२७ वैशाख, नुवाकोट । नेपाली कांग्रेस नुवाकोट र यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको दुई नगरपालिकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
शुक्रबार आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, बेलकोटगढी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अनन्तराम नेपाल र वडा नम्वर ७ का वडा अध्यक्ष हेमनिधि नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ज्वरो नाप्ने डिजिटल थर्मोगन, मास्क र स्यानिटाइजर यसअघि पनि बितरण गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिए। दुबै नगरपालिकालाई १ हजारको दरले मास्क र २ थान थर्मोगन बितरण गरिएको उनले बताए ।
त्यस्तै बेलकोटगढी नगरपालिका कोल्पुटारमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले कोरोना भाइरस बिरुद्धको लडाइमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्ने बताए ।

उनले बिपदको यो समयमा सबै नागरिकलाई आवश्यक्ताको आधारमा समान रुपले राहत बितरण गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले उपलब्ध भएको सामग्रीले कोरोना संक्रमण बिरुद्धको अभियान थप प्रभावकारी बन्ने बताए ।
बिदुरमा आयोजित कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, बिदुर नगरपालिका उपप्रमुख गिताकुमारी दाहाल, वडा नम्बर २ का अध्यक्ष बिरेन्द्र कुमार शाही, ३ का अध्यक्ष बद्री रिमाल, १० का अध्यक्ष गणेशकुमार नेपाल, नेपाली कांग्रेस बिदुर नगर सभापति नेत्र ढकाल लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले यसअघि पनि १० वटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री, कृषकको लागि मास्क, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, एम्बुलेन्स चालकलाई पीपीई लगायत स्वास्थ्य सामाग्री बितरण गरिसकेको छ ।
वि.सं.२०७७ वैशाख २७ शनिवार १४:४६ मा प्रकाशित
























