सदियौं देखि नेपाल एउटा स्वाधीन राष्ट्रको रूपमा कायम रहँदै आएको छ । यसको आफ्नै मौलिक पहिचान, विशिष्ट संस्कृति, भौगोलिक संरचना र भूराजनीतिक अवस्था छ । एउटा स्वतन्त्र, अभिवाज्य राष्ट्रको रूपमा यसले आफ्नो मौलिक पहिचान र स्वरूपको संरक्षण र संवर्द्धन गर्न सबै उपायहरू अवलम्बन गर्न सक्छ ।
आफ्नो अस्तित्व र पहिचान बचाइ राख्नको लागि नेपालले कार्यान्वयन गर्नुपर्ने उपायहरू मध्ये एउटा नेपाल भारत सीमामा तारबार लगाइ यसलाइ नियमन गर्नु हो । सीमामा तारबार लगाई सुरक्षा पोष्टहरू राखेर नियमन गरियो भने दुबै देशलाई पर्याप्त लाभ हुनेछ ।
आफ्नो सुरक्षाको बारेमा भारत थेरै संवेदनशील र चिन्तित छ । दक्षिण एशियामा पाकिस्तान उसको परम्परागत मुख्य शत्रु राष्ट्र हो भने चीनसँग पनि विभिन्न ठाउँमा सीमा विवादको कारणले भारतको सम्बन्ध तनावपूर्ण छ । लद्दाखमा अहिले भारत र चीन बीच तनाव चुलिएको छ ।
नेपाल हुंदै भारतीय जाली मुद्राको ओसारपोसार र उग्रवादीहरू आफ्नो भूमिमा छिर्ने गरेको गुनासो भारतले नेपालसंगको प्रत्येक द्विपक्षीय मीटिंगमा ब्यक्त गर्ने गरेको छ । सीमा तरबारले घेरियो र नियमन गरियो भने भारतको त्यो चिन्ता समाप्त हुनेछ ।
यस्तै भारत भित्र अपराध गरेर साना ठुला अपराधीहरू कानूनको पकडबाट बच्न नेपाल छिरेर संरक्षण पाउने छैनन् । नेपाली चेलीहरुको भारतीय वेश्यालयहरूमा बेचबिखन रोकिनेछ । नेपाली चेलीहरुको ट्राफिकिंगलाई प्रोत्साहित गरेको आरोप भारतलाई लाग्ने छैन ।
दुबै तर्फ सीमामा रहेका भंसार कार्यालयहरू सुदृढ हुनेछन् । आयात र निर्यात विधिपूर्वक हुनेछ । अनाधिकृत तरीकाले हुने सामानको ओसारपसार रोकिनेछ । चोरी पैठारी बन्द भई भन्सारको माध्यमबाट राजस्व असूलीमा बृध्दि हुनेछ । थोरै भए पनि नेपालको ढुकुटीमा थप रकम जम्मा हुनेछ ।
यसरी सीमामा तारबार लगाएर कडाइका साथ नियमन गरियो भने बेला बेलामा दुबै देश बीच उत्पन्न हुने विवादका कारक तत्वहरु समाप्त हुनेछन् । भारतलाई पोलि राख्ने सुरक्षा चुनौतीहरूसमाप्त हुनेछन् । नेपाल पनि आफ्नो मौलिक पहिचानका साथ अघि बढ्ने छ ।
(मिकरानी वरिष्ठ पत्रकार हुन् ।)
वि.सं.२०७७ जेठ २९ बिहीवार १२:५९ मा प्रकाशित






























