काठमाडौं । प्रहरी प्रधान कार्यालयमै कोरोना संक्रमित प्रहरीको संख्या १६९ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएअनुसार प्रहरी प्रधान कार्यालयमा विभिन्न शाखामा कार्यरत १६९ प्रहरी कर्मचारी कोरोना संक्रमित बनेका हुन् । उनका अनुसार हाल केहि संक्रमित निको भएर पनि फर्किएका छन् ।
उनले जनाएअनुसार महानगरीय प्रहरीभित्र पनि ३८ जना प्रहरी कोरोना संक्रमित छन् । कडायतका अनुसार हालसम्म देशभर ७४१ प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमध्ये ४५७ प्रहरी कर्मचारी उपचारमै छन् । हालसम्म २८४ संक्रमित निको भएर पनि फर्किएको उनले जनाए ।
प्रवक्ता कडायतले जानकारी दिएअनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ६२, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
हाल अधिकांश संक्रमित अस्पतालमा छन् भने केहीलाई होम आइलोसेलन पनि पठाइएको प्रवक्ता कडायतले जानकारी दिएका छन् । उनका अनुसार लक्षण नदेखिएका तर कोरोना संक्रमण देखिएका केहीलाई होम आइसोलेसनमा बस्न सक्ने नीति आए बमोजिम होम आइसोलेसनमा पठाइएको हो ।
काठमाडौंका धेरै संक्रमितहरु प्रहरी अस्पतालमै रहेको उनले जानकारी दिए । उनका काठमाडौं बाहिरको हकमा संक्रमित प्रहरी कर्मचारीलाई त्यहीँका कोभिड अस्पतालमा उपचार गरिएको छ ।
संक्रमणको जोखिमलाई ध्यान राख्दै ड्यूटी मोडेल परिवर्तन
प्रवक्ता कडायतले जनाएअनुसार पछिल्लो समय कोरोना संक्रमित प्रहरीको संख्या बढेसँगै संगठनभित्र ड्युटी मोडेलमा परिवर्तन गरिएको छ । आवास र खानापानमा कसरी जोखिम मुक्त गराउने भनि विशेष तरिका अपनाइएको उनले जनाए । सरकारले बनाएका नियमलाई हाल प्रहरी संगठनभित्र पूर्णं प्रयोगमा ल्याइएको प्रवक्ता कडायतले जानकारी दिएका छन् ।
वि.सं.२०७७ भदौ ४ बिहीवार १५:३४ मा प्रकाशित






























