
१९ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (१९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ४२ हजार २४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा ४,४८३ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,०८४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ३५,४७२ रहेको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या १५,२५९ पुगेको छ भने आज निको भएर ८२३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६१४३ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज बानेश्वरका १ व्यक्तिको मृत्यु भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ ।
आज ७४० जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार नाघ्यो
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ । आज पष्टि भएका ७४० सँगै नेपालमा कू संक्रमितको संख्या १५,२५९ पुगेको छ ।
नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो
कुन प्रदेशमा कति संक्रमित भए त ?
नेपालमा हालसम्म सातै प्रदेशमा १५ हजार २५९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश नं १ मा ६७४ प्रदेश २ मा ३,९९५, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा १,११८, प्रदेश नम्बर ५ मा ३८९१ कर्णाली प्रदेशमा १,५३९ र सुदूरपश्चिम प्रदेशमा ३,५३५ जनामा संक्रमण पुष्टि भएको छ ।
आज पनि ८२३ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर उपचार गराउने ८२३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज भएका ८२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६,१४३ पुगेको छ ।
कुन प्रदेशमा कति डिस्र्चाज भए त ?
मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको प्रदेश विवरण अनुसार प्रदेश १ मा ४००, प्रदेश २ मा १,८६७, बाग्मती प्रदेशमा १८५, गण्डकी प्रदेशमा २१४, प्रदेश ५ मा १,७२५, कर्णाली प्रदेशमा १,०७२ र सुदूरपश्चिम प्रदेशमा ६८० जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको नयाँ बानेश्वर घर भएका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उच्च रक्तचाप र पाकिन्ससको समेत समस्या भएका उनको छाति दुखेको र पिसाब कमहुने समस्याले काठमाण्डौंको एक निजी अस्पतालको आइसीयु, आइसोलेशनमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका उनको असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट १४,५१९ संक्रमित, ३१ जनाको मृत्यु, यस्तो छ अन्य अपडेट