-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

बेलायतका नेपालीद्धारा प्रथम भिसी थापाको शालिक निर्माणका लागि ६७ हजार पाउण्डको प्रतिवद्धता



२७ जेठ, लण्डन । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायले ६७ हजार पाउण्ड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत लाग्ने अनुमान गरिएकोमा छोटो समयमै आधा रकमको प्रतिवद्धता प आएको छ ।

नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोरखाहरुको योगदानका बारेमा बेलायतका नेपालीको आगामी पुस्तालाई जानकारी दिन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले जानकारी दिएका छन् ।

शालिक राख्नका लागि स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीले सन् २०१५ देखि काउन्सिलसित अनुरोध गर्दै आएकोमा रसमुर काउन्सिलले अल्डरसट हाइस्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्न अनुमति दिएको छ ।

काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मत सम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आस्वासन दिएको थापाले बताएका छन् । थापाले शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने जानकारी दिए । ‘यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।’

गत फेब्रेअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोनाको महामारीकै बीच करिब २५ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् । प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताएको छ ।

प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेको छ भने प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छन् । उनले बनाएका मूर्तिहरु विभिन्न स्थानमा प्रतिस्थापन भइसकेका छन् भने उनको कलाको प्रदर्शनी पनि भइसकेको छ । पूर्ण कदको मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।

‘प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने र त्यसमा चन्दादाताहरुको नामावली, भिसी कुलवीर थापाको संक्षिप्त जीवनी लेख्ने प्रोजेक्टको योजना छ,’ प्रवक्ता थापा भन्छन्, ‘बेलायतका सबै नेपालीले गर्व गर्ने यो योजनामा बेलायतमा रहेका सबै संघसंस्था र व्यक्तिहरु सहभागी हुन अनुरोध गर्दछु ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा