४ भदौ, काठमाडौं । निषेधाज्ञाको समयमा प्रशासनले अवलम्बन गरेको रबैयाका कारण काठमाडौं उपत्यकामा माहामारीको जोखिम झनै बढ्ने देखिएको छ । दिनभरी अत्यावश्यकलगायतका सबै पसलहरु बन्द गराउने र बिहान सीमित समयमा मात्रै खुलाउने गर्दा मानिसहरुको भीड झनै बढ्न जाँदा माहामारीको जोखिम बढ्न गएको हो ।
उपत्यकाभित्र प्रशासनले बिहान ७ बजेदेखि सम्पूर्ण पसलहरु बन्द गराउने उर्दी जारी गरेसँगै अधिकांश पसलहरुमा बिहानको समय भीड लागेको थियो । खाद्यान्न, फलफूल तथा तरकारी पसलहरुमा निकै मानिसहरु जम्मा भएका थिए । जसप्रति सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रशासनको अलमल्याउने निर्देशन, वित्तिय क्षेत्र समस्यामा
काठमाडौं उपत्यकाका तिनै जिल्ला प्रशासनले निषेधाज्ञाको समयमा अति आवश्यकीय सेवाहरु खुल्ला गर्ने नीति लिएका थिए । जसमा बैंक तथा वित्तिय संस्थाहरुलाई पनि निर्वाध सञ्चालन गर्न दिइने बताइएको थियो । तर, प्रशासनको अलमल्याउने निर्देशनसँगै वित्तिय संस्था र तीनमा काम गर्ने कर्मचारीले भने निकै सास्ती व्यहोरे ।
कर्मचारीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्म तथा बेलुका ३ बजेदेखि ५ बजेसम्म सम्बन्धीत कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा आवतजावत गर्न दिइने जानकारी गराइएको थियो । तर, प्रशासनले कर्मचारीलाई बीच बाटोबाटै फिर्ता गरिदिएको थियो । जसको कारण कर्मचारीले त सास्ती पाए, सँगै अधिकांश वित्तिय संस्थाहरु समेत खुल्न पाएनन् ।
समन्वयमा समस्या
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार राष्ट्र बैंकले बुधबार नै बैंक तथा वित्तिय संस्थाहरूलाई सञ्चालन गर्न र कर्मचारीहरूलाई आवात–जावत गराउन दिनेबारे गृह मन्त्रालयसँग अनुमति लिएको थियो । राष्ट्र बैंकले पत्रमार्फत नै यसबारे गृहसँग अनुमति मागेको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले पनि बैंक तथा वित्तिय संस्थाहरु खुल्ने र कर्मचारीहरूलाई आवात–जावतमा समस्या नहुने बताएका थिए ।
तर, बिहिबार प्रहरी र प्रशासनबीचको समन्वयन नहुँदा धेरै कर्मचारीले सास्ती ब्योहर्न बाध्य भए । बैंकका कर्मचारीहरु रोकिन थाले पछि राष्ट्र बैंक नियमन विभागले जिल्ला प्रशासन कार्यालयसँग चाँसो राखेपछि मात्रै ११ बजेपछि सहज भएको थियो । जसका कारण बैंक तथा वित्तिय संस्था ढिलो गरि खुलेका थिए ।
प्रशासन र प्रहरीबीच समन्यन नहुँदा पसलहरुमा भीड
अत्यावश्यकीय पसलहरुमा भीड हुनु पछाडिको कारण जिल्ला प्रशासन र प्रहरीबीच समन्वयन नभएको देखिन्छ । जसको साँक्षी बिहिबारको घटना र भएका निर्देशनहरु हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले संसार न्यूजसँगको कुराकानीमा अत्यावश्कीय सामाग्रीका पसलहरु निर्बाध ढंगले सञ्चालन हुने जानकारी दिएका थिए । उनले तरकारी, खाद्यान्न, फलफूल तथा औषधि पसलहरुलाई निर्बाध सञ्चालन गर्न दिने भनेका थिए । तर, उनले भनेको यो कुरा त्यतिखेर गलत साबित भयो जतिखेर प्रहरी माईकिङ गर्दै बिहिबार बिहान ७ बजेसम्म मात्र खोल्न पाउने बताएको थियो ।
यस बिषयमा हामीले पुनः काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टसँग सोध्यौं । हाम्रो जिज्ञासामा उनले अहिले छलफल चलिरहेको र भोली (शुक्रबार)देखि खाद्यान्नलगायत अत्यबस्यकीय सामाग्रीहरुका पसल व्यवसाय बन्द नगर्ने बताए । उनको यो भनाईमा प्रशासन र प्रहरीको समन्वय नभएको स्पष्टै झल्किन्थ्यो ।
यस्ताे थियाे राष्ट्र बैंक र जिल्ला प्रशासनकाे सूचना

वि.सं.२०७७ भदौ ४ बिहीवार १४:१९ मा प्रकाशित






























