११ पुस,काठमाडौँ । उद्यमी तथा निजी क्षेत्रका व्यवसायीले नेपालमा उद्योगधन्धाको विकासका लगि सरकारले उचित वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभएको छ ।
उद्योग मन्त्रालयले आज आफूहरुसँग गरेको छलफलमा उहाँहरुले उद्यमीलाई ढुक्क भएर लगानी गर्ने वातावरण तयार गर्नुपर्ने, उद्योगमा पूर्ण रुपमा विद्युत्भार कटौती हटाउनुपर्ने, तेस्रो मुलुकबाट सामान ल्याउन अनुमति दिनुपर्नेलगायत माग गर्नुभयो । उहाँहरुले काठमाडौँमा उद्योगका लागि जग्गा किन्न कम्तीमा रु ८० करोड चाहिने भएको तथा उद्योग सञ्चालनका लागि पुँजी तोक्ने गरिएकाले थोरै पुँजी भएकाहरुले उद्योग सञ्चालन गर्न नसक्ने भएको गुनासो गर्नुभयो ।
सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले वीरगन्ज चिनी कारखानाजस्ता पुराना उद्योगलाई सञ्चालन गरिने, बन्द उद्योग पुनःनियमित गरिने तथा देशका लागि आवश्यक नयाँ उद्योग खोल्न पूर्वाधारको तयार गरिने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग सञ्चालनका लागि पँुजी तोक्ने काम हटाउनुपर्ने माग गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले ढुक्क भएर लगानी गर्नका लागि केही कानुनमा परिमार्जन आवश्यक रहेको बताउनुभयो । रासस
वि.सं.२०७३ पुस ११ सोमवार १३:३४ मा प्रकाशित