काठमाडौं । कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप १ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। अस्पतालले जनाएअनुसार मृतक कोरोना संक्रमित क्षयरोगबाट समेत पीडित थिए ।
कोरोना संक्रमण पुष्टि भएपछि असार ४ मा उनी प्रदेश अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर देखिएसँगै उनलाई सिघै आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।
यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लोपटक देखिएका संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ।