back
CTIZAN AD

बाढी, पहिरो र डुबानमा नवसिर्जित कहर बन्दै

वि.सं.२०७७ साउन १० शनिवार

798 

shares

बाढी पहिरोको अर्को कारणमा भूमाफिया तथा भ्रष्टाचारीहरुको दबदबा पनि हो । उनीहरुले कुनै खोलाकिनारा तथा सार्वजनिक जमीनको नजिकै केही क्षेत्रफलको जमीन खरीद गर्छन् र पछि राजनीतिज्ञ तथा कर्मचारीहरुलाई प्रलोभनमा पारी वरीपरीका सार्वजनिक जमीन तथा खोल्साखाल्सीलाई कब्जा जमाइहाल्छन् । त्यसपछि, डोजर चलाई खोलाको आफ्नो बहाव क्षेत्रलाई संकुचन गरी प्रकृति स्वरुप र वनावटलाई ध्वस्त पार्ने कार्यले पनि कतिपय ठाउँमा यो समस्या उत्पन्न भएको छ । यसको ज्वलन्त उदाहरणको रुपमा काठमाडौँ परिसरकै खोल्साखाल्सी र नदीनालालाई लिँदा पनि काफी हुन्छ ।

प्राकृतिक रुपमा बग्ने पानीको बहावलाई निचोरेर साँघुरो बनाउनुको साथै घरबाट निस्केको फोहरजन्य बस्तुपनि त्यहिँ फालिने भएपछि वर्षादको बेलामा पानीको सतह बढेर घर आगनमा पसेर बितण्डा मच्चाउनु स्वभाविकै हो ।

नेपालमा मनसुनको आवागमनसँगै तराईदेखि पहाडी रउच्च पहाडी क्षेत्रसम्मका नेपालीहरुको जनजीवनमा प्रत्यक्ष रुपले प्रभाव पारेको हुन्छ । बाढी र पहिरो समस्या पहाडमा बढी देखिन्छ भने तराईमा बाढी र नदीनाला किनार कटानको कारण डुबान समस्या बढी छ । यो कुनै एक ठाउँको मात्र समस्या नभएर मुलुकभरिको समस्या बनेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान तथा खोला तथा नदी तटको कटानले धेरै जीवजन्तु; प्राकृतिक तथा संस्कृतिक सम्पदा; टहरा, घर तथा भवन, र खेतिपातीमाक्षतिहुन पुग्दछ । गृह मन्त्रालय, काठमाडौँको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राविधिकरणबाट प्राप्त जानकारी अनुसार यो वर्षको बैशाखदेखि श्रावण ३ गतेसम्म बाढीबाट मृत्यू, बेपत्ता र घाइते हुनेको संख्या क्रमशः ६, ६ र ३ जना छन् भने पहिरोबाट मृत्यू, बेपत्ता र घाइते हुनेको संख्या क्रमशः १०६, ४३ र ८५ जना छन् । यो भयावह स्थिति हो ।

यसको अलावा, पुलपुलेसा तथा बाटोघाटो बन्द हुँदा आवतजावतमा समस्या, सिचाई कुलो तथा नहरहरु र कृषियोग्य जमीनमा भएको क्षतिले कृषि उत्पादनमा प्रत्यक्ष असर पुग्न जान्छ । त्यस्तै गरेर, मानव तथा पशुपन्छीको स्वास्थ्य तथा दैनिकीमा पनि गम्भीर असर पारेको हुन्छ । यी यावत समस्याहरुको कारणले व्यक्तिगत तथा समग्र देशको आर्थिक अवस्थामा पनि सीधै गिरावट आउन जान्छ ।

फोटो : ग्रामीण कच्ची सडकको कारण पहिरोबाट क्षतिग्रस्त बस्ति (स्रोत : बसन्तश्रेष्ठको फेसबुक वाल)

तर हामीले मनसुनको समयमा बाढी, पहिरो, डुबान र कटानलाई प्राकृतिक समस्या वा दैवको लिला भनेर जनताको आँखामा छारो हालेर चोखिने प्रयास गर्दछौँ । अहिलेको अवस्थामा हामीले यसरी प्रकृतिलाई दोष थोपारेर आफूले गर्ने गरिएका गम्भीर गल्ति र अपराधबाट उन्मुक्ति लिन मिल्ने अवस्था छैन । किनकि, यसमा देशको रथ हाँक्ने जिम्मेवारी पाएका हाम्रा केही नेतृत्वगण तथा कर्मचारी वर्गको चिन्तन, दारिद्रिक तथा लम्पसारवादी मानसिकता र अदूरदर्शिताको पराकाष्ट नै प्रमुख कारणहरु हुन् । यसको साथै, भूमाफिया तथा भ्रष्टहरुको जमात र हामी जनताहरु पनि यसको कारकतत्वमा पर्दछौँ ।

किनभने, पहिलो त, हामीले देशको भलाई भन्दा पनि आफ्नो व्यक्तिगतआर्थिक, राजनीतिक तथा अन्य लाभका खातिर छिमेकी देशहरुको स्वार्थ अनुसार अनेकौँ असमान सन्धीतथा सम्झौता ग¥यौँ । उदारहणको लागि भारतसँग गरिएका कोशी, गण्डकी, महाकाली लगायत अनेकौ सन्धी सम्झौतालाई लिन सकिन्छ । यस्ता असमान सन्धी सम्झौता मात्र कहाँ हो र त्यसको ताला चावी पनि उनीहरुलाई नै सुम्पियौँ । जब पहाडी क्षेत्रमा भारी वर्षा हुन्छ र नदीमा पानीको बहाव बढ्द थाल्छ तब उनीहरुले बिहारलाई जोगाउन कोशी बाँधका ढोकाहरु बन्द गरी बाढीको मुस्लो हाम्रो जमीन तिर सोझ्याई हाम्रा तराई तथा मधेश जलमग्न गरी डुबाइदिन्छन् र त्यसपछि ठूलो मात्रामा धनजनको क्षतिपुग्न जान्छ । त्यसैले, कोशी नदीको बाँध वर्षादको समयमा उक्त आसपासका नेपालीको लागि एक पिलो जस्तै पीडादायी बनेको छ । हामी अझै पनि लाचारी छाँै । उक्त समस्याबाट उन्मुक्ति पाउनु त कता हो कता अझ आलो घाउमा नुन खुर्सानी थपेर पीडा थपेझैँ जनतालाई अझै पीडा थोपार्न अनेकाँै असमान सन्धी तथा सम्झौतालाई निरन्तरता दिइरहेका छौँ ।

यसको अलावा, मिर्मिरे अनलाईनले मिति २०७४ श्रावण ३२ गते उल्लेख गरेअनुसार भारलततले नेपालको सीमा नजिकै अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलो मीटर छाडेर संरचनानिर्माण गर्न सकिने कानुन मिचेर बाँधतथा तटबन्धहरु निर्माण गरेको कुरा छ । हालसम्म नेपालको सीमानजिकै भारतले करिब १५ वटा बाँध (६)तथा तटबन्ध (९) निर्माण गरेका छन् जस्ले प्रत्येक वर्ष वर्षादको समयमा नेपालको तराई तथा मधेश डुवान पारेको छ । यदि यसलाई समयमै सरकारी तवरबाट कुटनीतिक तबरले समाधान गर्ने हिम्मत वा पहल गर्न सकेको भए यो समस्या समयमै समाधान हुने थियो । यदि त्यतिखेर सीमा क्षेत्रमा अहिले जस्तो सुरक्षाकर्मीको उपस्थिति भएको भए जनस्तरबाट भए पनि सकृय रुपमा बिरोध गर्नसक्ने अवस्था हुन्थ्यो तर त्यतिखेर यी अवस्थाहरु केही पनि थिएन । त्यस्तो अवस्थामा पनि जनस्तरबाट आवाज नउठेको पनि हैन तर उनीहरुलाई थर्काइयो, ज्यानमार्ने धम्कीदिइयो र सांघातिक आक्रमण गरेर कतिलाई त मरणाशन्न पनि बनाइयो, र भारतले एकतर्फी रुपमा काम सम्पन्न गर्नतिर लाग्यो ।

यसको अतिरिक्त पहाडी क्षेत्रमा परेको अविरल वर्षाले पहाडमा पनि ठूलो क्षति हुनपुगेको छ । यसको कारणहरुमा योजनाविहीन कच्ची ग्रामीण सडक निर्माणले गर्दा जतापायो त्यतै डोजर चलाउने र पैसा असुल्ने परिपाटिले सडक आसपासका जमीन कमजोर बन्न गयो र पानी परेपछि पहिरोजान थाल्यो । सुनिन्छ, कतिपय जिल्लाहरुमा त जो स्थानीय निकायका राजनीतिक पदाधिकारीहरु छन्, उनीहरु नै डोजरका मालिक छन् । त्यसैले, उनीहरुलाई त जतिसकेको डोजरले खन्नु र खोस्रनु छ त्यसैमा मिनेट मिनेट हिसाब गरेर रकम असुली गर्नुछ ।

ग्रामीण क्षेत्रमा डोजरले विकासभन्दा पनि प्रकृतिलाई विध्वंस पार्ने कार्य गरेको छ । गृहमन्त्री रामबहादुर थापाले पनि भनेका छन् कि ‘विकास नीति भनेकै डोजर नीति भएकोले यस्ता विपद्को लागि डोजर सहयोगी भएकाले यसलाई परिवर्तन गर्नुपर्दछ’ भन्दै लेखापढी अनलाइन पत्रिकाले मिति श्रावण ८, २०७७ मा प्रकाशन गरेको गरेको छ ।

यसको साथै, कच्ची सडक निर्माणको क्रममा त्यहाँबाट निस्केको माटो जताभावी फाल्नाले वर्षादको बेलामा पानीसँगै भेल बनी बग्नाले त्यस्ता सडकभन्दा तलतिरको खेतियोग्य कृषि जमीन बिग्रनुको साथै बाढी पहिरोको चोट थपियो । यसको मुख्य स्रोत स्थानीय निकायका पदाधिकारी, योजनाकार र जनताहरु नै हुन्भन्दा पनि अत्युक्ति नहोला । किनकि, हामीले घरसम्म जानको लागि मापदण्ड बेगर कच्ची सडक तथा भित्री गल्लिहरुको निर्माण गरेका छौँ जुन बाढी, पहिरोको थप समस्याभएको कुरा पालुङ्टार नगरपालिकाकी उपमेयर पम्फा बसेलले बताएको कुरा ताजा पत्रिकाले मिति साउन १६, २०७७ मा ‘पूर्वाधार विकास निर्माणमा ध्यान नदिँदा बाढी पहिरोको खतरा बढ्यो शीर्षक’को लेखमा प्रकाशन गरेको छ । तत्कालिन रुपमायसले हामीलाई सहजताजस्तो देखिएता पनि दीर्घकालीन रुपमा यसले ठूलो विपत्ति निम्त्याउने हुन्छ ।

हामीले सडक निर्माण तथा पुननिर्माण जस्ता पूर्वाधार विकासमा ध्यान नदिँदा वर्षा यामको समयमा यस्ता समस्याहरु झनै पीडादायीको रुपमा आउने हुन्छ । यस्ता कार्यहरुको शुभारम्भ मै सडकको वल्लो छेउदेखि पल्लो छेउसम्म एकै चोटि भत्काएर लथालिङ्ग बनाईन्छ । अझ ठेकेदारहरुको मनोमालिन्यताले तोकिएको समयावधिमा कार्य सम्पन्न नगरी पहुँचको भरमा वर्षौ दिनबित्दा पनि कार्य सम्पन्न गरिदैनँ । यसको उदाहरणको लागि काठमाडौँबाट टाढा जानै पर्दैन काठमाडौँबाट नुवाकोट जाने तीनवटा सडक खण्डहरु र काठमाडौँदेखि जिरी, दोलखासम्मको सडकखण्डको पुननिर्माण कार्यलाई लिँदा पुगिहाल्छ । अर्को विडम्बना, नुवाकोट जाने सडक एकैचोटी भत्काइएकोले वर्षादको समयमा नुवाकोटबासीले नाकावन्दी जस्तै मार खेप्नुपरेको देखिन्छ । यसले गर्दा, वर्षादमा पहिरोगई खोलामा बाढीको कारण पानीको सतह बढ्न गई खेतियोग्य जमीनमा क्षति पुग्नुको साथै खोला तथा नदी तटका धनजन, पशुपन्छी, संरचनाको क्षतिको साथै पुलपुलेसा र बाटोघाटो अवरुद्ध बन्नपुगेको छ ।

शहरी क्षेत्र डुबान पर्ने कारणहरुले गर्दाजनजीवन अस्तव्यस्त भएको छ । यसमा खास गरेर जग्गादलाल, पालिका, मालपोत तथा नापी कार्यालयका पदाधिकारीहरु जिम्मेवार छन् । खोला तथा नदीको बहावक्षेत्रको वेवास्ता गर्दै बढ्दो शहरीकरणको उपज शहरी क्षेत्र आसपासमा खोलानालाको क्षेत्रफल खुम्च्याइएको छ । यसको उदाहरणको लागि काठमाडौँको टुकुचा, विष्णुमती, सामाखुसी, घट्टे कुलो र भक्तपुर जिल्लाको हनुमन्ते र खस्याङखुसुङ खोला लगायत अन्य क्षेत्रका तमाम् मिचिएका खोल्सा, खोला र नदीहरुलाई लिन सकिन्छ ।

भवन निर्माणको नमूना मापदण्ड २०७१ को ४.५ अनुसार खोला तथा नदी किनारबाट ३० मिटर छाडेर संरचना निर्माण गर्न पाइने व्यवस्था छ भने ताल किनारबाट ५० मिटर र कुलो किनारबाट १० मिटरको दूरी छाडेर मात्र बनाउन सकिने व्यवस्था छ तापनि कतिपय पालिकाले यो दूरी नछाडिकन भवन निर्माण वा अन्य त्यस्तै संरचना निर्माणको लागि स्वीकृति दिन्छन् । अझै भन्ने हो भने राजकुलो, खोला, खोल्साहरु ढलान गरी छोप्नै पाइन्न तर यहाँका पालिकाले व्यक्तिसँगको मिलेमतोमा यसको पनिउल्लङ्घन गरेका छन् । त्यसैले, प्राकृतिक रुपमा बग्ने पानीको बहावलाई निचोरेर साँघुरो बनाउनुको साथै घरबाट निस्केको फोहरजन्य बस्तुपनि त्यहिँ फालिने भएपछि वर्षादको बेलामा पानीको सतह बढेर घर आगनमा पसेर बितण्डा मच्चाउनु स्वभाविकै हो ।

पुलपुलेसा, सडक निर्माण कार्यमा कमिशन तथा भ्रष्टाचारको कारण पनि कामको गुणस्तरमा कमीआई वर्षादको सानो भेलले पनि बिगार्ने, भाँचिने वा बगाउने गरेको पाइन्छ । अझै भन्ने हो भने, वर्षादमा पानी तथा भेलको उचाईको तह मापन आँकलन नगरी पुलपुलेसाको उचाई कम गर्ने र जग पनि मजबुद नहुँदा यस्ता समस्याहरु देखिन्छन् । यस्ता कार्यहरु सञ्चालन गर्नको लागि वातावरणीय प्रभाव तथा प्रदूषण पनि मूल्यांकन गरिनुपर्नेमा सो कार्यमा कमी हुनुको साथै भएका कतिपय कार्य पनि कागतमा मात्र सीमित राखी व्यवहारमा नउतारिँदा यस्ता समस्या निरन्तर उब्जिँदै आएको पाइन्छ ।

बाढी पहिरोको अर्को कारणमा भूमाफिया तथा भ्रष्टाचारीहरुको दबदबा पनि हो । उनीहरुले कुनै खोलाकिनारा तथा सार्वजनिक जमीनको नजिकै केही क्षेत्रफलको जमीन खरीद गर्छन् र पछि राजनीतिज्ञ तथा कर्मचारीहरुलाई प्रलोभनमा पारी वरीपरीका सार्वजनिक जमीन तथा खोल्साखाल्सीलाई कब्जा जमाइहाल्छन् । त्यसपछि, डोजर चलाई खोलाको आफ्नो बहाव क्षेत्रलाई संकुचन गरी प्रकृति स्वरुप र वनावटलाई ध्वस्त पार्ने कार्यले पनि कतिपय ठाउँमा यो समस्या उत्पन्न भएको छ । यसको ज्वलन्त उदाहरणको रुपमा काठमाडौँ परिसरकै खोल्साखाल्सी र नदीनालालाई लिँदा पनि काफी हुन्छ ।

यसको अलावा, कतिपय सडक आसपासका पहाडहरुमा बालुवाको खानीभएकोले वर्षादको बेलामा पानीले बगाएर ल्याउने भएकोले बालुवा ठेकेदारहरुले स्थानीयहरुको सहयोगमा त्यसरी बगेर आएको भलपानीलाई सडकतिर मोडेर बालुवा संकलन गर्ने कार्यले पनि सडक बिग्रने, सवारी दुर्घटना हुने वा अबरुद्ध हुने र कतिपय ठाउँमा पहिरो पनि जाने गरेको पनि पाइन्छ । यसको लागि बालाजु, काठमाडौँदेखि बिदुर, नुवाकोटसम्मको सडक खण्डलाई हेर्दा मात्र पनि पुग्छ ।

अझै खोला तथा नदीहरुबाट बालुवा, गिटी र ढुङ्गा झिकी प्राकृतिक सम्पदा दोहोन गर्ने कार्यले पनि नदीहरुमा पानीको बेग रोक्ने अवस्था नभएको र डोजरको कारण जमीनमा हलचल ल्याइएकोले बाढीको स्रोत बन्न पुगेको छ । यसको प्रत्यक्ष असर जलचर र रिभर ¥याफ्टिङ्गमा पर्न गई यसमा निर्भर पर्यटन व्यवसाय नै धरापमा परेको छ । यस्ता कार्यहरु उच्च तहका केही कर्मचारी, पुलिस तथा राजनीतिक व्यक्तित्वहरुको संलग्नता भएको पाइन्छ । त्यसैले पनि यस्ता कार्यमा सुधार हुनुको साथै दोहोन गरिने कार्य बढ्दो क्रममा छ । अझै कतिपय क्रसर उद्योगहरु विना स्वीकृत पनि सञ्चालन गरिएको छ । यसको उदाहरण काठमाडौँको नजिकै रहेका त्रिशुली, बुढीगण्डकी जस्ता नदीहरु दोहोनलाई लिन सकिन्छ । यस कार्य नियन्त्रणको लागि कुनै कर्मचारीले कार्यबाही प्रक्रिया अगाडि बढाउन खोजेमा रातभरमा उसको सरुवा अन्य त्रै भइसकेको हुन्छ । यो एक विडम्बना नै मान्नुपर्छ ।

जमीनमा रुख विरुवाको उपस्थिति तथा पातपतिङ्गरको खात भएमा वर्षादको पानी जमीनले राम्रोसँग सोस्ने भएकोले एकातिर जमीनभित्रका पानी काकुवा भरिँदा खोलामा पानीको स्रोत बलियो हुने र अर्को तर्फ पानीको बहाव रोकिँदै बग्ने क्रमले बाढी तथा पहिरो पनि रोकिने हुन्छ । तर मानिसहरुले वेतिथिले जंगल फडानी गर्ने र डढेलो लगाउनाले वर्षादको समयमा बाढी तथापहिरो निम्त्याएको हुन्छ ।

यसको अलावा हामीले गरिने अव्यवस्थित खेती प्रणालीले पनि भूक्षयीकरणको लागि सहयोग पुगेको छ । उदाहरणको लागि हामीले भिरालो जमीनमा गह्रा नबनाई खनिने वा माटो संरक्षणका अन्य उपायहरु नअपनाई गरिने कार्यले वर्षा याममा सबै माटो सजिलैसँग बगाउने र यसको कारण पहिरो पनि जाने हुन्छ । यसले खोला तथा नदीमा पानीको सतह बढ्न गई बाढीमा परिणत भई क्षति पु¥याउँदछ ।

त्यसैले, हामीले बाढी, पहिरो, डुबान तथा कटानमा जलवायु परिवर्तन वा प्रकृतिलाई मात्र दोष दिनु मुर्खताबाहेक केही हुँदैन । यसमा त हामी विभिन्न तह र तप्काका व्यक्तिहरु नै जिम्मेवार भएकोले यी समस्याहरु मानव सिर्जित कहर बन्दैछन् । हामी नागरिक तहदेखि राजनीतिज्ञ, विज्ञ र नीतिनिर्माण तहसम्मका संघ संस्था तथा व्यक्तिहरुले एकीकृत रुपमा मनसुनको समयमा हुने प्रलयकारी बाढी पहिरोलाई न्युनीकरणको लागि केही विशेष पाइलाहरु अवलम्बन गर्न नितान्त जरुरी देखिन्छ ।

सर्वप्रथम, स्थानीयस्तरमा निर्माण गरिने कच्ची बाटोको निर्माण कार्य रोक्ने र सोको उचित योजना बनाउँदा वातावरणीय प्रभाव अथवा प्रदूषण मूल्यांकनसहितको नक्शाङ्कनर अकल्पनीय प्राकृतिक बिपत्तिको आँकलन पनि गर्ने । विगतमा पहाडको भूगर्भको जानकारी नै नलिई पहाडको फेदीमा विना योजना असारे सडक निर्माण गर्ने वासालतमामीको लागि बजेट मात्र सक्ने गरी असारे पीच नगर्ने ।

सडक निर्माण तथा पुननिर्माणको कार्य गर्दा पुरै दूरीको कामको थालनी एकैचोटि गर्नुभन्दा पनि स्रोत अनुसार खण्डखण्ड गरी सोहि वर्ष काम सुरु गरी कालोपत्रेसहित काम सम्पन्न गर्ने र फेरि बाँकी कार्यको लागि अन्य वर्षहरुमा निरन्तरता दिँदै जाने । यसको अलावा, त्यहाँबाट निस्केको माटोको पनि वर्षादले नबगाउने गरी उचित किसिमले विस्थापन गर्ने । सडक निर्माण गर्दा अनिवार्य रुपमा सडकको दायाँवायाँ फलफूलका रुखहरु र घाँसे बालीहरु लगाउने । यसले गर्दा निर्माण कार्य सस्तो र गुणस्तरीय हुनुको साथै वर्षादमा बाढी पहिरोको स्रोत पनिबन्दैन । यदि पुरानो सडक निर्माण गरिएको हो भने पहिरोको कारण सडक अबरुद्ध पनिहुँदैन ।

कुनै पनि खोला तथा नदीको जलाधारको उचित संरक्षण गर्ने र खाली जमीनमा बृक्षारोपण गरी हराभरा बनाई भूक्षय रोक्ने ।

खोला तथा नदी नालाबाट गिटी, बालुवा तथा माटो दोहोन गर्ने कार्य तुरुन्त बन्द गर्ने । यसमा अझ पर्यटन क्षेत्रको रुपमा विकास गरिएको क्षेत्रको नदीहरुबाट नदी दोहोन कार्य रोक्न प्राथमिकतामा राखिनु पर्दछ । यदि निकाल्नै पर्ने भएमा त्यसको वातावरणीय असर मूल्यांकन गरेर स्वीकृति दिएर मात्र गर्ने र नियमित रुपमा अनुगमन निरीक्षण गर्ने ।

खोलानदीनालाको किनाराहरुतिर कमजोर भूवनोट भएको जमीनमा बस्ति बस्न योग्य छ छैन परीक्षण गरेर मात्र स्वीकृति दिने । यदि भूक्षय भइरहने क्षेत्रमा बस्ति छ भने उनीहरुलाई अन्यत्र सुरक्षित स्थानमा समुहमै जमीन र न्युनतम् आवश्यक पूर्वाधारको सुविधासहित स्थानान्तरण गराउने । यसको साथै विपद घटनामा तत्कालीन रुपमा उद्धार र दीर्घकालीनरुपमा पुननिर्माण कार्यलाई तीब्रतादिन जरुरी छ ।

भूमाफियाबाट कब्जावा अतिक्रमण गरिएका सरकारी वा सार्वजनिक खोल्साखाल्सी र नदीनालाको किनारको जग्गा तथा अन्य जमीनविगतको अन्तिम नापीको आधारमा पुननापी गरी नेपाल सरकारले फिर्ता लिने र बृक्षारोपण वा पार्कमा विकास गरी संरक्षण गर्ने ।

कुनै पनि देशहरुसँग गरिएका असमान सन्धी सम्झौताहरु खारेज गरी दुबै देशको समान हैसियत र समान फाईदा हुने किसिमले सम्झौता गर्ने र आगामी दिनमा कोशी बाधको तालाचावी नेपाल सरकारले नै लिने र एकतर्फी रुपमा सीमाको अन्तर्राष्ट्रिय कानुनलाई मिचेर निर्मित संरचनाहरु दुई देशबीच वार्तामा छलफल गरी हटाउने ।

कृषि जमीन भूक्षय हुनबाट जोगाउन वैज्ञानिक खेति प्रणाली अपनाउनुको साथै भिरालो जमीनलाई गह्रा बनाएर खेति गर्ने ।

कुनै पनि बहालवाला कर्मचारी तथा राजनीतिक नेतृत्वले डोजर, क्रसर उद्योग तथा ठेक्कापट्टाको काम गर्नबाट पूर्णरुपमा बन्देज लगाउने र उनीहरुको कुनै पनि किसिमले संलग्नता भएको पुष्ठि भएमा जागीरबाट बर्खास्त गर्नेसम्मको कानुनको व्यवस्था हुन जरुरी छ ।
सडक निर्माण तथा पुननिर्माणको कार्यले किसानहरुको साथै अन्य क्षेत्रमा परेको असरको सम्बन्धित सडक निर्माण वा मर्मत कम्पनिले उनीहरुलाई उचित किसिमको क्षतिपूर्ति दिने ।

वातावरणमैत्री प्रविधिहरुको अध्ययन, अनुसन्धान, विकास, प्रयोग र विस्तार गर्ने ।

जिल्ला जिल्लामा रहेको विपद् व्यवस्था समितिलाई सक्रिय रुपमा संलग्न गराउने र उनीहरुको नियमित रुपमा उनीहरुको कामको अनुगमन तथा मूल्यांकन गर्ने ।

कुनै पनि गलत मानसिकता बोकी देशको लागि आघात पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई हदैसम्मको कार्यबाही गर्ने ।

अन्तमा, यसको प्रभावकारी कार्यान्वयन गरी समधानको लागि सरकारी र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्न जरुरी देखिन्छ । यसमा संलग्न दातृ निकायहरुलाई सानातिना काममा भन्दा पनि विशाल बाँध तथा तटबन्ध निर्माणमा संलग्न गराईनुपर्दछ । बृक्षारोपण तथा यस सम्बन्धी ज्ञान प्रचारप्रसारको लागि स्थानीय निकायलाई नै उत्तरदायित्व बनाइनुपर्दछ जुन स्थायित्वपनि हुन्छ र स्थानीय व्यक्तिहरुले सहजै ग्रहण पनि गर्दछन् । यसको लागि हामीले निहित व्यक्तिगत र राजनीतिक स्वार्थभन्दा पनि माथि उठेर देशको विकासमा योगदान सक्नुपर्दछ । त्यसैले, हामीले आगामी निर्वाचनमा भ्रष्टाचारविहीन, दूरदृष्टि भएको र जिम्मेवार बहन गर्नसक्ने क्षमता भएको नेतृत्वको चयन गर्न जरुरी छ ।

वि.सं.२०७७ साउन १० शनिवार १५:३७ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...