२१ साउन, काठमाण्डौं । वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूमा कोरोना संक्रमण भएपछि आइसोलेशमा रहँदाको बखत मनमा आएका भावनाका बारेमा बताएका छन् ।
प्लाज्मा थेरापी विधिबार कोरोनाको उपचारपछि स्वास्थ्य लाभ गरिरहेका डा. कार्कीले कोरोना संक्रमण भएका बेला अर्कै प्रकारको सोच आएको बताएका छन् । उनले ‘म मर्छु कि’ भन्ने आभास हुन नदिएको समेत बताएका छन् ।
विराट मेडिकल कलेजका सिइओ रहेका छोरालाई सम्झाउँदै उनले भने– ‘ मृत्यु शैथ्यामा पुगे पनि राम्रोसँग हेर्नु भनेर छोरालाई सम्झाए । आउने जाने यस्तै हो संसारमा भनेर सम्झाए । मैले कमाएको यहि चेहरा रहेछ भन्ने लाग्यो । सुन चाँदी, गाडी, बंगला सम्पत्ति केही होइन रहेछ । चेहरा नै वास्तवमा धन रहेछ ।’ अन्नपूर्णपोष्ट दैनिक पत्रिकासँग कुरा गर्दै उनले भनेका छन, ‘मलाई जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट लागिरहेको छ । म यस संसारमा किन, के गर्न आएको हुँ ? त्यसको परिभाषा खोज्ने मौका पाए । ६० वर्ष हुँदा नभोगेको क्षण मैले दुई–चार दिन महसुस गर्न पाए । आँखाकै अगाडि जीवन खोजे । नयाँ चुनौती थपिएको छ । चुनौती नभए संघर्ष हुँदैन । संघर्ष नभए सफल भइदैन । यस्ता घटनाले संघर्षतर्फ डोहोर्याउने रहेछ । जीवनको जुन परिभाषा गरे त्यसबाट म एकदमैं खुसी छु । म भन्दा माथि संस्था हो । छोराहरुलाई संस्कार दिएको रहेछु । मलाई केही भइहाल्यो भने पनि केही नहुने गरी संस्थाको तयारी गरेको रहेछु । संस्थाभन्दा माथि देश हो । संस्थाको होस् कि देश, व्यक्ति होइन बिधिबाट चल्नुपर्छ ।’
मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. कार्की कोरोना संक्रमण भएको पुष्टि भएपछि हेलिकप्टरमार्फत् काठमाण्डौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शैथ्यामा आराम गरिरहेका छन् ।
कोरोना संक्रमितलाई दुव्र्यवहार होइन मायाको खाँचो रहेकोले उनीहरुलाई सद्भाव, प्रेमको आवस्यकता पर्ने हुनाले त्यस्तो व्यवहार गरिनुपर्ने डा. कार्की बताउँछन् । उनी भन्छन्-‘कोरोना भन्दा पनि मुटुको समस्याले मानिसहरु मरिरहेका छन् ।’
उनले नेपालीहरुहरु विदेशमा बहादुर हुन्छौ भनेर चिनिएको बताउँदै अब बहादुरीलाई विवेकमा बदलेर सिंगो नेपाल र नेपालीका लागि सोचेर कामगर्ने तथा एक ढिक्का भएर कोरोना पराजित गर्ने समय आएको समेत बताएका छन् ।
वि.सं.२०७७ साउन २१ बुधवार ११:२६ मा प्रकाशित






























