काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको शैलीप्रति विरोध जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ नेताले पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराएका छन् । सोमबार दिउँसो २ बजे नेताहरुले कार्यालय पुगेर विरोध पत्र दर्ता गराएका हुन् ।
विरोध पत्रमा वरिष्ठ नेता रामचन्द्र पौडल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका २७ जनाको हस्ताक्षर छ । ९ पृष्ठ लामो विरोधपत्रमा देउवाको कार्यशैलीबाट पार्टीको भविष्य धरापमा परेको बताइएको छ ।
‘लोकतन्त्रका लागि करिब ८ दशक लामो संघर्ष गरेर आएको एतिहासिक जिम्मेवारी बोकेको लोकतान्त्रिक पार्टीमा पार्टीको परम्परा र अनुभवबाट खारिनुपर्नेमा नेतृत्व अनियन्त्रित हुँदै जानुले सिंगो पार्टीको भविष्य र भाग्य धरापमा पर्न जाने प्रबल सम्भावना हामी देखिरहेका छौं’, पत्रमा भनिएको छ।
पत्रमार्फत महाधिवेशनको मुखैमा पार्टीको विभाग तथा अन्य संरचनाहरुमा भएका नियुक्ती तत्काल रोकिनुपर्ने माग गरिएको छ । पत्रमा भनिएको छ , ‘महाधिवेशनको मिति तोकिसकेपछि पार्टीको विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो। तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनुपर्दछ।’
यस्ताे छ विराेधपत्रमा
वि.सं.२०७७ असोज १२ सोमवार १५:२३ मा प्रकाशित



























