back
CTIZAN AD

नमूना विद्यालयका रुपमा विकास हुँदैै बुद्धआदर्श मावि

वि.सं.२०७७ असोज २ शुक्रवार

888 

shares

आफूले इच्छाइएको विषय अध्ययन गर्न चाहने अधिकांश विद्यार्थीहरु घर छाडेर टाढा जानुपर्ने वाध्यता छ ।

इच्छाइएको विषय अध्ययन गर्न नपाउँदा रुची नै नभएका विषय अध्ययन गर्नुको पीडा धेरै विद्यार्थीले बेहोर्नु परिरहेको छ । जसले कुनै खास विषयमा विज्ञता हासिल गर्न सक्ने दक्ष जनशक्ति अन्त्यै हराउनु परिरहेको छ । विद्यार्थीले इच्छाइएको विषय अध्ययन गर्न पायक पर्ने ठाउँमा सर्वसुलभ मुल्यमा नपाएपछि सर्टिफिकेटकै लागि सम्झौता गरेर अन्य विषय पढ्नुपर्ने यथार्थ नेपाली समाजमा विद्यमान छ । जसले शैक्षिक बेरोजगारको दर पनि बढाउन मद्दत गरेको छ ।

तर कुनै कुनै ठाउँका विद्यार्थीले भने सर्वसुलभ ढंगबाट आपूmले इच्छाइएको विषय स्थानीय क्षेत्रमा नै पाउन थालेका छन् भने पाउने अवस्थामा छन् । विद्यार्थीमा यस्ता खाले समस्या आएपछि राज्यले नयाँ नीति अवलम्बन गरेको छ । जसबाट केही हदसम्म विद्यार्थीले इच्छा लागेको विषय स्थानीय क्षेत्रमा सहज ढंगबाट पाउने संकेत मिल्न थालेको छ ।

झापाको बुद्धशान्ति र आसपासका विद्यार्थीले यस समस्याबाट केही हदसम्म छुटकारा पाउँदैछन् । सरकारले नमूना विद्यालय विकासका लागि बुद्धशान्ति–१ को बुद्धआदर्श माविलाई छनौट गरी बजेट सहित काम थालेकाले यस क्षेत्रका विद्यार्थीका निम्ति भने ठूलो राहत मिल्ने देखिएको छ ।

नमूना विद्यालय विकासका लागि छनौट भएको बुद्धआदर्श मावि विद्यार्थीका लागि रोजाईको विद्यालय बन्दै गएको छ । झापा जिल्लामा पटकपटक उच्चतम शैक्षिक उपलब्धी हासिल गरेको र नेपालमै पहिलोपटक अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षासहितको पाइलट प्रोजेक्ट कार्यान्वयनका क्रममा केन्द्र नं. १ विद्यालयको रुपमा परिचित यस विद्यालयमा यसै क्षैक्षिक सत्रदेखि विज्ञान विषय शिक्षणको सुरुवात हुने र त्यसको तयारी व्यापक रुपमा भईरहेको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले जानकारी दिएका छन् ।
२०६४ सालदेखि सञ्चालित कक्षा ११, १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पूर्वाञ्चलमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा अब विज्ञान विषय पनि अध्यापन हुन लागेको हो ।

नेपाल सरकारबाट नमूना विद्यालयका रुपमा विकास गर्न छनौट भइसकेको यस विद्यालय परिसरमा शैक्षिक, व्यवस्थापकीय र भौतिक तयारीका लागि अघिल्लो आर्थिक वर्ष १ करोड ५० लाख र चालू आर्थिक वर्ष १ करोड ५० लाखगरी ३ करोडको लागतमा ९ कोठे प्रयोगशाला, १२ कोठे शिक्षण भवन निर्माणका लागि विद्युतीय बोलपत्र आव्हान भइसकेको प्रधानाध्यापक भण्डारीले बताए ।
‘विद्यार्थीलाई स्तरीय र गुणस्तरीय शिक्षा प्रदान गर्न हामी लागि परेका छौं–प्रधानाध्यापक भण्डारी भन्छन् ‘विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, स्मार्ट बोर्ड सहितका आवश्यक सामग्री व्यवस्थापन भईरहेको छ ।’

बुद्धआदर्श माविमा बाल विकास देखि कक्षा १२ सम्म जम्मा १६ सय ३७ जना विद्यार्थी रहेका छन् भने शिक्षक कर्मचारीको संख्या ४१ रहेको छ ।

मनोरथ तिवारी अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति र हेम अधिकारी अध्यक्ष रहेको शिक्षक अभिभावक संघ विद्यार्थीलाई गुणस्तरीय शिक्षा र सुविधा सम्पन्न संरचना निर्माण गर्न लागी परेका छन् । बुद्धशान्तिको केन्द्र भागमा रहेको यस विद्यालयमा व्यवस्थित पुस्तकालय र विज्ञान प्रयोगशालाले विद्यालयको शैक्षिक क्रियाकलापमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।

विद्यालयमा ऐतिहासिक तथा सांस्कृतिक संग्राहलय, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृतिको व्यवस्था, आन्तरिक परीक्षा, पृष्ठपोषण, दक्ष तथा अनुभवी शिक्षकद्वारा पठन पाठन तथा विशेषज्ञद्वारा व्यवहारिक कक्षा शिक्षणले विद्यार्थीलाई शिक्षण सिकाईमा ठूलो भूमिका निर्वाह गर्ने गरेको छ । प्रविधिमा आधारित शिक्षण गर्नको लागि स्मार्ट बोर्ड र कम्प्युटर कक्षाले पनि महत्वपूर्ण भूमिका खेलिरहेको प्रअ भण्डारीले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले विद्यालयलाई नमूना विद्यालय बनाउन हरेक क्षेत्रमा काम भईरहेको बताएका छन् । राज्यको नीति अनुरुप ५ वर्ष भित्र नमूना विद्यालय बनाउन सम्पूर्ण कुराहरु सम्पन्न गरिने बताए ।
त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष हेमप्रसाद अधिकारीले पनि नमूना विद्यालयका रुपमा विकास गर्न सम्पूर्ण हिसावले कामहरु अघि बढिरहेको बताएका छन् ।

वि.सं.२०७७ असोज २ शुक्रवार १९:५९ मा प्रकाशित