प्रचण्डले रुपलाललाई पैसा कति दिनुभयो ? त्यो त थाहा भएन तर पैसा दिनुभयो ।
जनयुद्धको तयारी तीब्र हुँदै गयो । यो बेला प्रचण्ड धेरै खट्नुभएको थियो । संगठन हतियार आदिको व्यवस्थापनमा उहाँको मिहिनेत सामान्य थिएन । जहाँ जे पाइन्छ, त्यसलाई उहाँले नछोड्नुभएकै हो । उहाँले सशस्त्र अभियानको नेतृत्व पनि गर्नुभएकै हो । अहिले आएर हेर्दा मलाई के लाग्दछ भने यदि त्यो बेलामा प्रचण्ड हुनुहुन्थेन भने जनयुद्ध पनि सुरु हुन सक्तैनथ्यो । जब पार्टी खुल्ला राख्ने की भूमिगत राख्ने भन्ने बहस आयो, पार्टीलाई खुल्ला राख्नु पर्छ भन्नेमा लामाजीहरु र भूमिगत राख्नुपर्छ भन्नेमा प्रचण्डसहित हामीहरु भयोैँ । त्यो बहसमा रुपलालजी बीचमा हुनुहुन्थ्यो । रुपलाल ‘बन्धु’लाई लामाजीहरुले थोरै आश्वस्त बनाइसक्नुभएको रहेछ । एक मतको तलमाथि पर्नेबित्तिकै लामाजीहरुले खुल्ला पार्टी बनाइहाल्ने स्थिति आयो । जुगेडी कारवाहीको नेतृत्व गर्ने कमरेड बन्धु जो सशस्त्र संघर्षप्रति विश्वास गर्नुहन्छ भन्ने प्रचण्डलाई विश्वास थियो तर त्यो होइन रहेछ । रुपलाल हामीतिर आउँदा पार्टी भूमिगत भइहाल्ने स्थिति बन्थ्यो । तर उहाँ क्रान्तिकारी पार्टी बनाउनुभन्दा आफ्नो व्यैक्तिक स्वार्थमा लालायित हुनुभएको कुरा कमरेड प्रचण्डलाई थाहै भएन । पार्टी खुल्ला गर्ने कि भूमिगत गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँ स्वयम् उपचारको बहानामा बैठक छाडेर जान लागेको कुराको सुइँको मैले कतैबाट पाएँ ।
त्यत्तिखेर मैले प्रचण्डलाई भनेँ, ‘लौ है विश्वासजी, बन्धुजी बिदा हुन लाग्नुभयो । भोलि त अल्पमतमा परिन्छ । विद्रोह गर्नुको कुनै विकल्प छैन ।’ उहाँले भन्नुभयो, ‘हो र !’ त्यसपछि उहाँले बन्धुजीलाई तुरुन्तै बोलाएर भनिहाल्नुभयो, ‘दाजु मलाई सदस्यता दिनुभएको तपाईले नै हो ।’ त्यसपछि रुपलाललाई प्रचण्ड महान भन्ने परिहाल्यो । त्यसपछि समस्या हल भइहाल्यो । त्यतिखेर प्रचण्डले रुपलाललाई भन्नुभयो थियो कि उपचार गर्न पैसाको के कुरा, उनले दसहजार दिए, म बीसहजार दिन्छु । प्रचण्डले रुपलाललाई पैसा कति दिनुभयो ? त्यो त थाहा भएन तर पैसा दिनुभयो । भोलिपल्ट प्रचण्ड भन्नुहुन्छ, ‘लौ हेर्नुहोस्, असारेजी । आज हेर्नुहोस् है ।” झोला बोलर रुपलालजी बैठकमा जब आइपुग्नुभयो, त्यसपछि लामाजीहरु ख¥याङ्खुङरुङ पर्नुभयो । प्रचण्डले भ्याइसक्नुभएछ भन्ने कुरा निर्मला लामालाई थाहा भयो । त्यसपछि रुपलालजीले बैठकमा भन्नुभएको थियो, ‘बाहिर जवस मोर्चा भइहाल्छन् । पार्टीलाई भूमिगत नै राख्दा उपयुक्र्त हुन्छ ।” त्यसरी पार्टी भूमिगत भयो । त्यतिखेर प्रचण्डले मलाई भन्नुभएको थियो, “हेर्नुहोस् असारेजी, संसारमा मानिसलाई किनबेच पनि गर्नुपर्छ । अन्तिम बेलामा बुर्जुवाहरुले पनि त्यहि गर्छन् । हामी पनि आवश्यकताअनुसार गर्नुपर्छ ।” त्यतिखेर प्रचण्डले पन साम, दाम, दण्ड, भेद सबै गर्न भ्याउनुभयो । त्यसपछि पार्टी भूमिगत हुने भएपछि लामाजी र हाम्रोबीचमा बिस्तारै दरार पैदा हुँदै गयो । अन्ततः पार्टीमा विभाजन भयो ।
(प्रस्ततु अंश ईश्वरीप्रसाद दाहाल ‘असारे’ को संघर्षका पाइला पुस्तकबाट लिइएको हो । )
वि.सं.२०७७ असोज १९ सोमवार १२:२० मा प्रकाशित






























