१२ साउन, काठमाण्डौं । नेपालमा सोमबार एकैदिन ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज पर्सा निवासी एक भारतीय नागरिक सहित धनुषा र बाराका गरी तीनजनाको मृत्यु भएको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज पर्साको विरगन्ज महानगरपालिका वडा नं १० निवासी ६५ वर्षीय भारतीय नागरिकको आइतबार (साउन ११ गते) विहान मृत्यु भएको हो ।
मुटु तथा मधुमेहका समस्या भएका उनको गण्डक अस्थायी कोभिड १९ अस्पताल वीरगन्जमा उपचारका क्रममा कोरानाका कारण निधन भएको हो ।
त्यस्तै धनुषा सहिन नगरपालिका वडा नं ८ डुमरियाका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो तथा स्वास प्रस्वासमा समस्या भएपछि साउन १० गते प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा उपचारका लागि पुगेका उनको आइसीयुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजादै गर्दा बाटोमै सोमबार (साउन १२ गते) मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी बाराको फेटा गाउँपालिका वडा नं १ निवासी ६० वर्षीय पुरुषको पनि सोमबार (साउन १२ गते) कोरोना संक्रमणकै कारण मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा निमोनिया, मष्तिष्कघात र मिर्गौलाको समस्या भएको मन्त्रालयले जानकारी दिएको छ । आज पुष्टि भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो
वि.सं.२०७७ साउन १२ सोमवार १७:१२ मा प्रकाशित






























