back
CTIZAN AD

फेरि ओलीले एकलौटी नियुक्ती गर्न थालेपछि…

वि.सं.२०७७ भदौ ४ बिहीवार

696 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि पनि विवाद बढ्न थालेको छ । पार्टीभित्रको विवाद समाधान उन्मुख भईरहेको बेला प्रधानमन्त्री ओलीले विभिन्न निकायमा एकलौटी नियुक्ती गर्न थालेपछि विवाद बढ्न थालेको हो ।

गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेटेरै प्रचण्डले असन्तुष्टी जनाएका थिए । प्रचण्ड निकटका एक नेताले बताएअनुसार मंगलबारको भेटमा अध्यक्ष प्रचण्डले वातावरण बिगार्ने काम नगर्न आग्रह गरेका थिए । उनले एकलौटी नियुक्ति गरिनु गलत भएको बताएका थिए ।

कार्यदल अर्थहिन बन्दै

गत शुक्रबार दुई अध्यक्षबीच पार्टीभित्रको विवादको निकास खोज्न पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने समझदारी बनेको थियो । दुई अध्यक्षबीच भएको समझदारीअनुसार गठित कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले स्वागत गर्दै पारित गर्ने निर्णय पनि गरेको थियो ।

कार्यदललाई ५ दिनभित्र खाका प्रस्तुत गर्ने निर्देशन भएअनुसार कार्यदलले बुधबार पहिलो चरणको खाकासमेत प्रस्तुत गरेको छ । तर, पार्टी विवाद सहमती उन्मुख भईरहेका बेला पूर्व नियम कानूनलाई समेत उल्ट्याएर एकलाैटी नियुक्ती गर्न थालेपछि अध्यक्ष प्रचण्ड पक्ष सशंकित बन्न पुगेको छ ।
प्रचण्ड निकटका एक नेताले बताएअनुसार प्रधानमन्त्री ओली सहमती पालनामा खास इच्छुक देखिदैंनन् । ‘पार्टीभित्रको विवाद निकासको उपाय खोजी भईरहेको बेला विभिन्न महत्वपूर्णं निकायमा एकलौटी निर्णय गरिनुले सामान्य अर्थ राख्दैन्’ उनले भने, ‘प्रधानमन्त्री ओलीको शैलीले कार्यदललाई अर्थहिन बनाएको देखिन्छ ।’

ओलीले कहाँ–कहाँ गरे नियुक्ति ?

पार्टीभित्र प्याकेजमै सहमती खोज्ने प्रयास भईरहेको बेला ओलीले केहि महत्वपूर्णं निकायमा एकलौटी नियुक्ती गरेका छन् । उनले गत सोमबार बसेको मन्त्रिपरिषद बैठकलाई जसलाई कार्यान्वयन तहमा पनि लगेका छन् ।

ओलीले लामो समयदेखि रिक्त रहेका देशमा राजदूत नियुक्ती नगरेर बढि महत्वमा पर्ने देशका लागि राजदूत नियुक्ति गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गेहेन्द्रराज भण्डारी (बेल्जियम र यूरोपियन यूनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)को लागि राजदूत नियुक्तिको निर्णय गरेको थियो । तर लामो समयदेखि रिक्त श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा भने उनले खास चाँसो देखाएका छैनन् ।

साथै सोमबारको बैठकमार्फत ओलीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोकालाई नियुक्ती गरेका छन् भने कानून नै परिवर्तन गराएर दुर्गा भण्डारी (पौडेल)लाई प्रेस काउन्सिल नेपालको कार्यबहाक अध्यक्षमा पनि नियुक्ति गराएका छन् । जुन नियुक्तीको विषय अहिले सर्वौच्च अदालतसम्म पुगेको छ ।

पाँच/सात दिनभित्र निष्कर्ष निस्कन्छ : प्रचण्ड

यता प्रचण्डले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै आगामी ५/७ दिनभित्र नयाँ निष्कर्ष निस्कने विश्वास देखाएका छन् । उनले कार्यदलले पार्टीभित्रको समग्र विवादको प्याकेजमै निकास खोज्ने आशा गरे ।

टेलिभिजनसँगको अन्तरवार्तामा उनले भने, ‘मलाई लाग्छ ५/७ दिनभित्र पक्कै पनि एउटा नयाँ परिस्थिति बन्छ । सचिवालयको बैठक बस्यौं । हामीले कार्यदल बनाएका छौं । कार्यदलले काम गरिरहेको छ । मलाई लाग्छ हप्ता दिनभित्र एउटा नयाँ निष्कर्षसहित अगाडि जाने वातावरण बन्छ भन्ने मलाई लाग्छ ।’

वि.सं.२०७७ भदौ ४ बिहीवार १२:३९ मा प्रकाशित