एकता मजबुतिको मुख्य आधार देश र जनताको सेवा नै हो । त्यसका लागि नेतृत्वमा रहँदै र देखिंदै आएको ब्यक्तिवाद बाधक बनेकै हो । अहिले प्राप्त सुनौलो अवसर फेरि यति सजिलै प्राप्त नहुने कुरालाई मनन गरी पार्टीले एकताका बाँकी काम, आन्तरिक शुद्धिकरण, जनसेवाका कार्ययोजनासहित महाधिवेशनको तयारी तर्फ जाने प्रष्ट मार्गचित्र बनाउनु पर्दछ ।
नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्दा अनेक टुटफुट, विभाजन र एकता हुँदै अनेक चरण पार गर्दै आएको देखिन्छ । २० औं शताब्दीमा सोभियत संघ र चीनमा कम्युनिष्ट क्रान्ति हुँदै १९९० को दशकमा आइपुग्दा विश्वका सबैजसो देशहरूमा पुँजीवादी लोकतान्त्रिक आन्दोलन चलिरहेका थिए । चीनमा कम्युनिष्ट क्रान्तिको लगभग बिजयका बेला नेपालमा वि.सं.२००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो ।
तत्कालीन निरङ्कुश तानाशाही अत्याचारी राणा शासनको अन्त्य गर्दै गणतन्त्रात्मक धर्मनिरपेक्ष समाबेसी सङ्घीय शासन व्यवस्था स्थापना गर्दै वर्गविहीन समाजको स्थापना गर्ने उद्देश्य लिएर स्थापित कम्युनिष्ट पार्टी २०१० तिरै विवादको घनचक्करमा फँस्न पुग्यो । कम्युनिष्ट पार्टीमा हुने दुई लाइनको संघर्ष ब्यबस्थित पार्ने काम शुरु देखीनै राम्रोसँग हुन सकेन । आन्तरिक दुई लाइनको सङ्घर्षबाट नै पार्टीका विचारहरू खारिंदै जाने हुनाले पार्टी भित्रको सघर्ष र विवाद स्वभाविक मान्ने गरिन्छ । वैचारिक सङ्घर्षबाट नै विचारको विकास र थप उपलब्धि हासिल हुने कुरा भौतिकवादले पनि पुष्टि गर्छ ।
२०१७ सालमा राजा महेन्द्रको ‘कु’ पछि पार्टीमा अनेक सैद्धान्तिक र राजनीतिक मतभेदहरूसहित पार्टीमा पुनः विभाजन आयो र अनेक समूह देखा परे । वर्गविहीन समाजको स्थापनाका लागि सङ्घर्षको यात्रा सोझो हुँदैन बरु अनेक उकाली ओराली घुम्ती र मोडहरू पार गर्दै अघि बढ्छ । नेपाली कम्युनिष्ट आन्दोलनको विकास पनि त्यसरी नै भएको हो । कम्युनिष्ट आन्दोलनको प्राप्ति र उपलब्धिका रूपमा हामीले बिश्लेषण गर्नुपर्ने कुरा धेरै छन् । नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा व्यवस्थित र सुविचारित धमाकाका रुपमा जनयुद्ध देखापयो । २०५२ बाट चलेको सशस्त्र सङ्घर्षमा सबै तह र तप्काका शोषित, उत्पीडित जाति, जनजाति, महिला, आदिबासी, मधेसीको ठूलो सहभागीता रह्यो । भाषिक, लैङ्गिक, क्षेत्रीय अधिकार र समानताका लागि देशका महान सपूतहरूले बलिदान गरे । मृत्यु वा मुक्तिको कसम खाएर रक्तरञ्जित युद्धमा होमिएका र त्यसको भट्टीबाट खारिएका योद्धाहरूले २५० वर्षको इतिहास भएको राजतन्त्रलाई ढालेर अन्ततः गणतन्त्र स्थापनाको बातावरण बनाइदिए । यत्रो राजनैतिक परिवर्तन ल्याउनु चानचुने कुरा थिएन् ।
यो सत्य हो की सहीनीति र कार्यदिशा बोकेको पार्टीले मात्र सबै समस्याको सामना गर्ने क्षमता राख्छ । जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डको नेतृत्वमा जनयुद्धको भट्टीमा खारिँदै इस्पात जस्तै बनेको माओवादी पार्टीकै मुख्य पहलमा सञ्चालित २०६२÷०६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै धर्मनिरपेक्षता, सङ्घीयता, समावेशिता, समानुपातिक लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । क. प्रचण्डकै पहलमा पुरानो अध्यायको अन्त्य भयो । राजनैतिक परीवर्तनपछि देशलाई विकासको चरणमा अघि बढाउन जनता र आम कार्यकर्ताको इच्छा र चाहनालाई मध्यनजर गर्दै नेकपा एकीकृत माक्र्सवादी लेनिनवादी र नेकपा माओवादी केन्द्र बिचमा २०७५ जेठ ३ गते ऐतिहासिक एकीकरण प्रक्रिया पुरा भयो ।
एकतापछि अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको रणनीतिक लक्ष्य वा दीर्घकालीन कार्यक्रम समाजवाद नै हो र तात्कालिक वा न्यूनतम कार्यक्रम समाजबाद उन्मुख जनताको जनवाद नै हो यसमा कोही पनि भ्रममा नपर्दा हुन्छ । जबज मान्दै आएको एमाले र २१ औं शताब्दीको जनवाद मान्दै आाएको माओवादीको एकतापछिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद नैे हो । आगामी महाधिवेशनमा जबज वा २१ औं शताब्दीको जनवादबारे छलफल भई निष्कर्षमा पुगिनेछ भनिएको प्रष्टै छ ।
पार्टी एकता भाँड्ने र आफ्नो व्यक्तिगत स्वार्थमा पार्टीलाई डो¥याउने प्रयासमा अराजक गतिविधि गर्ने, पार्टीका विधि विधान नमान्ने, संसारै मै हुँ, म नै राज्य हुँ । म बिना संसार चल्दैन भन्ने सोच केही नेतृत्वमा देखापर्दै जानु र गन्तव्य पहिचान गर्न नसक्नुले पाटीलाई बिभाजनको डिलमा पु¥याएको अनुभूति समेत भयो । सहीअर्थमा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नु र केही उच्छृङ्खल तथा अराजक प्रवृत्तिलाई नियन्त्रण गर्नु आवश्यक छ । नत्र सिङ्गो पार्टीलाई ठूलो क्षति हुने निश्चित छ । समाजवादको आधारशिला निर्माण गर्न पार्टी फुटेर हैन जुटेर मात्र सकिन्छ । अहिले नेताहरुलाई पदार्थबाट चेतना मिलेको छ ।
दुई तिहाइको सरकार आउँदा पनि राष्टियता, जनतन्त्र र जनजिविकाका समस्या हल भएका छैनन् । कोरोना महामारीमा फराकिलो संयन्त्र बनाउन अझै प्रभावकारी पहल भएको छैन । ६ सदस्यीय कार्यदलले ब्यक्त गर्न नसकेका समस्या र फुकाउन नसक्ने गाँठाहरु अरु धेरै छन् । एकता मजबुतिको मुख्य आधार देश र जनताको सेवा नै हो । त्यसका लागि नेतृत्वमा रहँदै र देखिंदै आएको ब्यक्तिवाद बाधक बनेकै हो । अहिले प्राप्त सुनौलो अवसर फेरि यति सजिलै प्राप्त नहुने कुरालाई मनन गरी पार्टीले एकताका बाँकी काम, आन्तरिक शुद्धिकरण, जनसेवाका कार्ययोजनासहित महाधिवेशनको तयारी तर्फ जाने प्रष्ट मार्गचित्र बनाउनु पर्दछ ।
(पौडेल, सत्तारुढ नेकपाको काठमाण्डौ जिल्लाकी नेतृ हुन् ।)
वि.सं.२०७७ भदौ ९ मंगलवार ०९:०० मा प्रकाशित






























