बनेपा – बनेपा विदेशबाट फर्केका युवाहरुले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ८ मल्पिमा सामूहिक व्यवसाय शुरुआत गरेका छन् । ‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी उनीहरुले ११ रोपनी जग्गामा गत कात्तिकबाट संरचना निर्माण शुरु गरी भैंसी र गाई पाल्न थालेका हुन् ।
एक÷एक लाख जम्मा गरी २४ युवाले व्यवसाय शुरु गरेका थिए । अहिले भैंसी, गाई र धान खेती समेत गरिएको छ । पैसा कमाउनको लागि युवाहरु विभिन्न खाडीमुलुक तथा अन्य देशमा जानुपर्छ भन्ने सोचाइको अन्त्य गर्न आफूहरुले व्यवसाय शुरु गरेको उनीहरुले जनाएका छन् । साथै स्वदेशमा नै विभिन्न व्यवसायमा लागेर आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ सामूहिक रुपमा काम थालनी गरेको उनीहरुको भनाइ छ । “विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम शुरु गरेका छौँ ।” उनीहरु भन्दछन्, “यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरु दाजुभाईलाई पनि स्वदेशमा नै केही गर्न प्रेरणा दिन सक्छौं भन्ने संकल्प लिएका छौं ।” विदेशमा आफूहरुले भोग्नुपरेका दुःख सम्झेर नेपालमा नै केही गरेर देखाउने उनीहरुको भनाइ छ । तर अहिले कोभिड–१९ को प्रभावको कारण सोचेजस्तो काम गर्न नपाएको उनीहरुले जनाएका छन् ।
सामूहिक रुपमा कृषि कार्यमा लागेका युवाहरुको योजना कोरोना भाइरस प्रभावका कारण थप अगाडी बढ्न सकेको छैन । पनौती नगरपालिका– ४ मा बसोबास गर्दै आउनुभएका दिनेशकुमार बजगाईंले कोरोना भाइरस प्रभावका कारण सोचेजति व्यवस्थित र स्तरबृद्धि गर्न नपाएको जानकारी दिए । उनको नेतृत्वमा व्यवसायमा सम्लग्न २४ जना युवाहरुमध्ये श्यामहरि महाजु, बुद्धिमान वि।क, राजकुमार थापा, रामेश्वर हुँमागाईं विशेष सक्रिय भएर काम गरिरहेका छन ।‘
प्रवासबाट आर्जित सीप ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नाराका साथ सामूहिक भैंसीपालन व्यवसाय शुरु गरेका हुन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भएकाले त्यसतर्फ लागेको उनले बताए। विदेशबाट फर्केकाहरुको संगठन ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रे शाखामा आवद्ध युवाहरुले सञ्चालन गरेको सो फार्ममा पाँच बर्षमा सय वटा भैंसी पु¥याउने, सय रोपनी जग्गा भाडामा लिने, त्यसमा भैंसीसंगै गाई, बाख्रा, कुखुरा हाँस, कालिज र टर्की पाल्ने योजना रहेको र केही जग्गामा गोठबाट उत्पादित मलको सदुपयोग गर्दै अर्गानिक तरकारी खेतीको पनि शुरुआत गर्न लागेको बुद्धिमान विकले जानकारी दिए ।
यसको लागि हाल ८० रोपनी जग्गा भाडामा लिइसकेको सस्थाका अध्यक्ष समेत रहनुभएका बजगाईले बताए । चार बर्षसम्म साउदीमा बसेर फर्किएका उनि साथीहरुसंगै सामूहिक व्यवसायमा लागेका हुन् । फरक फरक ठाउँका युवाहरु मिलेर सामुहिक रुपमा काम शुरु गर्दा जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेको उनले बताए । यसअनुसार कृषि फर्मको व्यवस्थापन तेमाल गाउँपालिका वडा न १ का आधाबाटका बुद्धिमान विकले गर्दै आएका छन् ।
हाल पनौती बस्दै आएका उनले अहिले फर्ममा ६ वटा भैंसी रहेको र एउटा गाई पालेका छन् । हाल दैनिक ५० देखि ५५ लिटरसम्म दूध उत्पादन गर्दै आएको छ । उत्पादित दूध संस्थाका शेयर सदस्य समेत रहेका यूवा ठेकदार विजय स्याङतानले किनेर खुवा बनाएर बेच्दै आउनुभएको छ । सबै कामकाज आफूहरुले मिलेर गर्ने गरेको र केहीलाई रोजगारी समेत दिइएको व्यवस्थापक विकले जानकारी दिए ।
विदेशबाट फर्किएका युवाहरुलाई उत्साह र उत्प्रेरणा दिने काम राष्ट्रिय युवा परिषद्ले गरेको र त्यसैको साथबाट अहिले सो अभियान थालेको बजगाईले बताए । युवाहरुको अभियानमा साथ दिएका छन्, पनौती ७ मल्पिका भिमसेन बस्नेतले । सिद्धार्थ बनस्थली इष्टिच्युटको प्राचार्यबाट अवकाश पाएपछि मल्पिमा रहेको आफ्नै घर नजिक बाख्रा फार्म सञ्चालन गर्दै आएका उनले आफु आवद्ध हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि। पनौती, इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था पनौती र छिमेकी बचत तथा ऋण सहकारी संस्था लि। पनौतीसंग मिलेर अभियानमा साथ दिदै आएको जानकारी दिए । “मेरो उद्धेृश्य भनेको केही गर्न लाग्नेहरुलाई साथ र हौसला दिनु हो ।” उनले भने, “यसमा म आफैपनि काममा सम्लग्न हुँदै आएको छु र गर्न खोज्ने साथीहरुलाई सहकार्य गर्दै आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने काममा सहयोग गर्दै आएको छु ।”
फर्मले शुरु गरेको काममा आफू अध्यक्ष रहेको हिमशिखरबाट पाँच लाख सहुलियत ऋण उपलब्ध गराईसकेको र त्यसलाई बढाएर दश लाखसम्म दिने तयारीमा रहेको उनले जानकारी दिए। हरेक काम सामूहिकतामा नै सम्भव हुने भएकाले समूहमा बसेर गर्दा जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने भावले काम गरिरहेको उहाँको भनाइ छ । यसका साथै ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रेको पहलमा संस्थालाई एनएमबी बैंक बनेपा शाखाले दश लाख विना धितो सहुलियत कर्जा दिने निर्णय भइसकेको छ । अहिले सो फार्ममा कुशादेवीका रघुनाथ तिमल्सिना परिवार र सिन्धुपाल्चोकका एक जना गरी तीनले काम गरिरहेका छन् । -रासस
वि.सं.२०७७ भदौ ८ सोमवार १३:४५ मा प्रकाशित





























