२९ असार, तनहुँ । तनहुँमा शुक्रबार देखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।
जसअनुसार व्यास नगरपालिका–९, माझकोटमा दुई घर बाढीले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैतीकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।
त्यस्तै रिसिङ गाउँपालिका–८, पल्ट्याङ भैँसीकिलीका २८ वर्षीय भेषबहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र पाँच वर्षीया बालिका अनिसा थापाको ज्यान गएको छ । म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ । रिसिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन् ।
जिल्लाका साना तथा ठूला खोला नदीमा बाढी आउँदा पृथ्वी राजमार्ग, लगायत शाखा सडक मार्गहरूमा पहिरो जाँदा यातायातमा समस्या भएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १६:२२ मा प्रकाशित






























