विश्वभरी फैलिएको कोरोना संक्रमण नेपालमा पनि तिब्ररुपमा फैलिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकार, स्थानीय निकाय, गाउँ टोल लगायतमा यसको रोकथामका लागि व्यापक रुपमा सचेतनाका कार्यक्रमहरु संचालन समेत गरिएका छन् । तर, एकजनाको सानो असावधानीका कारण नै कोरोनाले धेरैको शरीरमा बास पाउने हुन्छ । त्यसैले यसको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गर्न स्वास्थ्य विज्ञहरुले आम जनसमुदायमा निरन्तर अनुरोध गरिरहेका छन् ।
कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भइ हाल्ने र जोखिम बढ्ने गरेको पाइएको छ ।
बाहिर कोरोनाको जोखिम रहेको छ र तपाईलाई बाहिर नगइ नहुने काम आइलाग्यो भने संक्रमणको जोखिमबाट बचाउनका लागि यी उपाय अपनाउन सल्लाह दिन्छन् डा. वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल ।
जुन दिनदेखि लक्षण देखियो त्यहि दिनदेखी आइसोलेट हुनुहोस्
जुनदिनदेखि तपाईलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखियो, त्यहिदिनदेखि आइसोलेट हुनुहोस् ।
तपाईलाई जुन दिनदेखि लक्षण देखियो, ज्वरो आयो, घाँटी दुख्यो त्यहिदिन देखिनै आइसोलेट भएर बस्नुभयो भने अरुलाई संक्रमण हुने सम्भावना कम हुन्छ । त्यसैले ज्वरो आयो, घाँटी दुख्यो र खोकी लाग्यो भने आफूलाई अरुबाट टाढा राख्नुहोस् ।
तपाईले आज कुनै स्वस्थ्य व्यक्तिलाई भेट्नु भयो । उनमा कुनै लक्षण देखिएको छैन । तर, भोली उनलाई ज्वरो आयो भने तपाई जोखिममा हुनुहन्छ । २४ देखि ४८ घण्टा लक्षण आउनु अगाडि देखि उक्त व्यक्तिको शरीरमा भाइरस धेरै हुन्छ । सुरुकै केही दिनमा ज्वरो देखिनु भन्दा अगाडि नै उसको शरीरमा भाइरस लोड बढी हुन्छ । यदि त्यो व्यक्तिको सम्पर्कमा तपाई पुग्नु भयो भने उसलाई दुईदिनपछि ज्वरो आए पनि उसले तपाईलाई पहिले सारेको हुन सक्छ । त्यसैले भनिएको हो–दूरी मेन्टेन गर्नुहोस्, मास्क लगाउनुहोस् ।
लक्षण भए/नभएपनि यी कुरामा ध्यान दिऔं
डा. अनिलले लक्षण देखिए पनि नदेखिए पनि यी कुरामा ध्यान दिएमा संक्रमणबाट परिवारलाई बचाउन सकिनेमा सजग गराएका छन् ।
तपाईको परिवारमा ५/७ जना हुनुहुन्छ र कोहि एकजना मात्रै अफिस या बाहिर काममा जान्छन् भने त्यो पूरै परिवार जोखिममा हुन्छ । उक्त व्यक्तिले धेरै साबधान अपनाउनुपर्ने डा. अनिलको सुझाव छ ।
उनका अनुसार समुदायमा कोरोना संक्रमण तिब्र रुपमा फैलिइसकेको छ भने जस्तै वीरगन्ज, विराटनगरलगायतका सहरमा संक्रमण तिब्र रुपमा फैलिए जस्तै अन्य सहरमा पनि फैलन सक्ने र त्यतिबेला घरभित्रै पनि मास्क लगाएर बस्नुपर्ने अवस्था आउने छ ।
त्यस्तो अवस्थामा जो व्यक्ति बाहिरबाट आउँछ, घरकै सदस्य भएपनि, उ धेरैको सम्पर्कमा छ र उ जोखिममा छ भने उसलाई लक्षण नदेखिए पनि उक्त व्यक्ति जोखिममा रहेको हुन्छ । त्यस्ता व्यक्तिले मास्क लगाएर घरमा बस्यो भने उसले अरुमा संक्रमण सार्न नसक्ने डा. अनिल बताउँछन् । ‘जब लक्षण देखिन्छ त्यतिबेला उ आइसोलेट भएर बस्नुृपर्छ । तर, नदेखिँदासम्म उसले घरभित्र पनि मास्क लगाउनुपर्छ ।’
चीनमा कोरोना फैलिइसकेको अवस्थामा चीनमा गरिएको एक अध्ययनमा जुन परिवारका व्यक्तिहरु मास्क लगाएर बसे, उनीहरुमा कोरोना संक्रमण एकदमै कम देखिएको र जसले लगाएनन् लक्षण देखिएपछि आइशोलेशनमा बसेपनि परिवारका अन्य सदस्यमा पनि संक्रमण देखिएको डा. अनिलले बताएका छन् । डा. अनिल सुझाव दिन्छन् घरमा लगाउने र बाहिर लगाउने मास्क छुट्टै हुनुपर्ने बताउँछन् ।
श्रीमती छोराछोरीसँग सँगै नसुत्नुहोस्
त्यस्तै यदि तपाई रेगुलर बाहिर जानुहुन्छ भने तपाई घरमा छुट्टै सुत्नुहोस् । श्रीमती, बच्चा तथा परिवारका सदस्यसँग नसुत्नुहोस् । सँगै सुत्दा श्वास प्रस्वासबाट जति भाइरसहरु निस्कछन् त्यस्तो बेला तपाईसँगै सुतेको व्यक्तिमा सक्रमण हुने सम्भावना बढी हुन्छ । घन्टौ नजिक रहँदा संक्रमणको जोखिम उच्च हुन्छ ।
घरका सबै झ्याल ढोकाहरु खुला राख्नुहोस्
त्यस्तै घरमा, बैठम कोठामा झ्यालहरु छन् भने त्यसलाई पूरै खोलेर राखिदिनुहोस् । र रातिपनि झ्याल खोलेर राख्नुहोस् । घरमा यदि भेन्टिलेशन छन् भने हावाका कारण भाइरसको संख्या कम हुँदै जान्छन् ।
घरभित्रै पनि दूरी कायम गर्नुहोस्
तेश्रो घरमा जति मानिसहरु बस्नुहुन्छ त्यसमा पनि दूरी कायम गरेर बस्नुहोस् । यदि घरमा धेरै कोठा छन् भने सबैजना फरक–फरक कोठामा सुत्नुहोस् । यस्तो गर्नाले यदि कसैमा भाइरस संक्रमण छ भने अन्यमा नसर्ने सम्भावना धेरै हुन्छ ।
यदि घाँटी दुख्यो, थकाइ लागेको अनुभव भयो र ज्वरो आउला जस्तो भयो तथा ज्यान दुख्यो भने हाइ अर्लटमा गइ हाल्न डा. अनिल सुझाव दिन्छन् । जुन ठाउँमा संक्रमण बढी छ त्यो ठाउँका व्यक्तिले यस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ । साथै कम संक्रमण देखिएका ठाउँमा पनि यो अभ्यास गरेमा परिवारलाई जोखिमबाट बचाउन सकिने डा. अनिल सुझाव दिन्छन् ।
वि.सं.२०७७ भदौ ४ बिहीवार १४:५४ मा प्रकाशित






























