म सुप्रिति घिमिरे, पेनउड एकेडेमी कक्षा ३ को छात्रा हुँ ।
कोरोना भाइरस आयो भनेर २०७६ साल चैत्र महिना देखि शुरु भएको लकडाउनका कारण हामी बच्चाबच्चीहरु सात महिना देखि घरमा थुनिएर बस्नु परेको छ । सँधै सँधै व्यस्त भइरहने मेरो बाबा मामुले पनि घरमा नै समय बिताउनु परेको छ । भर्खर भर्खर स्कुल जान थालेको भाइपनि घरमै छ ।
मेरो मम्मीको ठमेलमा स्पा र पार्लर चलाउनु हुन्छ । तीन महिनाको लामो समयपछि लकडाउन खुलेपनि मेरो ममीको दुवै व्यवसायलाई सरकारले खोल्न दिएको छैन । खोल्नको लागि सहयोग गर्नुको सट्टा उल्टै पार्लरमै बस्ने दिदीहरुलाई पुलिसले दुःख दिने र त्यहाँ नै बस्न नदिएर दुःख दिएको छ । घरको भाडा, बैंकको ब्याज आदिले बाबा ममिलाई सताएको देख्छु । व्यवसाय बन्द हुँदा पनि सरकारलाई कर तिर्न छ भन्नुभएको सुन्छु । काम गरी खाने वातावरण बनाइदिनुको सट्टा जनतालाई कर चाहि तिर भन्ने यो कस्तो गणतन्त्र हो प्रधानमन्त्रीज्यू ?

सबैजना परिवार एकैसाथ बस्न पाउँदा खुशी पनि छु र रमाइलो पनि लागेको छ । तर बाबा मम्मीको काम गरेर खाने व्यवसाय बन्द घरमा चामल, दाल, तरकारी, दूध किन्न पनि गाह्रो भएको छ । घरभाडा कसरी तिर्ने भनेर दुई जना रिसाएर कुरा गरेको सुन्छु, मलाई नरमाइलो लाग्छ । त्यसैले आफूलाई मन परे पनि महँगो खानेकुरा किनाउन सक्दिन ।
स्कुलले फिस तिर भनेर पठाउँछ, अनलाइन कक्षा लिन नेट जोड्नु पर्यो, पैसै चाहिन्छ, कमाइ नै नभएपछि कसरी तिर्ने ? तर पनि बाबा मम्मीले अहिलेसम्म मिलाउनु भएकै छ ।
कोरोनाबाट बच्नु पर्दछ थाहा छ, तर कोरोनाबाट भन्दा खान नपाएर मरिने पो हो की भन्ने चिन्ता लाग्न थालेको छ । मैले सुनेको, प्रधानमन्त्री भनेको त सबै जनताको अभिभावक हो, तपाईंले कोही पनि जनताले भोकले मर्नुपर्दैन भनेर भन्नु भएको पनि सुनेको छु । तपाई बोल्ने मात्र होइन, जनताको समस्या बुझ्ने पनि हुनुहुन्छ भन्ने मैले ठानेको छु । कोरोनाबाट सुरक्षित रहने उपाय गरेर व्यवसाय खोल्ने वातावरण बनाइदिनु हुन प्रधानमन्त्रीज्यूसँग आग्रह गर्दछु ।
थाहा छ, अहिले संसारभर कोरोनाले दुःख दिएको छ । हामी सतर्क रहनु पर्दछ । तर तपाई हामी सबै नेपालीको अभिभावक भएका कारण हाम्रो जस्तो व्यवसाय बन्द भएर बस्नु भएकाहरुलाई कि त व्यवसाय खोल्ने अवस्था बनाइदिनु पर्यो, नत्र कसरी हुन्छ सहयोग गर्न तपाईसँग आग्रह गर्न चाहन्छु ।
प्रधानमन्त्रीज्यू जनताको दुःख बुझेर राम्रो काम गर्नुभयो भने इतिहासमा तपाई सँधै राम्रो मान्छे हुनुहुन्छ, जनताले तपाईलाई सँधै सम्झनेछन् । होइन भने जनताले तपाईलाई गालि गर्नेछन्, के तपाईलाई गालि खान मन पर्छ र ?
दशैँ आउँदै छ, तपाईको सुस्वास्थ्यको कामना गर्दछु, प्रधानमन्त्रीज्यू ।

वि.सं.२०७७ असोज २१ बुधवार ११:४७ मा प्रकाशित






























