काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने पक्षमा मतदान गर्न सत्तारुढ नेकपाले ह्वीप जारी गरेको छ । सोमबार बुटवलमा बसेको नेकपा प्रदेश सभाको संसदीय दलको बैठकले भालुवाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिएअनुुसार आजको संसदीय दलले राप्ती उपत्यकालाई प्रशासनीक राजधानी बनाउने प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ । उनका अनुसार बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरि प्रस्ताव आएको छ ।
नेकपाको ह्वीपसँगै दाङ राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित हुने सम्भावना छ । ह्वीप उल्लंघन नभए दुई तिहाई बहुमतबाट राजधानी प्रस्ताव पारित हुनेछ ।
हाल प्रदेश ५ मा कुल ८७ सांसदमध्ये नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाई मत पुग्न ५८ भए पुग्छ ।
नेकपा प्रदेश ५ का प्रमुख सचेतक ढकालका अनुसार आजबाट प्रदेश ५ मा नाम राजधानीबारे छलफल भई भोलि मुख्यमन्त्री शंकर पोखरेलले निर्णायर्थ प्रस्ताव गर्ने तयारी छ । प्रस्तावबारे भोलि नै निर्णय हुनेछ ।
वि.सं.२०७७ असोज १९ सोमवार १३:३२ मा प्रकाशित






























