back
CTIZAN AD

सिमसिम पानीमा बिरामी डोकोमा

वि.सं.२०७७ साउन ३२ आइतवार

696 

shares

३२ साउन, जाजरकोट । शुक्रबार भेरी नगरपालिका–११ मा एकनासले सिमसिम पानी परिरहेको थियो । सिमसिमे पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए ।

सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा चौरजहारी अस्पतालमा बिरामी ल्याउन बाध्य भएको पानीमा भिजेका श्याम विकले बताए ।

“हाम्रो गाउँमा सडक पुगेको छ, तर हामीसँग गाडीमा बिरामी लैजानका लागि पैसा छैन । गाडीलाई दिने पैसाले उपचार गर्न सजिलो होला भनेर डोकोमा बोकेर ल्याएका छौँ”, उनले भने, “बिरामीलाई स्वास्थ्य लैजाने पैसा छैन भनेर हारगुहार धेरै ठाउँमा गरेका थियौँ तर हाम्रो कुरा कसले पो सुन्थ्यो र रु गाडीवालाले पनि डोकोमै बोकेर चार घण्टामा पुगिने ठाउँमा रु १५ हजार भन्छन्, यत्रो पैसा कहाँबाट दिनु र”

भेरी नगरपालिका–११ को दलित बस्तीमा बिरामी हुने अधिकांश सर्वसाधारण बिरामी हुँदा डोकोमा राखेर उपचार गर्न ल्याइने गरेको अर्का स्थानीयवासी घनश्याम विकले बताए ।

उनले भने, “कतिले त उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । उपचार गर्ने पैसा छैन, रोग पालेर बस्दाबस्दै धेरैको ज्यान गएको छ ।”

उनका अनुसार पहुँच हुने र हुनेखानेले घरको प्राङ्गणमै गाडी ल्याएर बिरामीको उद्धार गरी सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजान्छन् तर गरिबले भने सिटामोल किन्ने पैसा नहुँदा दैनिक हारगुहार माग्नुपरेको अवस्था छ । “बाह्र जना दलित समुदायका सर्वसाधारण घरबारविहीन अवस्थामा छन्”, स्थानीय युवा अमृत विकले भने, “गाँस र बासको ठेगान नभएका सर्वसाधारण बिरामी हुँदा झन् के हालत होला र”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका दलित सर्वसाधारणको समयमा उपचार नपाएर अकालमै ज्यान जाने गरेको छ । आर्थिकरूपमा कमजोर रहेका दलित समुदायका मानिस रोग पालेर मृत्युको मुखमा पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाको कम पहुँच रहेको बारेकोटमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या ठूलो छ । स्वास्थ्य संस्थामा आउन र जानका लागि मात्र एक दिनभरि लाग्ने बारेकोट गाउँपालिकाका विभिन्न बस्तीमा प्रभावकारी उपचार सेवा पाउन मुस्किल भएको बारेकोट–५ का दानबहादुर विकले बताए ।
सबै ठाउँमा फोन नलाग्ने भएकाले कतिले कहाँ ज्यान जान्छ थाहासमेत नहुने गरेको विकले बताए ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा समेत प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा धेरैको ज्यान जाने गरेको छ । वडकुलेको स्वास्थ्य संस्था निर्माण गर्न लागेको नौ वर्ष बित्यो, अहिलेसम्म निर्माण पूरा भएको छैन । गाउँपालिकाको पहलमा अहिले गर्खाकोटमा चिकित्सक ल्याएर गाउँमै उपचार गर्ने वातावरण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

“अझै गाउँगाउँमा स्वास्थ्य संस्था छैनन्, कतिको उपचार नपाएर मृत्यु हुन्छ होला हामीसम्म सूचना नै पुग्दैन”, शाहीले भने । आर्थिक हैसियत भएकाहरु सुविधासम्पन्न ठाउँमा गएर उपचार गर्ने तर गरिबहरु उपचार नपाएर ज्यान गुमाउने अवस्था रहेको उनले बताए ।

जिल्लाका अधिकांश दुर्गम गाउँमा आर्थिक हैसियत कमजोर भएका सर्वसाधारणको उपचार नपाएर मृत्यु हुने गरेको छ । दिनभरि हिँडेर स्वास्थ्य संस्था आएर जाँच गर्दा सिटामोलबाहेक अरु केही नपाइने भएपछि स्थानीय स्वास्थ्य संस्थाप्रतिको विश्वाससमेत गुम्दै गएको छ । गाउँगाउँमा रहेका औषधि पसलले जथाभावी औषधि दिँदा स्वास्थ्य संस्थाको औषधिले काम नै नगर्ने अवस्थामा पुगेको स्वास्थ्य सेवा कार्यालयका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले जानकारी दिए ।

दुई महिनाको अन्तरालमा जाजरकोटमा ३० भन्दा बढी सर्वसाधारणको उपचार नपाएर मृत्यु भएको छ । गाउँमा कहाँ के भएको छ भन्ने सूचना पाउनै मुस्किल भएपछि उद्धारमा समेत कठिन भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । गाउँबाट सदरमुकाम ल्याइने अधिकांश बिरामी डोकोमै बोकेर ल्याउने गरिन्छ । रासस

वि.सं.२०७७ साउन ३२ आइतवार ११:०२ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...