
३२ जेठ,काठमाडौं । आइतबार ४ बजे बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय समितिको बैठक अकस्मात स्थगित गरिएपछि यसबारे अनेकौँ टिप्पणीहरु गरिएका छन् ।
आजको बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको भनिएपनि अन्तिममा आएर स्थगित गरिएको जानकारी गराइएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित गर्नुपरेको जानकारी गराइए पनि आजको बैठकमा एमसीसीको विपक्षमा अन्य नेताहरु रहेको र प्रधानमन्त्रीसँग नजिकीएका रामबहादुर थापा ‘बादल’ पनि एमसीसीको विपक्षमा नै उभिने स्थिति देखिएपछि बैठक स्थगित गरिएको हुनसक्ने एक अर्को स्रोतले बताएको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको परामर्शबाट बैठक स्थगित भएको र दुवैको सहमतिमा नयाँ बैठकको मिति तोकिने बताएका छन् ।
आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो ।
एमसीसी सम्बन्धी छलफल गर्न भन्दै बोलाइएको दोस्रो पटकको बैठक पनि स्थगित भएपछि नेकपाका अन्य नेतृत्व तथा कार्यकर्तामा अन्यौलता बढेको छ ।
(फाइल तस्विर)