back
CTIZAN AD

मुगुमा छायानाँथको छायाँ, यस्तो छ छायाँनाथ धामको महिमा (तस्बिर सहित)

वि.सं.२०७७ साउन १४ बुधवार

1.4K 

shares

१४ साउन, मुगु । कर्णाली प्रदेशकै प्रशिद्ध तिर्थस्थल मुगुको छायाँनाथ धाममा तिर्थयात्रा प्रारम्भ भएको छ । कोरोना भाइरस महामारीको जोखिम अबस्थामा पनि छायाँनाथ तिर्थयात्रा सुरु भएको छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिका-२ चैन गाउँको छायाँनाथ मन्दिरमा रहेको शिवजीको गाथ पुजारीले बोकेर बाजागाजा अघिपछि सुरक्षाकर्मी लागेर शंख ध्वनी बजाउदै तिर्थालुको लर्को छायाँनाथ तर्फ प्रस्थान गरेको छ । मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फु गाउँको हिमालमा रहेको छायाँनाथ मन्दिरमा चैन गाउँबाट शिबजीको गाथ लगिएको छ ।

हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथी देखि जनैपूर्णीमामा ५ दिन सम्म प्रसिद्ध धार्मिक तिर्थस्थल छायाँनाथ मन्दिरमा शिबजीको गाथ अर्थात ठाकुरज्युको मूर्ति लगेर पबित्र तिर्थयात्रा प्रारम्भ हुने गरेको छ ।

तिर्थालुको लर्को
छायाँनाथ दर्शन गर्नको लागि बिगत देखि अहिलेसम्म तिर्थालुको लर्को लाग्ने गरेको छ । छिमेकी राष्ट भारत तिब्बत बाट नआए पनि छिमेकी जिल्ला मुगु सहित हुम्ला, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, डोल्पा, लगायत जिल्लाबाट धामी, झाँक्री सहित तिर्थालु जनैपूर्णीमामा छायाँनाथ दर्शन गर्न लर्को नै लाग्ने गरेका छन् । जनपूर्णीमामा नसकिदा सम्म गमगढीदेखि माथि छायाँनाथ सम्म तिर्थालुको बाटोमा लर्को देखिने गरेको छ ।

छायाँनाथको पदमार्ग
छायाँनाथको पदमार्ग बिशेष गरेर मुगु गमगढी बजारदेखि मुगु कर्णाली नदीको किनारै किनार भएर छायाँनाथ धामसम्म पुग्न सकिन्छ । गमगढी बजारदेखि छायाँनाथ धाम सम्म पुग्न बिस्तारै हिडदा तीन दिन र छिटो हिडनेलाई दुई दिनमै पुग्न सकिन्छ ।

छायाँनाथ धाम जाँदा गमगढी, बजार, घाट, भट्टडाडी गाउँ, लुम्स, छाइल, माग्री, पुलु, तिहारबगर, चितै कुना, चितै गाउँ बाट छायाँनाथ पुग्न सकिन्छ । तिहारबगरबाट कोही किम्री परलोक हुदै छायाँनाथ पुग्ने गरेका छन भने कोही चितै गाउँ भएर जाने गरेका छन् । जता बाट गएपनि पदमार्ग उस्तै हो । गमगढी देखि चितै गाउँसम्म बीच बाटोमा होटलको सुबिधा भएको हुँदा तिर्थयात्रा गर्नेलाई खान बस्न असहज भने हुदैन ।

छायाँनाथमा लैजानु समान
प्रशिद्ध छायाँनाथ दर्शन गर्न जाने तिर्थयात्रीहरुले गमगढी बजार देखि आबश्यक समान सुरक्षित तरिका बाटै लैजादा सजिलो हुने गरेको छ । त्यहाँ किन्न नपाइने भएकोले बजार क्षेत्रबाटै किनेर लैजादा उपयुक्त मानिन्छ ।

टेन्ट, सिलिपिङ ब्यक, छाता, रेनकोट, बिष्कुट, सातु, चाउचाउ, चिउरा, जुस, घण्ट, धजा, फुल, अक्षेता, लगायत खानेकुरा बोकेर लैजादा सजिलो हुन्छ । छायाँनाथ जाँदा उकालो चढनुपर्ने भएकोले लेक लाग्ने हुँदा अमिलो खाने कुरा सहित लेक लाग्ने औषधि समेत बोकेर जाँदा सजिलो हुन्छ ।

हिमरेखामा छायाँनाथ
समुद्री सतहदेखि करिव ४५ सय मिटर उचाईमा छायाँनाथ घाम पर्ने गरेको छ । उक्त उचाई हिमरेखा नै मानिन्छ । असार साउन महिनासम्म पनि छायाँनाथको माथिल्लो भागमा हिउ नै जमेको देखिन्छ । त्यहाँ चिसो पनि उत्तिकै हुने गरेको छ ।

छायाँनाथ वरपर ढुंगे मन्दिर, चुन बुकी, बिभिन्न रंगका हिमाली फुल देख्न पाइन्छ । छायाँनाथमा पुगेपछि थकान सबै मेटिने र निकै आनन्द तथा शरिर फूर्तिलो हुने गर्दछ । शिबजीको तपले गर्दा तिर्थालुलाई कुनै चोटपटक लाग्दैन तिर्थालु बिरामी पनि हुदैनन भन्ने भनाई छ ।

छायाँनाथको छायाँ
प्राचिनकालमा शिब शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेको सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थल घामको रुपमा परिचित हुन गएको छ ।

छिमेकी राष्ट भारतमा बद्रीनाथ, केदारनाथ, छन् भने मुगुमा छायाँनाथ पर्दछ । छायाँनाथ दर्शन नै पबित्र मानिने गरेको छ । छायाँनाथमा ठूलो शिबको शक्ति भएको छायाँनाथका पुजारी लक्ष्मी प्रसाद चौलागाई भन्छन् । छायाँनाथमा तिर्थालुले मागेको बर प्राप्त हुन्छ निसन्तान ब्यक्ति छायाँनाथमा पुगेर बर माग्दा शन्तान प्राप्त हुने पुजारीको भनाई छ ।

कम्तीमा एक जनाले तीनपटक सम्म छायाँनाथ दर्शन गर्न सक्यो भने त्यो ब्यक्तिलाई चिताएको बर प्राप्त हुने धनसम्पती बृद्धी हुने,घरमा सुख शान्ति हुने, रोग ब्यथा कुलक्षित अन्त हुने छायाँनाथका अर्का पुजारी भिम प्रसाद चौलागाइको भनाई छ ।

छायाँनाथमा गरिने कार्य
पबित्र तिर्थस्थलमा जनैपूर्णमामा बिभिन्न पुण्यकार्य गरि पबित्र गर्ने गरिन्छ । दर्शन गर्न गएका धामी झाँक्रीहरुले पुजारीसँग बर अर्थात बिदो माग्ने, घण्ट माला चोख्याउने गर्ने गरेका छन । कोही छायाँनाथ बाटै नयाँ देवताको अबतार भएर धाँमी झाक्री बनेर पतुरदै आउने गरेका छन ।
बिशेष गरेर छायाँनाथमा ब्रतबन्ध, पिण्डदान, समेत गरिन्छ पापकट्टी समेत गर्ने गरेका छन । महिला पुरुषहरुले चिताएको पुरा होस् भन्ने पुजापाठ गर्ने र भेटि अक्षता फलफूल चढाउने गर्छन् ।

पबित्र धाममा जोखिम यात्रा
छायाँनाथ कर्णाली प्रदेशकै प्रशिद्ध तिर्थस्थल भएपनि मोटर बाटोको सुबिधा नहुँदा तिर्थयात्रीले जोखिम पूर्ण यात्रा गर्नु परेको छ तिर्थालुहरुले पिठ्यूमा गह्रुँगो झोला, हातमा लैरी र छाता बोकेर एक्काइसौं सताब्दीमा छायाँनाथ तिर्थयात्रा गर्नुपर्ने अबस्था छ । बिकासका नीति निर्मातालाई छायाँनाथ पबित्र तिर्थस्थल हो भनेर थाहा छ तर छायाँनाथको बिकासतर्फ उनीहरुको ध्यान गएको छैन । दैबिक शक्तिले गर्दा मात्र छायाँनाथमा जाने तिर्थयात्रीहरु सुरक्षित साथ जाने र आउने गरेका छन् ।
बाटो सहज छैन । मोटर बाटो पुरयाउन सकिन्थ्यो भने तिर्थालुको घुइँचो लाग्ने, बिदेशी पर्यटक पनि छायाँनाथ अबलोकन गर्न आउने, जिल्लाको आन्तरिक श्रोत बृद्धि हुने तथा गरिव स्थानीयले रोजगार पाउने सम्भावना हुन्थ्यो । मुगाली स्थानीयको निम्ति ‘डाँडापारि सुन छ कान मेरो बुचै छ’ भने जस्तै छ ।

भिरालो बाटमा बुट्यान ढुंगा समाउदैँ छायाँनाथ पुग्नु पर्ने अबस्था छ । प्रदेश सरकार र गाउँपालिकाले छायाँनाथको बाटो निर्माण, धर्मशाला निर्माण तथा हेलिप्याड निर्माण कार्य अघि बढाएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ । प्रदेश र संघीय सरकारले छायाँनाथ गुरु योजना नै बनाएर ठूलो हिस्साको बजेट बिनियोजन बिकासलाई गति दिनु पर्ने गाउँपालिका अध्यक्ष लामाको भनाई छ ।

तुहियो छायाँनाथ हेलिकप्टर चार्टर योजना
छायाँनाथ धाममा तिर्थयात्रीलाई दर्शन गराउनको निम्ति गतबर्ष सुरु गरिएको हेलिकप्टर चार्टर परिक्षण फलाइट ओझेलमा परेको छ । छायाँनाथ पुग्न तिर्थयात्रीलाई जोखिम हुने भन्दै सहजको निम्ति भिजिट कर्णाली टुर एण्ड ट्राभल्सका प्रर्बन्धक राजु कार्कीको पहलमा रारा बिमानस्थलदेखि छायाँनाथसम्म हेलिकप्टर चार्टड उडानको परिक्षण फलाईट सुरु गरेपनि उक्त कार्य बीचमै तुहिएको छ ।

उक्त हेलिकप्टर चार्टर फलाइट नियमित हुन सकेको भए तिर्थयात्री छायाँनाथ जान प्रतिस्पर्धा गर्ने । छायाँनाथको प्रचार प्रसार हुने र छिमेकी जिल्लाका तिर्थालु समेत छायाँनाथ दर्शन गर्न आउने ठूलो सम्भावना हुन्थ्यो ।


बाहिरी जिल्लालाई रोक
छायाँनाथ धाममा भक्तालुको धेरै भिडभाड हुने भएकाले कोरोना महामारी फैलिने डरले बाहिरी जिल्लालाई नआउन पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन् ।

फोटो ग्राफरहरु:  कबिराज कार्की, दानबहादुर बुढा र अच्यूतराज भण्डारी ।

वि.सं.२०७७ साउन १४ बुधवार १२:२४ मा प्रकाशित