काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर छलफलमा छन् ।
यसअघि भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन बारे प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावअनुसार नै नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको हो ।
यसअघि गत आइतबार बसेको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत निर्णय गरेको थियो । मंगलबार बसेको सचिवालय बैठकमा पनि पुनर्गठनबारे छलफल भएको थियो ।
सचिवालय बैठकको निष्कर्षअनुसार नै दुई अध्यक्ष छलफलमा जुटेका हुन् । सचिवालय बैठकले पुनर्गठनका लागि विभिन्न तीनवटा मोडेललाई अघि सारेको थियो । जसमा प्रधानमन्त्रीबाहेक सबैलाई बिदाई गर्ने, दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र तेस्रो बिकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनको आधारमा हेरफेर गर्ने ।
बताइएअनुसार तीनवटा मोडेलमध्ये प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली कार्यसम्पादन मूल्यांकनको आधारमा हेरफेर गर्नुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड पुराना सबैलाई बिदा गरेर नयाँ सेट ल्याउनुपर्ने पक्षमा छन् । जनाइएअनुसार दुई अध्यक्षबीचको छलफल कसलाई राख्ने वा नराख्ने भन्नेमै केन्द्रित छ ।
नयाँ मन्त्री बन्ने चर्चामा यी नेता
मन्त्रिपरिषद पुनर्गठन गर्दा केहि नयाँ अनुहारहरु आउनसक्ने सम्भावना रहेको बताईन्छ । नेकपाभित्र पार्टीको विवाद समाधान कार्यदलमा रहेका सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा,र पम्फा भुसाल नयाँ मन्त्रिमण्डलमा समेटिन सक्ने चर्चा छ । साथै देवेन्द्र पौडेल, खगराज अधिकारी, हितबहादुर तामाङ, हरी अधिकारी, यज्ञराज सुनुवार, विशाल भट्टराइको नाम पनि चर्चामा छ ।
राज्यमन्त्रीमा पदम गीरीको लगभग निश्चित रहेको नेकपा स्रोतले बताएका छ । यद्धपी यसबारेको मोडालिटी प्रष्ट हुन बाकी छ ।
यसबीच हालै राष्ट्रिय सभा सदस्य बनेका वामदेव गौतम पनि मन्त्रि हुने चर्चा नेकपाभित्र छ । गौतम आफैंले पनि राष्ट्रिय सभा सदस्य हुँदै मन्त्रीको जिम्मेवारी लिने कुरा बाहिर बताएका थिए । साथै पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पनि मन्त्री बन्न इच्छा व्यक्त गरेका छन् ।
नेकपाभित्र उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा बामदेव गौतम र उपसहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रीको जिम्मेवारीमा सुरेन्द्र पाण्डे, उद्योग तथा आपुर्तिमा देवेन्द्र पौडेल, उर्जामा जनार्दन शर्मा र महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीमा पम्फा भुसाल आउनसक्ने सम्भावनाबारे चर्चा बढेको छ ।
वि.सं.२०७७ असोज १० शनिवार १७:४८ मा प्रकाशित






























