यसको सबै जस पोखरालाइ जान्छ । त्यतिबेला साहित्य लेख्नु भनेको लागु औषध सेवन गर्नु जस्तै थियो । साहित्य लेख्नु भनेको समाजप्रति विद्रोह गर्नु थियो । समाजमा खुलेआम साहित्य लेख्न सक्ने स्थिती थिएन । जव पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना भयो तव विस्तारै साहित्य लेखनमा सहजता आयो । त्यसैले मेरो प्रेरणाको स्रोत भनेको पोखरा नै हो ।
नेपाली साहित्यको क्षेत्रमा एक मुर्धन्य नारी हस्ताक्षर हुन कवि उषा शेरचन । मुलत : पोखरेली साहित्यको उर्भर भूमिबाट उम्रिएकी शेरचन राष्ट्रिय मात्र नभइ अन्र्तराष्ट्रिय साहित्यको क्षेत्रमा पनि उत्तिकै परिचित छिन् । अँझ मुक्तक विधामा पुस्तक प्रकाशित गर्ने पहिलो महिला साहित्यकार पनि शेरचन नै हुन् । उनको ‘अक्षरहरुको शिविरहरुबाट’ मुक्तक सङ्ग्रह, नजन्मेको आस्थाहरु,सर्वकालीन विधा र जागृतिको संङ्खघोष कविता सङ्ग्रह अनि तेस्रो रंग कथा संङग्रह प्रकाशित भइसकेका छन् । नेपाली साहित्यको विविधि आयाममा केन्द्रित रहेर संसार न्युज डटकमका लागि संगीता पनेरुले शेरचनसँग गरेको कुराकानीको अंशः
अहिले केमा व्यस्त हुनुुहुन्छ ?
नारी यौनहिंसाको बारेमा एउटा उपन्यास लेख्दै थिएँ । केही समय अगाडी सकाएँ । यो समय हातमा केही समस्या देखियो । त्यसलाई पुर्नलेखन गर्न भने पाएको छैन । हात दुखेको भएर थेरापी गरेर बसिरहेको छु ।
भनेपछि अहिले साहित्य कर्ममा लाग्नु भएको छैन ?
छ किन नहुनु । मात्र उपन्यासको पुर्नलेखन नभएको हो । कविता, गीत र मुक्तक प्रायः लेखि नै रहेको हुन्छु ।
तपाईले साहित्यको प्रायः सबै विधामा कमल चलाउँदै आउनु भएको छ । तपाईंको मुख्य विधा चाँही कुन हो ?
मुलत: म कवि नै हुँ । जव पोखरेली युवा सांस्कृतिक परिवारले पोखरामा पहिलोचोटी सःशुल्क मुक्तक बाचनको कार्यक्रम राखेको थियो । त्यहाँ मैले पनि मुक्तक बाचन गरेकी थिएँ । त्यसपछि पोखरामा नियमित मुक्तकको कार्यक्रम हुन थाल्यो । कार्यक्रममा गएपछि सँधै एउटै मुक्तक सुनाइरहने कुरा पनि भएन । अनि विस्तारै धेरै मुक्तकहरु लेख्दै गएँ । त्यसपछि कथा र उपन्यास पनि लेखें ।
खासमा मुक्तक भनेको के हो ? कसरी सुरु भयो मुक्तक लेखन ?
मुक्तक भनेको श्रुति मधुर कला हो । आजको व्यस्त समयको लोकप्रीय विधा पनि हो । अरु भन्दा मुक्तक विधा आफैंमा पूर्ण विधा हो । चार लाइनमा सिंगो ब्रमाण्ड पनि अट्न सक्छ । हामीले यही चार लाइनमा सिंगो महाकाव्य अटाउन सकिन्छ । यो एउटा अचम्मको विधा हो । मुरारी पराजुलीले रुवाइ छन्दमा सुरु गरेको मुक्तक विधालाई भिम दशर्न रोका, मोहनहिमांशु थापा, चेतन कार्की, हरिभक्त कटवाल लगायतले प्रशिद्धि दिने काम गर्नुभयो । त्यस बीचमा केही समय मुक्तक विधा सुस्तायो । तर ३४÷३५ सालमा यसको पुर्नजागरण भएको हो ।
मुक्तक र कवितामा के फरक छ ?
धेरै फरक छ । कविता भनेको जंगली फूल हो । जंगलमा जस्तोसुकै फूल पनि स्वतन्त्र रुपमा फूल्छ । त्यहाँ फूल मात्रै नभएर काँडा पनि हुन्छ ।जसरी हामीले कवितामा सबै कुरा समेट्न सक्छौ धेरै शब्दमा । तर मुक्तकमा त्यस्तो हुँदैन । जम्मा चार लाइनमा हामीले सबै कुरा समेट्नु पर्ने हुन्छ । कविता लेखे जस्तो सजिलो छैन मुक्तक लेख्न । कवितालाई निचोरेपछि बल्ल मुक्तक निस्कन्छ ।
यो समयमा लेखिने मुक्तक कस्तो हुनुुपर्छ ?
मन मस्तिष्कलाई छुने हुनुपर्छ । जीवन र जगतलाई समेटेको हुनुपर्छ । कसैले सुनाएको मुक्तकले स्रोताको मुटुमा जवसम्म झ्वास्स छुँदैन तव सम्म मुक्तक मुक्तक बन्न सक्दैन । आम मान्छे र समाजका कुरालाई सुन्दर भावनाले छुनुपर्छ ।
तपाईंलाई साहित्य क्षेत्रमा लाग्ने प्रेरणा कसले दियो ?
यसको सबै जस पोखरालाइ जान्छ । त्यतिबेला साहित्य लेख्नु भनेको लागु औषध सेवन गर्नु जस्तै थियो । साहित्य लेख्नु भनेको समाजप्रति विद्रोह गर्नु थियो । समाजमा खुलेआम साहित्य लेख्न सक्ने स्थिती थिएन । जव पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना भयो तव विस्तारै साहित्य लेखनमा सहजता आयो । त्यसैले मेरो प्रेरणाको स्रोत भनेको पोखरा नै हो ।
एउटा साहित्यकारको आँखामा अहिले देशको परिस्थिती कस्तो देख्नु हुन्छ ?
देशमा जब लोकतन्त्र आयो । लोकतन्त्रले अधिकार खोज्न त सिकायो तर कर्तव्य पालना गर्न सिकाए । अहिले हेर्ने हो भने नेताहरु देश र जनतामुखी भन्दा पनि आफ्नो निहित स्वार्थ पूर्ति गर्न दौडिरहेका छन् । त्यत्ति मात्र होइन नेताहरु सेतोलाई कालो र कालोलाई सेतो बनाउन निर्देशन दिइरहेका छन् र कार्यकर्ताहरु त्यसमै श्यालहुइयाँ कराइरहेका छन् । मलाई के लाग्छ भने यदि देशमा परिवर्तन चाहने हो भने कुलमान घिसिङ जस्ता एमडी जन्माउनु पर्छ । जनार्दन शर्मा जस्तालाई मन्त्री बनाउनु पर्छ । यहाँ क्लासँमा पढ्न जान्ने व्यक्तिहरु डाक्टर, इन्जिनियर र पाइलट बन्छन् । तर जो बारम्बार फेल भइरहन्छ । उ नेता बन्छ । यिनै वढाइमा असफल नेताहरुले देश चलाइरहेका छन् । त्यसको परिणाम देश दुर्घटनातिर गइरहेको छ । यस्ता फेल नेताहरुले चलाएको देश दुर्घटना नभए के हुन्छ ? लोकतन्त्र पछि को–को प्रधानमन्त्री भए, को–को मन्त्री भए, को–को मुख्य सचिव र सचिव भए, कानुनको नीति निर्माता को –को बने हामीलाई थाहा छैन र ? आफू सत्तामा हुँदा सबै काम ठीक सत्ताबाहिर हुँदा गलत भन्ने जुन प्रवृत्ति दलहरुमा मौलाएको छ यसले देशलाई उभोँ होइन उँधो लगिरहेको छ । अँझ अर्काे कुरा शिक्षा र साहित्यमा समेत राजनीतिक नियुक्त हुन थालेपछि देशको हालत के होला ? सुत्रात्मक र गणीतीय हिसावले यो जसले पनि सहजै अनुमान गर्ने कुरा हो । मैले कसैमाथि आग्रह र कसैमाथि पूर्वाग्रह भएर यो कुरा भनेको होइन ।
एउटा वरिष्ठ साहित्यकार नव प्रतिभाहरुलाई के सुझाव दिनुहुन्छ ?
सर्वप्रथम त म के भन्छु भने जस जसले जुन–जुन विधामा कमल चलाउनुहुन्छ उहाँहरुले सकेसम्म अध्ययन र साधना गर्न जरुरी छ । अनि अर्काे कुरा अहिले जुन खालको घिनलाग्दो र अस्वस्थ प्रतिस्पर्धा छ त्यसमा नलाग्न पनि अनुरोध गर्दछु । यदि तपाईँ नोबेल पुरस्कार जित्छु भनेर लाग्नु भयो भने पक्कै सफल हुनुहुनेछ । भलै नोवेल पुरस्कार नपाउनुहोला त्यो आफ्नो ठाउँमा छ । तर तपाईं एक उत्कृष्ट साहित्यकारको रुपमा भने पक्कै परिचित हुनुहुनेछ । सबैभन्दा मुख्य कुरा त इमान्दार र साधनारत हुन जरुरी छ ।
वि.सं.२०७३ पुस २० बुधवार ०५:०२ मा प्रकाशित