१३ असार, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चालु स्थायी समिति बैठक बालुवाटारबाट धुमबाराहीमा सार्ने आवाज उठाइएको छ ।
नेकपाको स्थायी समिति सदस्य अष्टलक्ष्मि शाक्यले शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको सुविधाका लागि निवासमै बैठक राख्दा पनि अध्यक्षता गर्ने व्यक्ति अर्को कोठामा बसेर सुन्नु बैठकप्रतिको अपमान हो भन्दै बैठकलाई धुमबाराही सार्ने प्रचण्डसँग अनुरोध गरेकी थिइन् ।
यसैगरी अध्यक्षको कुर्सी विशेष सोफा भएको र अरु फरक वर्गको जस्तो गरी सेटिङ गरिएकोमा चर्को विरोध उठेपछि प्रचण्ड आफैले व्यवस्थापन सहजीकरण गर्नु परेको थियो ।
विगत केही वर्षदेखि अध्यक्ष ओलीको तिब्र आलोचक मानिएका भीम रावलले कुर्सी परिवर्तन गराएरै छाडेको नेकपा सुत्रले बताएको छ ।
१२ गतेको बैठकको सुरुमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत वार्ता गर्नै नचाहेको बताएपछि बैठकमा भाग लिने अधिकांश नेताहरुले सिमामा तारबार गर्नुपर्ने कुरो उठाएका थिए । बैठकमा लीलामणी पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पंफा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुविर महासेठ, अमृत बोहोरा, भीम आभार्य, केशव बडाल, गणेश साह, प्रदीप ज्ञवााली, मुकुन्द न्यौपाने र प्रवक्ता तथा सचिवालय सदस्य नाराणकाजी श्रेष्ठ लगायत १८ जनाले आफ्ना धारणा राखेका थिए ।
वि.सं.२०७७ असार १३ शनिवार १५:४८ मा प्रकाशित






























