११ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आ.व.२०७७/०७८ को लागि रु.१ अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाकाको सातौं नगरसभामा कार्यवाहक प्रमुख मोहनमाया ढकाल (भण्डारी) द्वारा प्रस्तुत सो आ.व. को बजेटमा चालुतर्फ रु.९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगततर्फ रु.५१ करोड ६७ लाख ९८ हजार ४२३ र वित्तिय व्यवस्थापन तर्फ रु.८० लाख ८० हजार बजेट विनियोजित गरिएको छ । यो चालु आ.व.को बजेट भन्दा रु.१९ करोडले कम रहेको उनले बताईन।
कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता र पूर्वाधारमा जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याइएको भन्दै नगरभित्र उत्पादन हुने फलफुलहरुमाःआँप, कागती, केरा, लिची, किबी, खाद्यान्न बालीहरुमाः कोदो, धान, मकै, गहुँ, मसुरो, मास, केराउ, भट्टमास सिमी, तरकारीहरुमाः अदुवाको, प्याज, लसुन, केराउ, तरकारी तथा खाद्य बीउ आदिलाई प्राथमिकता र गाई वस्तुहरुलाई पकेट क्षेत्रका रुपमा प्रवद्र्धन गरिने उनले बताईन ।
उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याईएको जानकारी दिँदै भनिन, “हामीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि रु.पाँच करोड रकम विनियोजन गरेका छौं । नसर्ने रोगको पहिचान गर्ने, रोकथाम र संरक्षणलाई प्रभावकारी बनाउँदै महिलाको पाठेघर क्यान्सरलगायत सबै कुरामा निःशुल्क परीक्षण सञ्चालन गर्ने विषय बजेटमा समावेश गरिएको छ ।”
नगरपालिकाले नगर विकासलाई प्राथमिकतामा राखेर नीजि साझेदारी मोडेलबाट विकास निर्माण अगाडि बढाउने, सिटी बसपार्क विकासलाई निरन्तरता दिने, बिगतमा शुरु गरिएको गुरुयोजना अन्तिम रुप दिने बजेट तथा योजना कार्यक्रम समावेश गरेको छ । वडापालिकामा रु.तीन लाख र नगरमा रु.१० को विपद् व्यवस्थापन कोष निर्माण गर्ने जनाईएको छ ।
काक्रेबिहारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चिडियाखानाका रुपमा विकास गर्न, देउती बज्यै, बुलबुले, घण्टाघर र गढीलाई वातावरणमैत्री पार्कका रुपमा विकास गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउन न्यूनतम शैक्षिक भौतिक पूर्वाधार विकास गरिने बताईएको छ । मा.वि. सञ्चालन नभएका वडाहरुमा आवश्यक पूर्वाधार पुरा गरेकालाई आवश्यक स्तरवृद्धि गर्ने र एक वडा, एक प्राविधिक शिक्षालयमा पनि जोड दिने नगरपालिकाले जनाएको छ ।
नीति तथा कार्यक्रम र बजेटमा कृषि उत्पादन, स्वास्थ्य, शिक्षा, रोजगारी र भोकमरीलाई केन्द्रित गरेर सुर्खेतका भेरीगंगा नगरपालिकाले रु.६२ करोड ८८ लाख, लेकबेसी नगरपालिकाले रु.६० करोड ६० लाख, सिम्ता गाउँपलिकाले रु.४५ करोड ६०लाख, तथा चिङ्गाड गाउँपालिकाले रु.३५ करोडको बजेट ल्याएको छन् । रासस
–––
वि.सं.२०७७ असार ११ बिहीवार १३:५८ मा प्रकाशित





























