न्युयोर्क, अमेरिका । न्युयोर्क शहरको क्वीन्स बोरो प्रेसिडेन्टको लागि डेमोक्रेटिक पार्टीको प्राईमेरी चुनाव यहीँ जुन महिनाको २३ तारिखमा सम्पन्न भएको थियो ।
यस चुनावमा डेमोक्रेटिक पार्टीका पाँच उम्मेदवार थिए जसमा न्युयोर्क शहरका काउन्सीलमेन डोनाभन रिचार्ड्स विजयी भए।
विजयोत्सव मनाउन र डोनाभन रिचार्ड्सलाई चुनावमा सहयोग गर्ने अमेरिकन ऐसियन र अमेरिकन क्यारेवियनका नेताहरुलाई काउन्सीलमेन डोनाभन रिचार्ड्सले स्वयम् आयोजना गरेको धन्यवाद एवम् रात्रिभोज कार्यक्रममा १७ समुदायका नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली अमेरिकनको तर्फबाट गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सहभागिता रहेको थियो।
उपस्थित सबै समुदायका नेताहरुले डोनाभन रिचार्ड्सलाई आ–आफ्नो तर्फवाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले डोनाभन रिचार्ड्सलाई नेपाली टोपी, नेपाली दोसल्ला र नेपालको झण्डा भएको कोट पीन लगाइ दिएर स्वागत गरेका थिए । उनले रिचार्ड्सलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिएका थिए ।
रात्रिभोज कार्यक्रमको अन्त्यमा काउन्सीलमेन डोनाभन रिचार्ड्सले सबै उपस्थित नेतागणहरुलाई धन्यवाद प्रकट गर्दै भोलिका दिनहरुमा यसै गरी सँगै हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।
वि.सं.२०७७ साउन २० मंगलवार १३:३७ मा प्रकाशित



























