६ साउन, सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेको सिन्धुपाल्चोक प्रशासनले धेरै आतंकित नभई सचेत रहन आह्वान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सुरक्षा निकायको बैठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको हो ।
अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेका कारण खाली किनारका बासिन्दा भने सचेत रहनुपर्ने प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् । उनले किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने बताएका छन् ।
दूधपोखरीको नामले चिनिने कराइ आकारको सो ताल भरिएकाले त्यसको जमेको पानी पोखिएर फुट्न सक्ने शङ्का गरिएको हो । प्रजिअ ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई सोमबार साँझ खबर गरेको थियो ।
ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोशी, भोटेकोशी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामा समेत पर्नेछ तर त्यहाँबाट पानीको बहाव तल आउञ्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतङ्कित नभई सचेत रहन मात्र आह्वान गरेका छौँ, ढकालले भने ।
प्रजिअ ढकाल भन्छन्, “ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होइन, सीमाका चिनियाँलाई समेत खासा लगेकाले खतरा देखियो ।” खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो भने स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको थियो ।
सुनकोशी र भोटेकोशी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । तातोपानी नाकाबाट करिब ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट सो तालको पानी भोटेकोशीमै मिसिने भएकाले खतरा हुनसक्ने अनुमान स्थानीय प्रशासनको छ ।
तातोपानीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ ।
विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो । त्यति बेला झण्डै १५० घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस वनाएको थियो । (राससको सहयोगमा)
वि.सं.२०७७ साउन ६ मंगलवार १८:०० मा प्रकाशित






























