काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सञ्चारमाध्यमका सम्पादकसँग कुनै छलफलको कार्यक्रम आयोजना नगरिएको बताएको छ ।
केही सञ्चार माध्यममा सम्पादकसँग छलफल गर्न कार्यक्रम बनाइएको बारे चर्चा चलेको प्रति सचिवालयले चर्चा मिथ्या भएको स्पष्ट पारेको हो । प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले संसार न्युजलाई बताएअनुसार अध्यक्ष प्रचण्डले कुनै पनि मिडियाका सम्पादकसँग छलफलको कार्यक्रम बनाएका छैनन् ।
‘सम्पादकसँग छलफलको कार्यक्रम आयोजना गरिएको र स्थगन गरिएको चर्चा पुरै मिथ्या हो । खै कसले गरेछ यस्तो चर्चा ।’ जुगलले भने, ‘अध्यक्ष ज्यूले कुनै पनि मिडियाका सम्पादकसँग अहिले कुनै छलफलको कार्यक्रम राख्नुभएको छैन् ।’
उनले यसअघि प्रेस संगठनका पत्रकारको बेग्लै भेला गरिएको भनेर अफबा फैलाइएको समेत बताए । नेकपा बिट हेर्ने पत्रकारसँग गरिएको सामुहिक छलफललाई गलत ढंगले चर्चा चलाइएको उनको भनाई छ ।
नेकपाभित्रको अन्तरसंघर्षबारे गलत चर्चा गरिएको भन्दै अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललगायतको उपस्थितिमा बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजमा नेकपा बिट हेर्ने पत्रकारसँग छलफल गरिएको थियो । जसलाई प्रेस संगठनको बेग्लै भेला भनेर चर्चा गरिएको थियो ।
सम्बन्धित समाचार
प्रचण्ड सचिवालयको स्पष्टीकरण : प्रेस संगठनको भेला बोलाइएको होइन्, प्रेस ब्रिफिङ्ग मात्रै हो
वि.सं.२०७७ साउन २३ शुक्रवार १४:३६ मा प्रकाशित





























