२१ असोज, बागलुङ । लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गरेका छन । बागलुङ नगरपालिका–४ गौरीधामका दुई दाजुभाइ पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर भएको हो ।
दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरी रहेका छन । उनीहरुले ११ वटा टनेलमा टमाटर लगाएका छन । उनीहरुको तरकारी बारीमा अहिले टमाटरसँगै घिरौला र सिमीसमेत फलिरहेको छ ।
पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाई सकेर नेपाल फर्किएका टेकबहादुर र मलेसियामा ११ वर्ष रोजगारी गरेका भविलालले वार्षिक रु एक लाख भाडा तिर्ने गरी लिएको जग्गामा व्यावसायिक तरकारीखेती सँगै कुखुरा र हाँससमेत पालेका छन् ।
“विदेशमा लामो समय बिताइयो, लगानीका लागि रकम जुटायौँ, बस्ने बाँस बनायौँ”, टेकबहादुरले भने, “भाई भविलालले चार वर्षदेखि खेती गर्दै आएको थियो, त्यही देखेर मैले पनि सिके अहिले मिलेर सामूहिकरुपमा काम गर्दै आएका छौँ ।” बोइलर कुखुरा, टर्नेलमा टमाटर, लोकल कुखुरा, हाँससहित अन्य तरकारी बेचेर उनीहरुले मासिक रु एक लाख आम्दानी गर्दै आएको बताए।
हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्थापन गर्न रु १० लाख लगानी गरेका दुई भाइले हालै ‘युके कृषि तथा पशुपालन फार्म’ दर्ता गरेका छन् । थोपा सिँचाइ र मल्चिङ अपनाउँदै आएका दाजुभाइ शुरुवाती चरणमा नै व्यावसायिक तरकारीखेती सफल हुँदै गएपछि उत्साहित भएका छन् ।
टमाटर एक वर्षमा दुईपटक र अन्य तरकारी खेती मौसमअनुसार लगाउँदै आएका उनीहरुले काउली, ब्रोकाउली जस्ता बेमौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् ।
उनीहरुले आफ्नो पुख्यौली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा वार्षिक रु पाँच लाख बराबरको आलु उत्पादन गर्दै आएका छन् । आलुखेतीका लागि पकेट क्षेत्र रहेको धम्जा पुगेर दाजुभाइले मौसमअनुसारको आलुखेती गर्दै आएको छ ।
विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै देशको माटोमा पोख्न पाउँदा उनीहरु खुशी देखिन्छन् । वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा लागेको युवाका लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाइ छ । रासस
वि.सं.२०७७ असोज २१ बुधवार १६:२८ मा प्रकाशित






























