इतिहासदेखि अहिलेसम्म हेर्ने हो भने हाम्रो नेपाली समाजमा संसारकै आदर, सत्कार अनि शान्त सद्भाव भएको पाइन्छ । तर अहिलेको परिस्थिति हेर्दा संसारमा सबैभन्दा शान्त सद्भाव भएका हामी नेपाली संसारकै पहिलो सद्भाव हराएका मध्ये भैसकेका हौं कि, भनेर सोच्न बाध्य बनाएको छ । कारण अहिले कोरोना महामारी संसारका २१५ देशमा फैलिएको छ र ३३ देशमा आजको मितिसम्म मृत्यु भएको छैन भने बाँकी देशहरूको तथ्यांकमा लाखौंको मृत्यु भैसकेको रेकर्ड छ । तर, मृत्यु भइसकेकाहरुको शवहरु दाहसंस्कार गर्न कुनै देशका नागरिकहरुले अवरोध गरेको सुनिएको थिएन ।
नेपालमा यस्तो भयो, जुन घटना कोरोनाका कारण मृत्यु भएकाको शव भैरहवाको दाहसंस्कार गर्ने ठाउँमा दाहसंस्कार गर्न स्थानीयहरुले नदिएका कारण जङ्गलमा लगेर गाड्नु परेको खबर सुनियो । मृतकका परिवार समेत शव हेर्न वा शवको नजिक आउन चाहेनन् । कमसेकम केही फरक दूरीबाट त शव हेर्न सकिने थियो । के साच्चिकै हामी नेपालीभित्र मानवियता सद्भाव हराएको हो त ? कि हामी सत्यतथ्य नबुझीकनै डराएर मानवता र सद्भाव भुलिरहेका छौं ? मनमा प्रश्न उठ्छ बहादुरको इतिहास बोकेका हामी यति धेरै त्रसित किन भएका हौंला ?
त्रसित हुनुपर्छ तर यति धेरै मानवता सद्भाव भुल्ने गरि हुनु राम्रो हैन । बिश्व स्वास्थ्य संगठन (WHO) ले पनि खुलाएको छ कि यो भाइरस कसरी सर्छ र कहाँ कति समय सम्म जिवित रहन्छ वा यसलाई कसरी मार्न सकिन्छ । जब एउटा मान्छे मरेपछि त्यसले सास फेर्दैन् भन्ने कुरा त सबैलाई थाहा नै छ । अब सासै नफेरेपछि उ भित्र भएको भाइरस स्वासबाट बाहिर निस्कने कुरा भएन । यो भाइरस हावामा उडेर टाढा–टाढा पुग्दैन भन्ने पनि पुष्टि भैसकेको छ । सावधानी अपनाएर कम्तीमा ३ मिटरको दूरी राखेमा यो भाइरस सर्ने धेरै कम सम्भावना हुन्छ । हो, मृतकको शरिरमा भाइरस हुनसक्छ तर त्यसलाई राम्रोसँग सावधानीपूर्वक जलाइयो भने ती भाइरसहरु पनि मर्दछन् । त्यति गर्दा पनि डर लागेमा दाहसंस्कार गरिसकेपछि सो ठाउलाइ साबुनपानीले पखाल्दा, सेनिटाइजर छर्किदा पनि सबै भाइरसको नष्ट हुन्छ वा केहि नगरेमा पनि दुई तीन दिनमा त्यहारहेका भाइरस मर्दछन । तर बाचुन्जेल, मरेपछि आफ्नो कर्मकाण्ड राम्रोसँग होस् भन्ने चाहना राख्ने हामीहरु दाहसंस्कार नै गर्न नदिनु ठुलो पाप हो भन्ने हामीले बुझ्नुपर्छ ।
त्यसैले अब म यहाँ केहि मैले बुझेका कुराहरू प्रष्ट पार्न चाहन्छु । सर्वप्रथम यो कोरोना के कसरी सर्छ ? सर्नबाट बच्न के गर्नुपर्ने हुन्छ ? तथा सरिहालेमा के कस्ता उपाय अपनाउनुपर्छ ? भन्ने बुझ्नु नै महत्त्वपूर्ण उपचार हो ।
म अहिले कतारमा छु । यहाँ आजको मितिसम्म ४५ हजार ४६५ जनामा संक्रमित भेटिएका छन् । त्यसमध्ये १० हजार ३६३ जना सन्चो भैसकेका छन् । २०२ जना आइसियुमा, १ ह्जार ८९५ जना साधारण रेखदेख गर्नुपर्ने अवस्थामा र बाँकी ३३ हजार ५ जना कोरोना देखिए पनि साधारण ब्यक्ति जस्तो बस्ने खाने गरेका छन् । यसो भनी रहँदा त्यसो हो भने किन भाइरस देखिए पनि साधारण ब्यक्तिहरु झै बस्ने खाने गरेकालाई अस्पतालको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो भन्ने सवाल पनि उठ्न सक्छ ! यिनीहरुमा समस्या जटिल बनेमा उपचार गर्ने र यिनीहरुबाट अरु ब्यक्तिमा भाइस नसरोस् भनेर अस्पतालको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो ।
केही मैले चिनेका साथीहरूसँग मेरो दैनिक कुराकानी पनि भइरहेको पनि छ । यति ठूलो संख्या हुँदा पनि हामी निरन्तर सावधानी अपनाउँदै आफ्नो दैनिकीमा चलिरहेका छौं र यहाँको समाज पनि सुमधुर तरिकाले चलिरहेको छ । यहाँ मात्र हैन यो भाइसले बिकराल रुप लिएको इटाली पनि सामान्य जीबनमा फर्किदैछ । तर नेपालमा भने एउटा ब्यक्ति बाहिर कतैबाट गाउँ पस्यो कि पूरै जिल्लाबासी त्रसित भएको देखिन्छ । कोहि कतै एकदिन मामाघर वा माइत कतै गएर आउँदा पनि आफ्नै परिवारले घरभित्र पस्न नदिएका खबरहरु सुन्नमा आएका छन् । यति त्रसित हुनुपर्ने आवस्यक छैन तर सावधान भने हुनैपर्छ । हामी जति हतोत्साहित हुन्छौं त्यति नै हाम्रो शरीरको रोगसँग लड्ने शक्ति कमजोर हुन्छ र भाइरस त्यति नै सक्रिय हुन्छ त्यसैले हतोत्साहित हुनु हुदैन ।
आजसम्म यो भाइरसबाट मृत्यु हुनेमा दीर्घ रोगी, शरीरमा रोगसँग लड्न सक्ने शक्ति कम भएका तथा हतोत्साहित हुने मान्छेहरु नै देखिएका छन् । यो भाइरस लागेपछि मरि हालिन्छ भन्ने मानसिकताबाट हामी बाहिर आउनैपर्छ । भाइरस संक्रमण भएकाहरुमा संसारमा २३ लाख १५ हजार भन्दा धेरैलाई ठिक भइसकेको छ । सावधानी सबैले अपनाउनु पर्छ बिशेष गरेर बृद्ध तथा दीर्घ रोगीहरुले भने अति संबेदनसिल बनेर सावधानी अपनाउनु पर्ने देखिन्छ । त्यसैले बढी त्रसित हुनु भन्दा पनि सावधानी अपनाउ । सद्भाव कायम राखौं । आफू पनि सुरक्षित रहौ अरुलाइ पनि सुरक्षित राखौं ।
वि.सं.२०७७ जेठ १३ मंगलवार ०७:५१ मा प्रकाशित