देशमा अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु इतिहासमै सर्वाधिक जटिल र गम्भीर हुनाले देश कहिले नपरेको संकट–महासङ्कटमा परेको छ । यो महासङ्कटले जनतामा परम असन्तुष्टी र आक्रोशलाई बढाउँदै लगेर चरम चुलीमा पुर्याएको छ । फलस्वरूप एउटा विस्फोट-महाविस्फोट हुने अत्यधिक सम्भावना छ । यो सम्भावना नै विद्रोह-महाविद्रोहको लागि स्वर्णिम र सुन्दरतम अवस्था हो । र, यो अवस्था भनेको क्रान्ति–महाक्रान्तिको लागि सर्वाधिक परिपक्व वस्तुगत स्थिती हो ।
यो परिपक्व वस्तुगत स्थितिमा सचेत, संगठित, सुनियोजित र सशक्त निर्णायक धक्का दिनको लागि आत्मगत स्थिती समेत सर्वाधिक सुदृढ र सबल बनाउनु अत्यावश्यक छ । यस्तो आत्मगत स्थिती तयार गर्न आफूलाई देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी र कम्युनिष्ट बताउने सम्पूर्ण संघ–संस्था र शक्ति–व्यक्तीहरु नै सर्वप्रथम गम्भिर र जिम्मेवार बनेर तत्काल आ–आफ्ना सीमित, संकुचित र संकीर्ण सोंच, शैली, संस्कार, सीमा र स्वार्थबाट माथी उठ्न जरुरी छ ।
तत्पश्चात् राष्ट्रविरोधी, लोकतन्त्रविरोधी, जनजीविकाविरोधी, क्रान्तिविरोधी, गरीब-दुखीजनविरोधी र मानवविरोधी वर्तमान भ्रष्ट र दुष्ट सत्ताका विरुद्धमा अहिलेनै विभिन्न मोर्चाहरुको एउटा मोर्चा अर्थात संघीयमोर्चा वा महामोर्चा बनाइहाल्नु पर्दछ । र, यही संघीयमोर्चा–महामोर्चा मार्फत विद्रोह-महाविद्रोहको विगुल फुकेर एउटा अर्को तर अन्तिम आन्दोलन–महाआन्दोलनद्वारा एउटा अर्को क्रान्ती–महाक्रान्ती अर्थात् एक सच्चा क्रान्ती सम्पन्न र संस्थागत गरि राष्ट्र र जनजीवनलाई प्रत्यक्ष, जीवन्त र व्यावहारिक अनुभूति हुनेगरी सत्तालाई संचालन गर्नु एक अनिवार्य र अपरिहार्य ऐतिहासिक आवश्यकता भएको छ । आगे मन्च, मोर्चा, संघसंस्था र दल–पार्टी एवं तिनका शीर्षहरुको मर्जी !
लेखक शर्मा, नेकपाका केन्द्रीय सदस्य हुन्
वि.सं.२०७७ असोज १९ सोमवार १२:०२ मा प्रकाशित






























