३२ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमण र त्यसको रोकथामका लागि सरकार सक्रिय भएर लागिपरेको छ । यस अगाडि सरकारी अस्पताल बाहेक निजी अस्पतालमा पनि इच्छुक नागरिकले शःशुल्क कोरोना संक्रमणको परीक्षण गराउन पाउने भनेर गरिएको निर्णयमा जनस्तरबाट सरकारको विरोध भएको थियो ।
विरोधका क्रममा नागरिकले कोरोना परीक्षणका लागि लाग्ने महँगो शुल्क तिर्न नसक्ने र सरकारले नै निःशुल्क रुपमा यसको व्यवस्थापन गर्नुपर्ने आवाज उठिरहेका बेला अन्ततः सरकारले संकलन गरिएका नमुना निजी अस्पतालका प्रयोगशालाबाट पनि परीक्षण गरिने र त्यसको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय आइतबार सार्वजनिक गरेको छ ।
यो सँगै अब संकलन गरिएका नमुनाको नतिजा छिट्टै आउने र संक्रमतिहरुको पहिचान गर्न सहज हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब निजी अस्पतालबाट पनि कोरोना भाइरस (कोभिड-१९) को नमुना परीक्षण गरिने र त्यसका लागि लाग्ने खर्च सकारले व्यहोर्ने जानकारी दिएका छन् ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिएका पिसीआर टेष्टका नमुनाहरु अब आइन्दा आवस्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्यावहरुलाई पनि जाँच्न दिइने व्यवस्था गरिएको छ,’ प्रवक्ता गौतमले भने, ‘यसका लागि लाग्ने खर्च नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’
वि.सं.२०७७ जेठ ३२ आइतवार १८:३२ मा प्रकाशित






























