८ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठकमा संवैधानिक परिषद्को विषय प्रवेश गराएकोमा आपत्ति जनाएको छ ।
काँग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको आरोप लगाउँदै नेकपा सचिवालय संवैधानिक परिषद् नभएको उल्लेख गरिएको छ ।
गत मंगलबारको नेकपाको सचिवालय बैठकमा संवैधानिक निकायका नियुक्तिको विषय प्रवेश गराएर संवैधानिक नियुक्ति छिटो गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेपछि काँग्रेसले यस्तो विज्ञप्ति निकालेको हो ।
‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न” प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद् संकेत होइन, काँग्रेसले विज्ञप्तिमा भनेको छ ।
संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गर्दै सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र यस बीचमा गरेको भन्दै ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको’ बताएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार २१:४१ मा प्रकाशित





























