घटना हो, भारतको लखनऊको । राजधानी लखनऊको एउटा अस्पतालमा वार्ड व्यायका रूपमा कार्यरत एक व्यक्तिले आफ्नो ३ वर्षीय छोरालाई अन्तिममा अँगालेर काखमा लिन पाएनन् । कारण थियो, कोरोना ।
कोरोना भाइरसको संक्रमण फैलने डरले अन्तिम पटक मृत छोरालाई अँगाल्न पाएनन् । यो हृदय विदारक घटना लोकबन्धु अस्पतालमा कार्यरत मनीष कुमारको हो ।
मनिष कुमार लोकबन्धु अस्पतालमा बनेको स्तर – २ कोरोना अस्पतालमा कार्यरत कर्मचारी हुन् । शनिबार राति जब मनिष बिरामीको हेरविचार गर्दै थिए, उनलाई घरबाट फोन आउँछ र उनका तीन वर्षीय छोरा हर्षितलाई सास फेर्न गाह्रो भएको र पेट दुख्ने समस्या भएको बताइन्छ । जब घरबाट फोन आउँछ, उनको मनमा बेचैन बढ्छ, तर उनी तुरुन्तै अस्पताल छोडेर घर जान सक्दैनथे । परिवारका सदस्यहरूले छोरालाई किंग जर्ज मेडिकल युनिभर्सिटीमा लान्छन् । परिवारले उनलाई सान्त्वना दिन व्हाट्सएपमा छोराको राम्रा राम्रा फोटोहरु पठाइरहे । तर रातको करिब दुई बजे छोराले सदाका लागि संसार छोड्छन् ।
छोराको बारेमा यो बताउँदा गर्दा मनीष रुँदै चिच्याउने गर्दथे । उनले भने, ‘म मेरो छोरालाई भेट्न जान चाहन्थेँ, तर मैले मेरा सहकर्मीहरूलाई भनिन किनकि म आफ्नो बिरामीहरुलाई त्यस्तो अवस्थामा छोड्न चाहन्थेँ । तर घरबाट बारम्बार कल आइरहेको र मेरो अवस्था देखेर, मेरा सहकर्मीहरूले मलाई घर जान र अन्तिम पटक छोरोलाई भेट्न सल्लाह दिए ।’
मनीष, आफ्नो डियुटी सकिएपछि सबै आवश्यक सावधानीहरूका साथ छोरालाई भर्ना गरिएको केजीएमयू अस्पताल पुगे, जहाँ उनको अबोध बच्चाको शव राखिएको थियो । तर उनी अस्पताल भित्र पसेनन् र आफ्नो छोराको शब बाहिर निकाल्ने पर्खाइमा बसे । मनीषले भने, ‘जब मेरो परिवार छोरा हर्षितलाई घरमा लैजाँदै थियो, तब मैले उनलाई टाढैबाट देखेँ । मेरो मुटु फुट्ला जस्तो भयो । तैपनि म हिम्मत जुटाउँदा मोटरसाइकलबाट छोराको मृत शरीर बोकेको एम्बुलेन्सको पछाडी पछाडी घर लागेँ ।’ उनी छोरालाई अन्तिम पटक भएपनि अँगालो हाल्न चाहन्थे । उनी आफ्नो भावनाहरूलाई रोक्न सक्दैनथे । उनी विश्वास गर्न सकिरहेका थिएनन्, कि अब छोरा यस संसारमा छैन ।
आफूलाई दुःखको पहाड थिच्दा पनि मनीषले मनलाई काबुमा राखे । घर पुगेर पनि आफ्नो घरभित्र पसेनन्, किनभने कोविड संक्रमणका बिरामीको उपचार गर्दागर्दै अस्पतालबाट फकिएका उनी आफ्नो कारणले परिवारका सदस्यलाई कोरोना संक्रमण हुने डरले सर्तक बने । दुःखमा डुबेका मनीषले भने, ‘म मेरो घरको गेट नजिकै बसेँ । भोलिपल्ट छोरा हर्षितको दाहसंस्कार गरियो । म आफ्नो छोरालाई छुन सक्दिन, किनकि धेरै संख्यामा व्यक्ति अन्त्येष्टिमा सामेल थिए र मेरो स्पर्शले संक्रमण निम्त्याउन सक्छ ।’
उनले दुखित हुँदै भने ‘अब उनीसँग उनको छोराको मात्र सम्झना छ । केहि भिडियोहरू र तस्वीरहरू मोबाइल फोनमा छोराका सम्झनाहरू छन् । उनी घरबाहिर बसेर छोराको मृत्युपछिको कार्य गरिरहेका छन् । दुःखका बीच पनि उनी आफ्नो कर्तव्यप्रति भने दृढ छन् । एक–दुई दिनमा पुन आफ्नो कर्तव्य सुरू गर्ने बताउँन् । उनी भन्छन् ‘बिरामीहरूको सेवा गरेर केही सान्त्वना पाउँछु ।’
(स्रोत : भारतीय संचारमाध्यमबाट लिइएको हो । )
वि.सं.२०७७ वैशाख २४ बुधवार १७:१६ मा प्रकाशित






























