनाउन पनि खोजे । साहना, सीपी र आरके जस्ता हस्तिहरुलाई साथमा लिएर मुख्य जनवर्गीय संगठनका नेता समेत हातमा लिए । जनयुद्ध र त्यसका नेताप्रति नरम नीति बनाए । यति हुँदा पनि उनको जनमत ‘टिठ लाग्दो’ देखाप¥यो । ‘फुट्नेलाई देखाइदिउँ’ भनी कार्याकर्ता र जनताले उनलाई पत्याएनन् । प्रदिप नेपालको मूल्यांकनमा १ नम्बर भ्रष्टाचारीको खुलामञ्च घोषणा भोगेका बामदेव आत्मालोचनासहित अन्तत एमालेमै फर्किए ।
फर्केपनि एमालेले भाउ र ठाउँ खासै नदिएपछि उनले माओवादीसँगको शान्तिवार्तामा जोड दिए । उनी कहिले रुकुम रोल्पा पुगे कहिले सिलगुढी– दिल्ली पुगे । माओवादीलाई मुलधारमा ल्याउन राजादेखी रंकसम्म हारगुहार पनि गरे । उनका बोली र गतिविधिका कारण एमालेभित्रै उनी ‘माओवादी परस्त’ कहलिए पनि । प्रचण्डसँग निकट सम्बन्ध रहेको मानिने बामदेवले प्रचण्डको न्यानो माया पाएपनि ‘प्रधानमन्त्री नै बन्ने’ भरपर्दो अभ्यास पाएका थिएनन् । आफ्नै अगाडि माधव नेपाल, झलनाथ खनाल तथा केपी ओली र प्रचण्ड दोहो¥याएर प्रधानमन्त्री बन्दा उनलाई औडाहा नहुने कुरै थिएन । २०७४ मा आइपुग्दा ‘आफ्नो आधा मत अरुलाई गएको र अन्तरघात भएको’ भन्दै बर्दियाको चुनावमा हराइएको आरोप उनले ओली पक्षलाई नै लगाएका थिए ।
उनका निम्ति प्रचण्डले बोलीको गुन लगाउँदै आएपनि व्यवहारमा ओलीले जति पनि विश्वास दिलाउन नसकेको र माधव नेपालले आफूलाई हृदयदेखि स्विकार नगरेको ठम्याइका साथ उनले आफै खडा गरेको पछिल्लो ‘भैंसेपाटी’ गठबन्धनमा आगो लगाए । उनले आगो झोसेर प्रायश्चित गर्दै हिडे पनि आगो निभिहाल्ने स्थिति भने बनिसकेको छैन । उनका निम्ति संविधान संसोधन गर्ने, आवश्यक परे अध्यादेशबाट पनि व्यवस्थापन गर्ने भनि बनेको भैसेपार्टी गठजोडमा उनी बाहेकको सम्बन्ध टुटिसकेको छैन । ‘कुरो मात्रै मान्नुस, जे पनि जुराइदिन्छु’ भन्न सक्ने नेतृत्वपंक्तिहरु मध्ये बामदेवले ओलीलाई रोज्नु स्वभाविक नै बन्यो । प्रचण्ड–माधवमा पनि शंसकित बनाउन खेलिरहने र प्रचण्ड –ओलीलाई लडाएरै किन नहोस जसरी पनि प्रधानमन्त्री बन्ने चाहना बामदेव गौतमले राखेपनि आफ्नो ज्यान अनुसारको तन्दुरुस्ती नदेखाएको विश्लेषण गरिँदैछ । बामदेवलाई अल्मलाइरहने र उपयुक्र्त समयमा ‘हत्तेरी’ भन्ने स्थिति नआउला भन्न सकिँदैन तर सिंहदरबारमा फोटो टाँस्नका लागी दाम्लो नै चुँडालेर अरुलाइ आतंकित पारेका बामदेव कसैगरी पुगेछन् भने पनि फेरि ओभर चर्चा हुने निश्चितै छ । बुनियादी त उहि हो नी सबैको ।
बाबुरामको ब्रम्ह !
बाबुराम भट्टराई घाउ काटने डाउटर नभएर पिएचडिधारी डाक्टर हुन् । उनले प्राथमिक शिक्षा देखि एसएलसी सम्म टप गरेको कारण उनलाई मेघावी विद्यार्थी पनि भनिएको थियो । सरकारी छात्रवृत्तिमा भारत पढ्न गएर नेपाली समाजको रुपान्तरणको मन्तर सिकेका बाबुराम भट्टराई पनि प्राय चर्चा बाहिर छैनन् । अर्थमन्त्री भएपछि प्रधानमन्त्रीको दुई तीन महिनासम्म उनी नेपाली जनमतको ग्राफमा निकै माथि थिए । मानिसहरु भन्थे ‘प्रचण्डदेखि माधव– ओली, झलनाथ, शुशिल, देउवा र रामचन्द्रलाई एउटा तुलामा राख्दा बाबुरामको तौल जनमतमा एक्लै बढी छ ।’ उनी हाइहाइ थिए । उनले चर्चामा आउन हिसीलासँग बिहे गरेको र मानुषि जन्माएको पनि होइन ।
यो बाहेक उनको यात्रा पनि निकै चर्चामुखी छ । विद्यार्थीकालिन अवस्था हुँदै नेकपा मसालबाट उनी संयक्त राष्ट्रिय जनआन्दोलनको प्रवक्ता बन्दासम्मको एउटा चर्चा, तत्कालिन नेकपा एकता केन्द्रको नेता देखि संयुक्त जनमोर्चा नेपालको अध्यक्ष हुँदासम्मको अर्को चर्चा, नेकपा माओवादीको पुनगर्ठनसँगै जनयुद्धमा नेतृत्व गर्दाको चर्चा, माओवादी भित्रको अन्तरसंघर्षसँगै ‘पुर्नका लागि खाल्डो समेत खनिएको’ चर्चा, प्रचण्डलाई राजावादी आरोप आउँदा बाबुरामलाई भारतपरस्त आरोप आउँदाको चर्चा, आफू लगायत प्रचण्ड र मुख्य नेताहरु प्रधानमन्त्री लगायत राजकिय पदमा नपुग्ने भनेर बोलेको (कान्तिपुरमा) चर्चा, कर उठाएर ढुकुटी बलियो बनाउन खोजेको चर्चा, सडक बिस्तारमा उनले पाएको चर्चा र मुस्ताङ म्याक्स चढ्ने जस्ता विषयमा उनले पाएको चर्चा महत्वपूर्ण नै हुन् । माओवादीपछि एमाओवादी बनाउन, त्यसपछि नयाँशक्ति हुँदै संघीय समाजवादी र जनता समाजवादी सम्मको उनको पछिल्लो यात्रासम्म उनी चर्चामै छन् । ब्रम्हले स्वीकारेपछि उनको यात्रा हुइँकिएकै छ ।
बादलको वर्षा
रामबहादुर थापालाई सबैले बादल नै भनेर चिन्छन् । उनी कहिले प्रेम दाइ र कहिले आकाश पनि बने । तर यतिबेला उनी बादलबाटै चर्चित छन । ्उनी पनि सुरुमा त मेघावी छात्र नै हुँदा हुन् । रुसको छात्रवृत्ति छाडेर रामपुरमा आई तत्कालीन चौंथो महाधिवेशनको क्रान्तिकारी भंगालोमा उनी झुम्मिन थालेपछि नै उनले पनि चर्चाको यात्रा गरेका हुन् । जनसेना बिनाको पार्टी कम्युनिष्ट पार्टी नै नबन्ने कुरालाई बढी जोड दिँदै नेपाली धर्तीमा सैन्य विज्ञानको मौलिक स्वरुप तयार गरेर पनि उनी चर्चामा आएका हुन् । कोही बोलेर बकबकाएर चर्चामा आउँछन्, कोही नबोली चर्चामा आइरहन्छन् । गुल्मीको लाहुरे परिवारका यी मगर अनुहार र जीउडालका कारण चर्चामा आएका भने होइनन् । न त उनी अराजकतामा बगेर नै चर्चामा आएका हुन् ।
जनयुद्धलाई निश्चित उचाईमा पु¥याउने र त्यसको सहि प्रतिफल दिने काममा प्रचण्ड चुकेको आरोप लगाउँदा सम्म यिनी बढि चर्चामा थिएनन् । जब उनले प्रचण्डलाई ‘लाल गद्धार’ घोषणा नै गरे, एमाले गुटको प्रतिक्रियावादमा पतन र एमाओवादीको प्रतिक्रियावादउन्मुख यात्राको ऐलान गरे तब उनी बढि चर्चामा आए । वैद्यसँग रहेर भन्दा प्रचण्डसँगै हिंडेर क्रान्ति हुने भन्दै फेरी फर्किँदा पनि उनी चर्चामै आए । रक्षा सम्हालेका बेलाको कटुवाल काण्ड सम्झेका बादल गृह सम्हाल्दा सर्तक भएरै चर्चा बटुले । भैंसेपाटीमा सामेल नभएर पनि यिनि चर्चामा आए । अन्ततः पार्टी एकताको विशिष्टतामा ‘ओलि नै प्रधानमन्त्री रहनुपर्ने’ मत दिएर फेरि चर्चामा आए । उनले कार्यकर्तालाई मात्र होइन, नेतृत्वलाई पनि असाध्यै प्रेम गर्छन् भन्ने सन्देश दिएका छन् । सचिवालयको पछिल्लो बैठकपछि उनले बादल उघारेर वर्षा शुरु गराइदिएका छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १५:०९ मा प्रकाशित






























