काठमाडौं । विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले सर्वाजनिक खरिद अनुगमन ऐनमा दफा ५३ को उपदफा १ बमोजिम कालोसूचीमा राखेको हो। कालोसूचीमा परेको ओम्नी समूहले सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउनेछैन ।
स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ओम्नीसँग मेडिकल उपकरण खरिदको सम्झौता चैत १२ मा गरेको थियो। तर, ओम्नीले मेडिकल उपकरण तथा सामाग्री खरिदको टेन्डर हात पारेपनि समयमा मेडिकल सामाग्री उपलब्ध गराउन सकेकाे थिएन ।
बिना प्रतिस्पर्धा सेटिङ्गमा गरिएको उक्त सम्झौताप्रति सरकारको चौतर्फी आलोचना भएको थियो ।

वि.सं.२०७७ भदौ २९ सोमवार १२:०० मा प्रकाशित






























