२२ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगम व्यावस्थापनले कोरोना उद्धार उडानमा पाइलटलाई काखा र पाखा गरेको भेटिएको छ ।
गत जेष्ठ ३२ देखि निगमले केही पाइलटलाई झन्डे १ सय घन्टा उद्धार उडानमा सहभागी गराउँदा वषौँदेखि काम गरेका वरिष्ठ क्याप्टेनहरुलाई भने एउटा पनि उडान नदिइएको पाइएको छ ।
निगम व्यावस्थापनको मुख्य निकाय अप्रेसन विभाग प्रमुख दीपुराज जुहार्चनले आफ्ना नजिकालाई मात्रै उडान गर्न दिइरहेको पाइएको छ । ३२ जेठदेखि ६ साउनसम्मको उडानतालिकामा निश्चित क्याप्टेन र को-पाइलटलाई मात्रै उडानको अवसर दिइएको विहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
निगमले तेस्रो चरणसम्म ७३ उडान गरेर १३ हजार ७ सय ९६ यात्रुलाई सेवा दिएको छ । चौथो चरणको उद्धार उडान १८ वटा गर्दै छ ।
संकटको समयमा सबै पाइलटलाई समानुपातिक उडान दिनुपर्नेमा आफन्त र नजिकका आसेपासेलाई मात्रै अवसर दिएको पाइएको छ ।
खासगरी एयरबस ३२० सिरिजका दुई थान न्यारोबडीको उडानमा क्याप्टेन र को–पाइलटलाई बढी भेदभाव गरिएको देखिन्छ । दुई थान जहाजका लागि ३३ जना क्याप्टेन र को–पाइलट छन् । उडान गर्दा पाइने भत्ता तथा अन्य सुविधाका कारण अप्रेसन विभागको मिलेमतोमा भेदभाव भएको हो ।
वि.सं.२०७७ साउन २२ बिहीवार १०:०७ मा प्रकाशित




























