विभिन्न रामायणका आ–आफ्नै अनेक राम छन्, अनेक सीता छन् र लक्ष्मण छन् । यति धेरै रामायणलाई एउटै प्रमाणीकरण गर्दा रामायणमाथि नै अन्याय हुन्छ त्यसैले नेपालले अयोध्या नेपालमा, भारतले भारतमा, थाइल्यान्डले थाइल्यान्डमा विश्वास गर्छन् । एउटै ठीक भन्ने संस्कृतिमाथिको हस्तक्षेप हो । भारत नेपालको सीमामा विस्तारवादी भएझैं संस्कृतिमा पनि विस्तारवादको षडयन्त्र गरिरहेको छ । नेपालका भारतीय दलालहरू आफ्ना सक्कली अनुहारहरू उदाङ्गो पारिरहेका छन् । रामायण इतिहास होइन मिथक हो ।
जुलाई १३, २०२० सोमबार भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले अहिले मिडियामा तरङ्ग छाएको छ । ओलीको यो अभिव्यक्ति सामान्य चर्चा चलिरहेकै बहस हो । डा। एनएन पानिकरका अनुसार रामायण इतिहास होइन यो मिथोलोजी हो । यो इतिहासको अनुसन्धान जस्तो तथ्यगत हुँदैन । यदि मिथकलाई इतिहासमा घुलन गर्ने हो भने इतिहास बरालिन पुग्छ । नेपाली जनमानसले सामान्यतया वाल्मिकीको संस्कृत भाषाको रामायण, तुलसीदासको अवधी भाषाको रामायण र भानुभक्त आचार्यको नेपाली भाषाको रामायण बुझ्ने गरेको पाइन्छ । एके रामानुजम, डा क्यामिले बुल्के र डा। अजिज थारुभानाले रामायणमा धेरै अनुसन्धान गरेका छन् । उनीहरूका अनुसार विश्वमा मौखिक, चित्रगत र लिखित गरेर ३०० भन्दा बढी रामायण संस्करण देखिएका छन् । भारत बाहेक नेपाल, थाइल्यान्ड, ताइवान, मलेसिया, भुटान, श्रीलंका, चीन, पाकिस्तान, भियतनाम, जापान, बंगलादेश, अफगानिस्तान र फिलिपिन्समा आआफ्नै रामायण छन् । हिन्दु, बुद्धिष्ठ, जैन, दलित, आदिवासी र मुस्लिम रामायण परम्परा अनुसार उपलब्ध छन् ।
विभिन्न रामायणमा राम र सीताको सम्बन्ध स्थान अनुसार फरकफरक पाइन्छ । बुद्धिष्ठ रामायणमा सीता रामकी पत्नी नभएर बहिनी लेखिएको छ । मलेयालम कवि भायालार रामवर्माको कविता रावणपुत्री दक्षिण भारतमा प्रसिद्ध छ । भारतको हिमाचल प्रदेशमा लाहौल भन्ने ठाउँ छ त्यहाँ लाहौली भाषा बोलिन्छ । इतिहासकार छिरिङ दोर्जेका अनुसार लाहौली रामायणमा सीतालाई रावणकी छोरी भनिएको छ । एउटा कथा अनुसार एकसमय एकजना ब्राह्मण लक्ष्मीको तपस्यामा थिए । ब्राह्मणको छेउको कलश रावणले घर ल्याएर पत्नी मन्दोदरीलाई यसमा विष छ जतनगरी राख्नु भनेर आफू तपस्या गर्न हिँडे । पतिदेखि दिक्दार भएर मन्दोदरीले कलशको विषपान गर्दा उनी गर्भवती भइन । डराएर आफ्नो गर्भको सन्तान धरतीमा गाडिन । केही समय पछि राजा जनकले हलो जोत्दा जिउँदो कन्या प्राप्त गरे । यही कारण सीता जनकपुत्री भइन तर लाहौलमा सीता रावणकी पुत्री मानिन्छिन् ।
प्राचीन तुर्किस्तानको कोथानमा बहुपतिप्रथा थियो । त्यहाँको रामायणमा सीता राम र लक्ष्मण दुबैकी पत्नी उल्लेख गरिएको छ । इन्डोनेसियाको हिकायत रामायण अनुसार राम–लक्ष्मणले अल्लाहको आराधना गरेको कथा छ । रामायणका पात्रमा एडम नबी, मोहमद नबी, अली, जीब्रिल आदि पात्रहरू उल्लेख गरिएको छ । पौमाचार्य लिपिमा लेखिएको जैन रामायण अनुसार रावणलाई रामले नभएर लक्ष्मणले मारेको र यो हिंसाको अपराधमा उनी नर्क गएको वर्णन गरिएको छ । भारतको केरला वायनाडको आदिरामायणमा रामलाई त्यहाँको आदिवासी देउताभन्दा मुनि देखाइएको छ । आदिवासी देउताहरू माल्लापन, सिद्धापन र निन्जापनले रामलाई पत्नी र छोराहरू छाडेको अभियोगमा गोथराको अदालतको कठघरामा उभ्याएको आलेख पाइन्छ ।
रामायणमा उद्धृत अयोध्याबारे एसियाली देशहरूमा विवाद रहेको छ । थाइल्यान्डको बुद्धिष्ठ रामायणले अयोध्या त्यहाँ रहेको दावी गरेको छ । थाइहरू अयोध्यालाई अयुध्या उच्चारण गर्छन् । इन्डोनेसियामा त्यहाँ प्रचलित लोकगीतहरूमा अयोध्या त्यहाँ रहेको भाकाहरू प्राप्त भएका छन् । भारतमै स्थानबारे धेरै विवादहरू छन् । केरलाको वायनाडमा पुलपल्ली आश्रमामकेल्ली गाउँ छ । जनश्रुति अनुसार पुलपल्लीका मानिस त्यहाँको जधायात्ता काभु मन्दिर भएको ठाउँ सीता धरतीमा समाहित भएको ठाउँ भन्छन् । सीता पृथ्वीमा समाहित हुनलाग्दा रामले सीताको चुल्ठो समातेर तान्दा चुल्ठो चुँडियो । त्यहाँको स्थानीय भाषामा जधा भनेको कपाल र यात्ता भनेको चुँडिनु हो । यसैले त्यहाँ जधायात्ता काभु रहेको विश्वास गरिन्छ । अयोध्या जस्तै लंका पनि विवादित छ । भारतीय बुद्धिजीवी हसमुख धीरजलाल संकालियाको पुस्तक रामायण स्टडिज अनुसार लंका मध्यप्रदेशमा पर्छ । आजको श्रीलंकाको पुरानो नाम थमरापारनी थियो । संकालिया भारतका प्रसिद्ध संस्कृत र पुरातत्वका विद्वान मानिन्छन् । भारतको वायनाड र नेपाल चितवनको अयोध्यापुरीमा बाल्मिकी आश्रम रहेको पनि भेटिएको छ ।
निष्कर्षमा भन्ने हो भने विश्वमा एक होइन अनेक रामायण छन् । उदाहरणका लागि डा. अजिज थाराभानाको पुस्तक हाउ मेनी रामायन्स प्रसिद्ध छ । विभिन्न रामायणका आ–आफ्नै अनेक राम छन्, अनेक सीता छन् र लक्ष्मण छन् । यति धेरै रामायणलाई एउटै प्रमाणीकरण गर्दा रामायणमाथि नै अन्याय हुन्छ त्यसैले नेपालले अयोध्या नेपालमा, भारतले भारतमा, थाइल्यान्डले थाइल्यान्डमा विश्वास गर्छन् । एउटै ठीक भन्ने संस्कृतिमाथिको हस्तक्षेप हो । भारत नेपालको सीमामा विस्तारवादी भएझैं संस्कृतिमा पनि विस्तारवादको षडयन्त्र गरिरहेको छ । नेपालका भारतीय दलालहरू आफ्ना सक्कली अनुहारहरू उदाङ्गो पारिरहेका छन् । रामायण इतिहास होइन मिथक हो ।
वि.सं.२०७७ साउन ३ शनिवार ०८:५३ मा प्रकाशित






























