काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि बस्नेगरि कार्यसूची तयार भएको नेकपाले जनाएको छ । पार्टी विवादका कारण गत साउन १३ देखि बैठक स्थगित थियो ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि पार्टी विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाबका आधारमा पार्टी अध्यक्षद्वयले प्रस्ताव तयार गरेका थिए । गत बुधबार दुई अध्यक्षबीच बैठकमा पेस हुने एजेण्डामा सहमती बनेको थियो ।
दुई अध्यक्षले कार्यदलले दिएको सुझावलाई आधार बनाएर प्याकेजमा पार्टी विवाद समाधान गर्ने गरि प्रस्ताव तयार गरेका छन् । अध्यक्षद्वयले तयार गरेको १५ बुँदे प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजनदेखि एमसीसी अनुमोदनसम्मका एजेण्डा समेटिएका छन् ।
यस्ताे छ ओली र प्रचण्डले तयार गरेको प्रस्ताव
विवादकै कारण बैठक पटक–पटक स्थगित हुँदै आएको
गत असार १० देखि सुरु स्थायी समिति बैठक आन्तरिक कलहको कारण पटक–पटक स्थगित हुँदै आएको छ । स्थायी समिति बैठकका बीच प्रचण्ड तथा माधव कुमार नेपाल पक्षका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने तयारी गरेसँगै पार्टीभित्र विवाद चुलिएको थियो ।
विवादकै बीच गत साउन १३ मा बोलाइएको बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गराएसँगै विवाद चरमता तिर पुगेको थियो ।
पार्टी विवाद समाधान गर्न गत साउन ३० मा महसचिव विष्णु पौडेल नेतृत्वको कार्यदल गठन भएको थियो । ६ सदस्यीय कार्यदलले दिएको सुझाबका आधारमा अध्यक्षद्वले तयार गरेको प्रस्तावमाथि छलफल गर्न स्थायी समिति बोलाइएको हो ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार ०९:४७ मा प्रकाशित






























