
३ असार, काठमाण्डौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका एक ४४ वर्षीया पुरुषले आत्महत्या गरेका छन् ।
भारतबाट आएर वडा नं ५ को जुकेनामा रहेको हरि माविको क्वारेन्टिनमा बसेका देव वहादुर विकले क्वारेन्टिनमा बसेका बेला बुधबार बिहान आफूले विच्छ्याएको तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् ।
आरडिटी पोजेटिभ देखिएपछि पिसीआरको समेत श्वाव लिएर क्वारेन्टिनमै राखिएका विकले बुधबार बिहान ३ बजेतिर आत्महत्या गरेका हुन् ।
‘सँगै सुतेका साथीलाई पिसाब फेर्न जाउँ भनेर उठाएछन् । साथीहरुसँगै बाहिर गएर पिसाब फेरेर आएपछि साथीहरु सुतेछन् उनले आफू सुतेको तन्ना निकोलेर स्कुलकै कम्पाउण्डमा गएर आत्महत्या गरेको पाइयो ।’ शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले संसारन्युजसँग भने ।
क्वारेन्टिनमा केही समस्या भएर हो कि आत्महत्या गरेको ? भन्ने संसारन्युजको प्रश्नमा नगरप्रमुख अधिकारीले, क्वारेन्टिनका कारण नभएको र अन्य कुनै कारण हुनसक्ने बताए । ‘ केही भएको थिएन । स्वस्थ्य थिए, साथीहरुसँग पनि त्यस्तो केही कुरा गरेको पाइएन । अन्य केही कारण होला हामी अनुसन्धान गर्दैछौं ।’
नगरप्रमुख अधिकारीले २५ जेठमा पिसीआर परीक्षणका लागि श्वाव लिएर भैरहवा अस्पतालमा पठाइए पनि अहिलेसम्म रिर्पोट नआएको र रिर्पोटका लागि ताकेता गरिएको बताएका छन् । ‘रिर्पोट कहाँ छिटो आउँछ र तपाईहरुलाई थाहा भएकै कुरा हो ।’ उनले भने ।
भारतबाट आएका उनी १० जेठमा क्वारेन्टिनमा बस्न पुगेका थिए । त्यसको १५ दिनमा उनको आरडिटी जाँच गर्दा पोजेटिभ देखिएपछि पिसीआरको टेष्टका लागि २५ जेठमा नमुना लिइएको थियो । नगरप्रमुखले मृतकका परिवारलाई पनि भेटेको तर परिवारबाट पनि त्यस्तो केही कुरा थाहा नभएको बताए ।
नरप्रमुख अधिकारीका अनुसार शितगंगा नगरपालिकाका विभिन्न स्कुल लगायतका ठाउँमा निर्माण गरिएको ६१ वटा क्वारेन्टिनमा झण्डै १२ सय बढी भारतबाट आएका व्यक्तिहरुलाई राखिएको छ । उनीहरुमध्ये हालसम्म ३५० जतिको पिसीआर परीक्षण गरिएकोमा केहीको रिर्पोट आइसकेको र केहीको आउन बाँकी रहेको छ । शितगंगामा हालसम्म ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।