मार्क्सबादी सिद्धान्तमा बिकाश भएको अर्को सिद्धान्त अतिरिक्त मुल्यको सिद्धान्त आजको सन्दर्भमा झन सामयिक र सान्दर्भिक बन्दै गएको छ। आज बिश्वमा हुने र नहुनेका बिचको जुन खाडल बढदै गएको छ, सम्पत्तिको सिमित ब्यक्तिहरुमा अत्यधिक केन्द्रीकरण भईरहेको छ। यो सबै पुंजीपतिद्वारा गरिने श्रमिकहरुको अतिरिक्तमुल्यको शोषणबाट नै भएको छ।
(मे ५, कार्ल मार्क्सको २०२ औँ जन्मजयन्तीको सन्दर्भमा) : यतिखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मार्क्सवाद र लेनिनबादका मार्गदर्शक सिद्धान्तलाई ब्यवहारिक प्रयोगका सिलसिलामा चुनौतीहरु खडा भएका छन।
खासगरी मार्क्सबादी लेनिनबादी सिद्धान्तबाट निर्देशीत भएर पार्टी निर्माण र संचालनको सवालमा, सामुहिक र संस्थागत तवरले निर्णय गर्ने प्रक्रियाको सवालमा, वर्गसंघर्षलाई संचालन गरेर मार्क्सबादको सच्चाईलाई स्थापित गर्ने सवालमा र सरकार मार्फत समाजबाद उन्मुख कार्यक्रम लागू गरेर समाजबादी क्रान्ति लाई सहज बनाउने सन्दर्भमा जुन समस्या उत्पन्न भएका छन। तमाम नेकपावालाहरुले मार्क्सबादी कोणबाट उत्पन्न समस्या लाई कसरी बुझ्ने ? कसरी समाधान गर्ने भन्ने कोणबाट मार्क्सको २०२ ओैै जन्म जयन्तीको सन्दर्भमा मार्क्सका बिचारहरुको आलोकमा प्रस्तुत लेख तयार गरिएको छ।
अहिले नेकपा भित्र भई रहेको बहश र बिबादको मुख्य बिषय भनेको कार्यशैलीको समस्या हो। पार्टीलाई सिद्धान्त, नीति र बिधिबाट संचालन गर्ने र पार्टीले सरकारलाई उपयुुक्त नीति र संयन्त्रका साथ संचालन गर्न नसक्दा उत्पन्न भएका समस्या हुन।
कार्ल मार्क्स सहस्राब्दी पुरुष स् बिश्वभर मे ५ का दिन मार्क्स जयन्ती मनाउने गरिन्छ। बैज्ञानिक समाजबादका गुरु कार्ल मार्क्सको जन्म ५ मे, सन् १८१८ मा प्रसिया जर्मनको ट्रियरनगरमा भएको थियो र मृत्यु १४ मार्च १८८३ मा भएको थियोे । मार्क्सको मृत्यु भएको १३७ बर्ष व्यतीत भएको छ,तर आज पनि मार्क्स बिश्वका करोडौ करोड मानिसको मानसपटलमा नाँचीरहेका छन । यसरी मानिसहरुको मानसपटलमा नाँचीरहनुको मुख्य कारण भनेको नै बिश्वका सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि मार्क्सले पुर्याएको योगदान नै महत्त्वपूर्ण रुपमा रहन गएकोछ। बिश्व बिख्यात ब्यक्तिहरु मध्ये मार्क्स सन् १००० देखि सन् २००० सम्मका बिचमा जन्मीएका मध्ये सर्बश्रेष्ठ ब्यक्ति रहेको कुरा सन् २००१मा ब्रिटिस बोर्डकास्टीङ कर्पोरेसनले गरेको सर्भेक्षणमा उल्लेख गर्दै प्रतिबेदन सार्वजनिक गर्यो र यश पछि कार्लमार्क्सलाई सहस्राब्दी पुरुष र सर्वश्रेष्ठ दर्शनशास्त्री भनिन थालिएको हो।
कार्ल मार्क्स र उहाँका अनन्य मित्रएंगेल्सले द्वन्दात्मक ऐतिहासिक भौतिकवाद,वर्ग संघर्ष र , राजनीतिक अर्थशास्त्रको रुपमा पुंजीको रचना तथा कम्युनिस्ट पार्टीको घोषणापत्र नै मार्क्सबादको बिकाश गर्न महत्वपूर्ण आधार बन्यो ।
मार्क्सवादको सिद्धान्त पुंजीबादले सर्बहारा श्रमजीवी वर्ग माथि गरेको बर्बर शोषण र अत्याचारको पृष्ठभूमिमा संचालन भएका संघर्ष र आन्दोलनको क्रममा निर्माण भएको सिद्धान्त हो। पुंजीबादका बिरुद्ध सर्बहारा श्रमजीवी वर्गले संचालन गरेका संघर्ष आन्दोलनमा देखापरेका उग्रवामपन्थी भडकाव र सुधारबादी दक्षिणपन्थी भडकाबका बिरुद्ध संघर्ष गर्न प्रेरित गर्ने उदेश्यका साथ कार्लमार्क्स र एंगेल्सले प्रतिपादन गरेको सिद्धान्त नै मार्क्सबादी सिद्धान्त र दर्शनको रुपमा बिकाश भएको हो।

मार्क्सका योगदानहरु :
मार्क्सले द्वन्द्वात्मक भौतिकबादको दर्शन मार्फत बिश्वदृष्टिकोणको मान्यतालाई बिकाश गरेकाछन। हरेक चिज,बस्तु र घटनाकम सबल र दुर्बल पक्ष,जीवनशील वा उर्जाशील र पतनशील पक्ष, नवीन र पुरातन पक्ष हुन्छन। मार्क्सबादीहरुले नकारात्मक पक्षलाई त्याज्य गर्ने र सकारात्मक पक्षलाई ग्रहण गरीी जीवन पद्धतिमा प्रयोग गर्ने (एप्लाई गर्ने) मान्यता राख्नु पर्दछ भन्ने द्वन्द्वात्मक भौतिकबादको बिश्व दृष्टिकोणले मान्यता अगाडि सारेको छ। यश सन्दर्भमा मार्क्सबादको बिकाशमा यो दृष्टिकोणले असाध्यै ठुलो स्थान पाएको छ।
यस्तै मार्क्सबादले संसारलाई बदल्न सकिन्छ भन्ने मान्यतालाई अंगालेको छ। समाजको बिकास क्रम जसरी दास समाज,सामन्तवाद हुदै पुंजीबाद सम्म आईपुगेको छ,अब पुंजीपती वर्गले राज गरेको राज्यलाई भत्काएर समाजबादसम्म पुग्न मानिसको चेतना, दृष्टिकोण र संगठनका माध्यमबाट विद्रोह गर्दै अगाडि बढन संभव हुन्छ भन्ने मार्क्सबादले दिशाबोद गरेको छ।
मार्क्सबादी सिद्धान्तमा बिकाश भएको अर्को सिद्धान्त अतिरिक्त मुल्यको सिद्धान्त आजको सन्दर्भमा झन सामयिक र सान्दर्भिक बन्दै गएको छ। आज बिश्वमा हुने र नहुनेका बिचको जुन खाडल बढदै गएको छ, सम्पत्तिको सिमित ब्यक्तिहरुमा अत्यधिक केन्द्रीकरण भईरहेको छ। यो सबै पुंजीपतिद्वारा गरिने श्रमिकहरुको अतिरिक्तमुल्यको शोषणबाट नै भएको छ। अतिरिक्त मुल्यको सिद्दान्तले श्रमिक वर्गले आफुले उत्पादन गरेको बस्तुमा श्रम गरेवापतको उचित मूल्य प्राप्त गर्न संघर्ष गर्नु पर्दछ भन्ने दृष्टिकोण राखेको छ।
मार्क्सबादले लोकतन्त्र र राजनैतिक स्वतन्त्रता संग संगै आर्थिक सामाजिक स्वतन्त्रताको दृष्टिकोणलाई अंगिकार गरेको छ। मार्क्सबादले राजनीतिक क्रान्ति गरेरमात्रै क्रान्तिले पुर्णता प्राप्त गर्दैन, आर्थिक सामाजिक समानता,सामाजिक न्यायका लागि समाजबादी क्रान्ति गरेर मात्रै समाजबादी ब्यबस्थामा लोकतन्त्र, राजनीतिक स्वतन्त्रता फस्टाएर जान्छ भन्ने मान्यतालाई मार्क्सबादले अंगीकार गरेकोछ।
मार्क्सबादले ज्ञानको सिद्धान्त र ब्यबहारवादी मान्यताको सिद्धान्तलाई आत्मसात गरेको छ। मानिसबाट मानिसले सिक्ने, मानिसको अवस्था विश्लेषण गर्ने, मानिसहरुको शोषणको कारण पत्तालगाउने, मानवजातीले आर्जन गरेका मूल्य, मान्यता र संस्कृतिको बैज्ञानिक आलोकमा संरक्षण र सम्बर्द्धन गरेर लैजाने ऐतिहासिक भौतिकबादी ज्ञानको सिद्धान्तलाई अंगिकार गरेको छ। समाज गतिशील छ,गतिशीलता र मानिसको चेतनाको बिकाश संगै मानिसका चाहना र आबश्यकतालाई सम्बोधन गर्दै अगाडि बढदा मात्रै समाजबाद हुदै समाज साम्यवादी समाजको बिकसित अबस्थामा पुग्ने भन्ने उल्लेख गरिएको छ। यस्तै महिला वर्गको मुक्तिको उद्घोष,सम्पत्ति माथि महिलाको अधिकार, मतदानको अधिकार र महिलालाई नेतृत्वमा स्थापित गर्नु पर्ने, युवा, श्रमिक र किसानका अधिकारलाई सुनिश्चित गर्न कम्युनिस्ट घोषणापत्र मार्फत मार्क्सले दृष्टिकोणलाई अगाडि सारेका छन।
पुंजीबादको संकटसंगै मार्क्सबादको सान्दर्भिकता:
मार्क्सबादी बिचारबाट प्रभावित भएर नै आज बिश्वब्यापी रुपमा सर्बहाराश्रमजीवी वर्गले पुंजीबादको शोषणका बिरुद्द संघर्षरत छन। बिश्वमा आधाबढी जनसंख्यामा मार्क्सबादको चेतना र लहर फैलिएको छ। नवउदारबादले श्रृजना गरेको बिश्वब्यापी आर्थिक संकट, बढदै गएको गरिबी र बेरोजगारी, आय असमानताको कारण पुंजीबाद भएको र यसको बिकल्प समाजबाद हो भन्दै बिश्वका लाखौं करोेडौ मानिसहरु मार्क्स एंगेल्सबाट लिखित पुंजीका किताबहरु खोजी खोजी पढ्न थालेका छन। मार्क्सबाट लिखित पुस्तक र विभिन्न रचनाहरु अनुवाद गरि विभिन्न भाषामा प्रकाशित भईरहेका छन। मानिसहरुमा बढदै गएको चेतना संगै मार्क्सबादको सान्दर्भिकता झन बढदै गएको छ।
सत्तामा गए पछि पैसावालहरुको प्रभावमा पर्ने र उनीहरूकै हित अनुकुल हिजो बनेका कानुन निर्माण नगर्ने र यथास्थितिमा नै निर्णय गर्ने काम गर्दा यसले सरकारमा गएर पनि मार्क्सबादी पहिचान राख्न सक्तैन ।
नेकपाका सामु अभिभारा :
नेपालमा ७ दशक लामो मार्क्सबादको प्रचारप्रसार, र संघर्ष आन्दोलन कै आलोकमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले जनताबाट दुईतिहाईको जनमतका साथ निर्बाचित सरकार गठन गरि सरकार संचालन गर्ने जनादेश प्राप्त गरेकोछ । बिश्वका कम्युनिस्ट पार्टीहरु मध्येमा नै जनताबाट सबै भन्दा बढी नेकपाले नै हासिल गरेको यो जनबिश्वास उल्लेखनीय छ।
यतिखेर नेकपाका सामु मार्क्सबादी बिचारको आलोकमा पार्टीलाई क्रान्तिकारीकरण गर्दै बिचार,संगठन र कार्यशैलीमा रुपान्तरित भएर सांच्चिकै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु पर्ने अभिभारा आएको छ। यस्तै जनताले बिश्वास जाहेर गरे अनुरुप पार्टीले सरकारलाई जनमुखी कार्यक्रमका साथ संचालन गर्नुु पर्ने अभिभारा आएको छ। पार्टीले मार्क्सबादी लेनिनबादी सिद्धान्तलाई मार्ग दर्शक सिद्धान्तको रुपमा अंगिकार गर्ने दस्तावेजमा उल्लेख गरेको कुरा पार्टी भित्र ब्यबहारमा नै स्थापीत गरेर नै सांचो अर्थमा पार्टी क्रान्तिकारी पार्टी बन्ने हो।
नेकपा भित्रको बिबाद र बहस :
अहिले नेकपा भित्र भई रहेको बहश र बिबादको मुख्य बिषय भनेको कार्यशैलीको समस्या हो। पार्टीलाई सिद्धान्त, नीति र बिधिबाट संचालन गर्ने र पार्टीले सरकारलाई उपयुुक्त नीति र संयन्त्रका साथ संचालन गर्न नसक्दा उत्पन्न भएका समस्या हुन। गत माघमा ५ दिन सम्म बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नीति, विधि र बिधान सम्मत संचालन गर्न र तिनवटै तहका सरकारलाई प्रभाबकारी ढंगले संचालन गर्न निर्देश गरेको थियो । तर त्यस अनुरुप पार्टी संचालन हुन नसकिरहेको र अध्यादेश प्रकरणबाट त पार्टीमा संस्थागत ढंगले छलफल नगरिएको र पार्टीको निर्णय नभईकन नै राजनीतिक स्थीरता, र लोकतन्त्रमा नै आंच पुग्ने र अध्यादेश जारी गरिएका कारण पार्टीहरु बिभाजित भई हङ्ग पार्लियामेन्ट हुन सक्ने खालको स्थिति उत्पन्न हुन थाले पछि पार्टी भित्र र बाहिरबाट अध्यादेशको बिरोध भए पछि सरकारले अध्यादेश खारेज गर्नु पर्यो।
लोकतन्त्र र लोकतान्त्रिक परिपाटी मार्क्सबादको प्राणहोस् :
मार्क्सबादले लोकतन्त्र र राजनीतिक स्वतन्त्रतालाई सिद्धान्तको रुपमा अंगिकार गरिरहेको सन्दर्भमा मार्क्सबादी बिचारलाई अंगालीरहेको पार्टी भित्र तथा सरकार संचालनमा पार्टीका नेता तथा कार्यकर्ताको ब्यबहारमा लोकतान्त्रिक आचरण र जिबन शैलीमा सर्बहाराबादी दृष्टिकोण र शैली छ छैनरु यसले नै पार्टी भित्र सांचो अर्थमा मार्क्सबादी र लेनिनबादी कार्यशैली र जीवनशैली अवलम्बन भईरहेको वा नभईरहेको मापन गर्न सकिन्छ ।
कम्युनिस्ट पार्टी ब्यक्तिबादी होइन लोकतान्त्रिक परिपाटीबाट संचालन गर्न जरुरी :
कम्युनिस्ट पार्टीमा कोही पनि ब्यक्तिलाई बिषेशाधिकार हुदैन । पार्टीमा निर्णय गर्ने परिपाटी ब्यक्तिगत छ कि सामुहिक ढंगले छलफल गरेर हुन्छ कि एक वा दुई जनाबाट ? , नेतृत्व छनौटको बिधि योग्यता क्षमता र प्रतिस्पर्धात्मकका आधारमा कि अमुक नेतृत्वको समुहमा लागेको आधारमा, नेता तथा कार्यकर्ताको योगदानको मुल्यांकनको विधि के हुन्छ ?, कार्यकर्तालाई राजकीय निकायको जिम्मेवारीमा पठाउदा नेतृत्वले चाहे जसरी भागबन्डाका आधारमा कि मुल्यांकनको बैज्ञानिक बिधि पद्धतिले निर्णय हुन्छ ? बिधान अनुसार एक व्यक्ति एक मुख्य पद माथि देखि तल सम्म लागू गर्ने आदि प्रश्नले पार्टीलाई मार्क्सबादीकरण र क्रान्तिकारीकरण गर्न दिशाबोध गरिरहेको हुन्छ।
दलाल पुंजीबादको घेराउ तोडनु बाम सरकारको प्राथमिक बिषय:
पार्टी सरकारमा गए पछि दलालपुंजीबाद र नवउदारबादको जालोलाई च्यातेर श्रमजीवी बर्गका पक्षमा अवलम्बन गरेका नीति तथा कार्यक्रम र त्यसबाट श्रमजीवी वर्गको उत्थान हुदै गएको बिषयले सरकारको सक्षमता देखिन्छ । सत्तामा गए पछि पैसावालहरुको प्रभावमा पर्ने र उनीहरूकै हित अनुकुल हिजो बनेका कानुन निर्माण नगर्ने र यथास्थितिमा नै निर्णय गर्ने काम गर्दा यसले सरकारमा गएर पनि मार्क्सबादी पहिचान राख्न सक्तैन ।
राज्यसत्तामा श्रमजीवी वर्गको प्रतिनिधित्व र अधिनायकत्व हुने निर्वाचन प्रणाली :
सत्तामा सर्बहारा श्रमजीवी बर्गको प्रतिनिधित्व नभई गरिब, किसान र मजदुरको पक्षमा सहि नीति नियम र कानुन बनाउन सकिदैन । बर्तमान महँगो खालको निर्वाचन पद्धतिले सर्बहारा श्रमजीवी बर्गले चुनाव नै लडन नसक्ने पद्धतिको बिकास भएको छ। अझ जोसँगग पैसा छ,उसैले टिकट प्राप्त गर्ने जुन स्थिति हुदैछ र ढिलो चांडो राज्यसत्तामा पैसावालहरुको प्रतिनिधित्व र नेतृत्व हुने स्थितिको बिकाश भएको छ।
समाजबादी नीति, कार्यक्रम लागू गर्नु नेकपाको सरकारको अभिभारा :
जनताकोे अपार बिश्वास पाएर अहिले नेकपाले सरकारको नेतृत्व गर्ने जुन अवसर पाएको छ। सरकारलाई मार्क्सबादी सोंच, दृष्टिकोणको आलोकमा आर्थिक सामाजिक रुपान्तरण गर्ने नीति तथा कार्यक्रमका साथ संचालन गर्नु, पुंजीबादीहरुको हित स्वार्थ अनुकुल बनेका हिजोका कानुन सुधार गर्नु, प्राकृतिक श्रोत साधन, जलश्रोत, खानी तथा खनिज, शिक्षा, स्वास्थ्य सेवा र उत्पादन, बितरण, आपूर्तिका क्षेत्रमा सार्वजनिक स्वामित्व कायम गर्दै समाजबादको आधार निर्माण तर्फ नीति कार्यक्रम बनाएर कार्यान्वयन गर्नु अहिलेको अभिभारा हो ।
नेकपालाई बिचार, कार्यशैली र जीवनशैलीमा रुपान्तरण गर्न जरुरी :
यसका लागि पार्टीलाई नै बिचार, कार्यशैली, जिवनशैली, नेतृत्व र संगठन परिचालनका क्षेत्रमा मार्क्सबादी- लेनिनबादी पद्धतिबाट संचालन गर्ने र तदनुरुप सरकारलाई निर्देशित गर्न सक्दा मात्रै नेपालमा समाजबादी क्रान्ति गरेर समाजबाद निर्माण गर्न सम्भब हुन्छ । र अनि मात्रै साँचो अर्थमा कार्ल मार्क्सप्रति सच्चा सम्मान हुनेछ र यसले झन मार्क्सबादको सार्थकता बढेर जाने बिश्वास लिन सकिन्छ ।
(लेखक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुन् )
वि.सं.२०७७ वैशाख २३ मंगलवार १२:१८ मा प्रकाशित






























