१९ असार, काठमाण्डौं । आफूलाई कोरोना संक्रमण भएको थाहा पाएपछि बझाङका एक युवाले आत्महत्या गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का १८ वर्षीय युवाले शुक्रबार दिउँसो आत्महत्या गरेका हुन् ।
गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाका अनुसार असार १ गते आरडिटी पोजेटिभ देखिएपछि उनमा असार ८ गते पुनः पिसीआर टेष्ट गरेर परीक्षणका लागि पठाइएको थियो ।
जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टिनमा बस्दै आएका थिए । असार ८ गते पिसीआर नमुना लिएपछि उनलाई असार १३ गते घरमै क्वारेन्टिनमा बस्ने गरी पठाइएको थियो ।
‘केही समस्या देखिएको थिएन, फुर्तिला थिए । होम क्वारेन्टिनमा बस्ने भनेपछि पिसीआर नमुना लिएपछि घर पठाएका थियौं,’ गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘असार १३ गते संकलन गरिएको नमुना जाँचको रिर्पोट हिँजो आयो । उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यो खबर सुनेका उनले आज दिउँसो घर नजिकै आधा घण्टाको दूरी रहेको जंगलमा पुगेर आत्महत्या गरेका रहेछन् ।’
सानैमा बाबु आमा गुमाएका ती युवा मावलीको संरक्षणमा हुर्केका थिए । पछि भारत गएर मजुदरी गरेर फर्किएका उनले कोरोना संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका हुन् ।
अध्यक्ष रोकायाका अनुसार हाल सेना र प्रहरीको टोली उनको शब व्यवस्थापनमा लागेका छन् ।
खप्तड छान्ना गाउँपालिकामा बिहिबार आत्महत्या गरेका युवासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त पालिकामा हालसम्म १२ जनामा संक्रमण देखिएको छ । जसमा १–२ जना निको भएर घर फर्किएको पनि अध्यक्ष रोकायाले संसारन्युजलाई जानकारी दिएका छन् ।