काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद तत्काललाई समाधान भएको छ । पार्टी विभाजन तहसम्मै पुगेको विवाद दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको लगातारको छलफल र बहसले विवाद समाधान तिर पुगेको नेकपा स्रोतले जनाएको छ ।
स्रोतले जनाएअनुसार केहि दिनभित्रै सहमतिको विषयमा समेत नयाँ कुरा सार्वजनिक हुनेछ । जनाइएअनुसार सहमती लेनदेनभन्दा बाहिर पार्टी एकता जोगाउने गरि हुनेछ ।
स्थायी समिति बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र विवाद चुलिएको थियो । प्रचण्ड–माधव नेपाल समुहका ३० स्थायी समिति सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । जसको कारण स्थायी समिति बैठक पनि स्थगित हुँदै पार्टी विवाद गम्भिरता तिर पुगेको थियो ।
दोस्रो र तेस्रो तहका नेताहरुको दबाब
पार्टी विभाजन तहसम्मै पुगेको विवादमा दोस्रो तथा तेस्रो तहका नेताहरुले निकै दबाब दिएसँगै विवाद समाधान उन्मुख भएको नेकपाका नेताहरु बताउँछन् । पछिल्लो विवादमा पार्टीका सबै समुहका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी विभाजनको विपक्षमा उभिएका थिए ।
पार्टी विवाद चरम स्थितिमा पुगेकै बेला गत असार १९ मा कृषिमन्त्री घनश्याम भुसालले समाधान खोज्न बेग्लै भेलाको आयोजना गरेका थिए भने यता केन्द्रिय तहका नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना कार्यक्रम गरेका थिए । पार्टी विभाजन हुन नदिने भन्दै नेताहरुले हस्ताक्षर अभियानसमेत चलाएका थिए ।
चिनियाँ राजदुतको भूमिका
नेकपा विवादका बीच चिनियाँ राजदुत होउ याङ्छीको भूमिका सक्रिय खालको रह्यो । विवाद बढेको बेलामा उनले पार्टी अध्यक्षद्वय ओली र दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँग बेग्ला बेग्ले भेट गरि मिल्न दबाब दिएकी थिइन् । पार्टी विवादकै विषयमा राजदुत याङ्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट गरेकी थिइन् ।
नेकपाकै कतिपय नेताले बताएअनुसार वार कि पारको अवस्थामा पुगेको विवादलाई साम्य बनाउन राजदुत याङ्छीले दबाबमुलक सुझाव दिएकी थिइन् । उनको भूमिकाले पनि नेकपा विवाद तत्काललाई टरेको धेरेको मत छ ।
पार्टी विभाजन राेक्न दुई अध्यक्षले जनाए प्रतिवद्धता
१. ओलीको सम्बोधन, पार्टी फुटन नदिने प्रतिवद्धता
प्रधानमन्त्रीसमेत रहेका पार्टी केपी शर्मा ओलीले देशवासीका नाममा गत शुक्रबार गरेको सम्बोधनमा पार्टी विवाद सामान्य विषय भएको भन्दै त्यो समाधान भईहाल्ने विश्वास व्यक्त गरेका थिए । उनले पार्टीभित्रको समस्या छलफलमै टुंगो लगाउने प्रतिबद्धता पनि जनाएका थिए । ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पुर्याउने काम सम्बन्धित पार्टी र नेताको भएको भन्दै सहज समाधान निस्कने विश्वास दिलाएका थिए ।
पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमति नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रियासमेत भएको भन्दै उनले ती सबै समस्या समाधान हुने दृढता व्यक्त गरेका थिए । उनले आमनेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्दै पार्टीभित्र देखिएका तमाम विवाद छलफल र संवादको माध्यमद्वारा हल गरिने बताएका थिए ।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै महामारीविरुद्व र बाढीपहिरोको उद्धारमा जुट्न भनेकै भोलीपल्ट प्रचण्ड बाढी निरिक्षण गर्न चितवन पुग्नुलाई पनि अर्थपूर्णं रुपमा लिइएको छ ।
२. प्रचण्डको अभिव्यक्ति विवाद समाधान उन्मुख छ
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको अभिव्यक्ति पनि पार्टी विवाद करिब करिब समाधान उन्मुख भन्ने जनाएको छ । उनले गृहजिल्ला चितवन पुगेर पार्टी आन्तरिक विवादबारे बोलेका विषयले विवाद समाधान उन्मुख भन्ने देखिन्छ । प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताएका थिए ।
उनले नेताहरुलाई पार्टी विभाजन हुन्छ भनेर यता र उता नदौडिन पनि चेतावनी पूर्णं सुझाव दिएका थिए । ‘म फेरि दोहोर्याउँछु यो पार्टीलाई विभाजित हुन दिइने छैन, पार्टी एकतावद्ध हुन्छ, तपाईं अहिले यताउता दौडिँदा पछि पछुताउनु पर्ला’, प्रचण्डले भनेका थिए ।
उनले राजनीतिक गतिविधिले पार्टी एकतालाई कमजोर हुन नदिने पनि प्रतिवद्धता जनाएका थिए । उनले भनेका थिए, ‘पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस्। पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।’
वि.सं.२०७७ असार २९ सोमवार १५:५४ मा प्रकाशित
























